कोरोना संक्रमणको बढ्दो जोखिमः विद्यालयमा विद्यार्थी संख्या घट्न थाले-Sutra News

कोरोना संक्रमणको बढ्दो जोखिमः विद्यालयमा विद्यार्थी संख्या घट्न थाले

शुक्रबार, ३ बैशाख २०७८

शुक्रबार, ३ बैशाख २०७८

चितवन- पत्रकार राधेश्याम खतिवडाले कोरोनाको जोखिम बढेपछि आफूले छोरालाई बिहीबारबाट विद्यालय पठाउन छाडेकाे बताए । 



कक्षा ९ मा पढ्ने उनका छोरा मात्र होइन, धेरै अभिभावकले आफ्ना सन्तानलाई घरमा नै राखेर पढाउन थालेका छन् । नेपाल पत्रकार महासंघ चितवन शाखाका निवर्तमान अध्यक्षसमेत रहेका खतिवडाले मानव स्वास्थ्यभन्दा ठूलो कुरा केही नहुने भएकाले भीडभाडमा बच्चालाई पठाउनु जोखिम भएको बताए ।

कोरोना भाइरस संक्रमण जोखिम बढेसँगै जिल्लाका संस्थागत विद्यालयमा विद्यार्थी घट्न थालेका छन् । लिटिल फ्लावर स्कूल नारायणगढका प्राचार्य रोबी केयुले एउटा कक्षामा तीन/चार जना विद्यार्थी कम आएको बताए ।

उनले भने, ‘रुघा, खोकी र ज्वरो आएका विद्यार्थीलाई घरमा नै आराम गर्न भनेका छौँ ।’

सचेत अभिभावकले छोराछोरीलाई विद्यालय पठाउन छाडेसँगै ठूला संस्थागत विद्यालयमा विद्यार्थी घट्न थालेका छन् । नारायणी नमूना मावि भरतपुरका प्राचार्य पूर्णप्रसाद दवाडीले आफ्नो विद्यालयमा एक जना कर्मचारीलाई कोरोना संक्रमण भएको र केही शिक्षक बिरामी परेको बताए । यस्तै अवस्था रही रहेमा विद्यालय सञ्चालन गर्न कठिन हुने उनको भनाइ छ ।

शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख भूमिलाल सुवेदीले संस्थागत विद्यार्थीको उपस्थिति घटेको भन्ने जानकारी प्राप्त भएको बताए ।

सातवटै पालिकाका शिक्षा प्रमुखसँग छलफल गरेर के गर्ने भन्ने विषयको टुंगाे लगाउने उनको भनाइ छ । मन्त्रालय र विभागमा आफूले समन्वय गरिरहेको भन्दै उनले सम्पूर्ण विद्यालयलाई सावधानी अपनाउन आवश्यक निर्देशन दिइएको जानकारी दिए ।

पछिल्लो समयमा बालबालिकामा समेत कोरोना संक्रमण देखिन थालेपछि त्रास बढेको हो ।

जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या सात हजार १३ पुगेको छ । जसमध्ये ९८ सक्रिय संक्रमित रहेका छन् ।  संक्रमितमध्ये ११४ को मृत्यु भइसकेको छ ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले कम उमेरकालाई संक्रमण देखिन थालेको बताए । सबैले आ-आफ्नो ठाउँबाट स्वास्थ्य निर्देशिका कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।

जिल्लामा ३२३ सामुदायिक र २१६ संस्थागत गरी ५३९ विद्यालय छन् । ती विद्यालयमा एक लाख ५४ हजार विद्यार्थी अध्ययनरत छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट