निकटस्थलाई ओलीको ब्रिफिङ – नआउनेलाई छोडेर अघि बढौं, अब धेरै कुर्न सकिन्न-Sutra News

निकटस्थलाई ओलीको ब्रिफिङ – नआउनेलाई छोडेर अघि बढौं, अब धेरै कुर्न सकिन्न

बिहिबार, १४ साउन २०७८

बिहिबार, १४ साउन २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विघटित कार्यदलका सदस्यहरूलाई बोलाएर माधवकुमार नेपाललगायतका नेताहरूलाई कुर्न नसकिने ब्रिफिङ गरेका छन् ।



गत जेठ २ गते गठित कार्यदललाई असारको अन्तिममा विघटन गरिएको थियो । कार्यदलमा ओली पक्षबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, विष्णु रिमाललगायतका नेताहरू थिए ।

ओलीले पार्टी केन्द्रीय कार्यालय थापाथलीमा कार्यदलका आफूनिकट नेताहरूलाई बोलाएर पार्टीको विवाद छिटो छिनोफानो गर्न निर्देशन दिएका हुन् ।

कार्यदलमा नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराईलगायतका नेताहरू थिए । तर ओलीले आफूनिकट नेताहरूलाई मात्र ब्रिफिङ गरेका हुन् । 

‘पार्टीका कामहरू त्यसै बाँकी छन्, न आउनेहरूलाई कुरेर बस्नुको कुनै अर्थ छैन । तपाईंहरू त्यही तयारीमा लाग्नुहोस्,’ ओलीको भनाइ उदृत गर्दै एक नेताले सूत्रन्यूजसँग भने ।

यता माधवकुमार नेपाल पक्षका सांसदहरूले भने सरकारमा सहभागी हुनुपर्ने अडान राखेका छन् । यद्यपी पार्टी एकीकरणको ढोका बन्द नहुने गरी सबैको सल्लाह मानेर अघि बढ्ने नेता नेपालको भनाइ छ ।

गत फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन नेकपालाई विभाजन गर्दै एमाले र माओवादी केन्द्र ब्युँताएको थियो । त्यसयता नेता नेपाललगायतका अन्य नेताहरू एमालेमै फर्किएपनि समानान्तर गतिविधि कायमै राखेका छन् ।

प्रतिनिधि सभाको दोस्रो विघटन (जेठ ७ गते मध्यराति)पछि नेपाल पक्षका २३ सांसदहरू पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गर्दै अदालत पुगेका थिए ।

ओलीले बहुमतका आधारमा नेपाल समूहका नेताहरूलाई पटक-पटक कारवाही गर्दै आएका छन् भने कहिलेकाहीं आममाफी दिने कुरा पनि गर्ने गरेका छन् ।

ओली कमजोर भएको निष्कर्षका साथ नेपाल पछि हट्ने मनस्थितिमा भने छैनन् । उनले संसदीय दलमा बहुमत पुर्याउने र ओलीलाई हटाउने कसरत कायमै राखेका छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट