‘काँधमा ओलीको जुवा हालेर हिंड्न सकिएन, त्यसैले नयाँ दल दर्ता गर्दैछौं’-Sutra News

‘काँधमा ओलीको जुवा हालेर हिंड्न सकिएन, त्यसैले नयाँ दल दर्ता गर्दैछौं’

बुधबार, २ भाद्र २०७८

बुधबार, २ भाद्र २०७८

नयाँ दल दर्ता गर्ने तयारीमा रहेको नेकपा एमालेका माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले काँधमा केपी ओलीको जुवा हालेर हिंड्न नसकिएका कारण नयाँ दल दर्ता गर्नुपरेको बताएका छन् ।



बानेश्वरस्थित अर्याल होटेलमा भएको छलफलपछि सञ्चारकर्मीहरूसँग खतिवडाले नयाँ दल दर्ताको तयारी अन्तिम चरणमा पुगेको बताए ।

‘काँधमा केपी ओलीको जुवा हालेर हिंड्ने परिस्थितिमा अन्य नेताहरूलाई नबस्न भनिरहेका छौं,’ खतिवडाले भने, ‘आज नयाँ दलमा नआउनेहरू भोलि आउँछन् । आज हिम्मत गरेनन् भनेर चिन्ता गरिरहनु परेन ।’

तर नेपाल समूहका केही स्थायी कमिटी सदस्यहरूले भने नयाँ दल दर्ता प्रक्रियामा भाग लिएका छैनन् । योगेश भट्टराई, गोकर्ण बिष्ट र भीम रावल अनुपस्थित छन् ।

उनीहरूले नयाँ दलमा आफूहरू सामेल नहुने बताइसकेका छन् । खतिवडाले भने, ‘निर्वाचन आयोग पुग्नेबेला सम्म नदेखिने साथीहरू छोडिएको मान्नुपर्छ । उहाँहरू आज नआए भोलि आउनुहुनेछ ।’

उनले नयाँ गठन हुने दलको माओवादी केन्द्रसँग एकता गर्ने कुनै गुन्जायस नरहेको प्रष्ट पारे ।

खतिवडाले भने – ‘नेकपा एमालेलाई पुनःगठन गरेपछि सबै एमालेलाई समेट्ने प्रयास गर्नेछौं । माओवादी केन्द्रसँग एकताको कुनै गुन्जायस अहिले छैन ।’

उनका अनुसार नयाँ दलको नाम नेकपा एमाले समाजवादी हुनेछ भने चुनाव चिह्न खुला किताब हुनेछ । 

उनले दल विभाजनसम्बन्धी अध्यादेशले गरेको प्रावधानअनुसार आफ्नो संख्या पुग्ने बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज जारी भएको अध्यादेशमा दल विभाजनका लागि केन्द्रीय समिति या संसदीय दलमा २० प्रतिशत संख्या पुग्नुपर्ने प्रावधान छ ।

नेता नेपालसँग एमालेका करीब ६० केन्द्रीय सदस्य र ३० भन्दा बढी सांसदहरू रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट