आक्वा ९९ ब्राण्डको पानी मापदण्ड विपरित, बन्द गराइए पनि पुनः सञ्चालनमा-Sutra News

आक्वा ९९ ब्राण्डको पानी मापदण्ड विपरित, बन्द गराइए पनि पुनः सञ्चालनमा

मंगलबार, १६ भाद्र २०७७

मंगलबार, १६ भाद्र २०७७

काठमाडौं- बिक्री वितरणमा रोक लगाइएको आक्वा ९९ ब्राण्डको पानी पुनःउत्पादन गरेर बिक्री भएको पाइएको छ। काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र त्रिकोण वेभरेजले उत्पादन गरेको आक्वा ९९ ब्राण्डको पानी प्रशोधन र जारको गुणस्तरमा त्रुटि देखिएपछि गत वर्ष फागुनमा खाद्य तथा गुण नियन्त्रण कार्यालयले उत्पादन बन्द गर्न निर्देशन दिएको थियो ।



आइतबार महानगरको उपभोक्ता हित संरक्षण समितिले औद्योगिक क्षेत्रमा उत्पादन हुने खाद्यवस्तु, पानी र दूग्धजन्य पदार्थको अनुमगनका क्रममा आक्वा ९९ पानीको बिक्री वितरण गरेको पाइएको हो।

अनुगमनमा रहेका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले पानीको गुणस्तर नपुगेको बताइन्। ‘बेभरेजले उत्पादन गर्ने पानीको गुणस्तरको विषय निर्णय पुगेको छैन। गुणस्तर नपुगेकोले गत फागुनमा उत्पादन रोक्न भनेका थियौं’ उनले भनिन् ।

बेभरेजका सञ्चालक सुरेन्द्र श्रेष्ठले भने अनुमति लिएर पानी बिक्री वितरण गरेको दाबी गरे। उनी भन्छन्, ‘हामीले पछि अनुमति लिएरै चलाएका हौं। यति भनिरहँदा उनले कसको अनुमतिमा पुनः सञ्चालन भयो भन्ने प्रश्नको जवाफ दिन सकेनन्। म कागज देखाउँछु भनेर धेरै समय यताउता खोजे तर उनले त्यो देखाउन सकेनन्।

बेभरेज जमिनमुनिको पानी लिएर प्रशोधन गरेर बिक्री गर्ने गरेको छ। श्रेष्ठकाअनुसार सामान्य अवस्थामा दैनिक २५ हजार लिटर पानी बाहिर पठाउने गरिएको छ। उनकाअनुसार पनि यसरी उत्पादन हुने पानीको धेरै भाग जमिनमुनिबाटै निकाल्ने गरिन्छ।

औद्योगिक क्षेत्रले २ वटा धारा दिएको छ भनेर स्रोत देखाउने श्रेष्ठले यतिले व्यापारको कति प्रतिशत भाग थेग्छ भन्ने प्रश्नको उत्तर पनि दिन सकेनन्। अनुगमनका क्रममा बेभरेजलाई पुनःसञ्चालन गर्न लिएको अनुमतिसहित अन्य आवश्यक कागज बोकेर महानगरको कृषि विभागमा आउन निर्देशन दिइएको छ।

बेभरेजले उत्पादन गरेको २० लिटर जारको थोक मूल्य १५ रुपैयाँ र खुद्रा मूल्य २५ रुपैयाँ राखिएको छ। यसरी बिक्री गरिने पानी बजारमा ५० रुपैयाँसम्ममा बिक्री हुन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट