कालीमाटीबाट बाहिरिने बित्तिकै आकासिन्छ तरकारीको भाउ-Sutra News

कालीमाटीबाट बाहिरिने बित्तिकै आकासिन्छ तरकारीको भाउ

शुक्रबार, १२ भाद्र २०७७

शुक्रबार, १२ भाद्र २०७७

काठमाडौं– तरकारीको भाउ एक्कासि बढेपछि उपभोक्ता मारमा परेका छन्। काठमाडौं उपत्यकामा निषेधाज्ञा जारीपछि दिनानुदिन तरकारी महंगिदै गएको छ। हप्ता दिनअघि प्रति किलो ५० रुपैयाँमा पाउने टमाटरको भाउ अहिले दोब्बरभन्दा धेरै भएको छ। टमारटरबाहेक अन्य तरकारीको भाउ पनि करिब–करिब सय हाराहारी पुगेको छ।



वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार गरेको तरकारीको खुद्रा मूल्य अध्ययनमा एउटै तरकारीको भाउ किलोको १ सय ७० रुपैयाँसम्मको अन्तर रहेको पाइएको विभागका प्रवक्ता रविन्द्र आर्चायले बताए। विभागले बिहीबार राजधानीका विभिन्न ३३ स्थानका तरकारीको खुद्रा पसलबाट मूल्य संकलन गरेको थियो।

‘तरकारीको मूल्य एक्कासि किन बढिरहेको छ?’ आम उपभोक्ताले यो प्रश्न गरिरहेका छन् अहिले। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार अहिले वर्षाको सिजन भएको र कोरोनाका कारण बाहिरबाट आयात कम भएकाले तरकारीको भाउ बढीरहेको छ।

‘वर्षा याममा तरकारी उत्पादन पनि अलि कम नै हुन्छ,’ उनको भनाइ छ, ‘कोरोनाको कारण बाहिरबाट निर्यातमा कमी आएको छ। यसले पनि तरकारीको भाउ बढेको हो ।’ तर, ‘सिजनल’ तरकारीको मूल्य पनि निषेधाज्ञापछि आकासिएको छ। यस्तो हुनुमा थोक विक्रेताको कुनै दोष नरहेको श्रेष्ठ बताउँछन्। ‘हामी तरकारी बिक्री गर्दा तोकेकै मूल्यमा बिक्री गर्छौं। अहिलेको भाउ बढ्नुमा थोकभन्दा पनि खुद्रा व्यापारीका कारण बढेको मेरो बुझाइ छ,’ उनले भने।

तरकारीको भाउ होलसेलमा सस्तो भए पनि खुद्रा बजारमा महँगो भएको उपभोक्ताको गुनासो आएको थियो। खुद्रा व्यापार गर्ने व्यापारीले तरकारीको मूल्य बढाएर बेच्नुमा निषेधाज्ञाका कारण बिक्री समय सीमित हुने र अन्य समयमा भन्दा यो बेला तरकारी धेरै बिग्रनु पनि एक रहेको बताइन्छ।

tarkari.jpg

बिहान ७ देखि ९ बजेसम्म मात्रै बिक्री गर्ने समय भएकाले दिउँसो घामले तरकारी बिग्रने र खेर जाँदा त्यसलाई उपभोक्ता मूल्यमा जोड्ने गरेको र तरकारीको भाउ बढेको व्यापारी बताउँछन्। बजारमा तरकारीको भाउ आफूखुसी बढाएको भन्ने कुरा आएपछि बजार अनुगमन गरिएको आपूर्ति विभागका प्रवत्ता रविन्द्र आचार्यले बताए। उनका अनुसार अहिले काठमाडौं, भक्तपुर र ललितपुरका ५० ठाउँमा अनुगमन गरिएको छ।

अहिले कालीमाटी तरकारी तथा फलफूल बजारको थोक मूल्यअनुसार टमाटरको अधिकतम मूल्य प्रतिकेजी ७० रुपैयाँ निर्धारण गरिएको छ। कालीमाटी होलसेल तरकारी बजारका व्यापारीले तरकारीको भाउ गत वर्षको भन्दा धेरै नबढेको जानकारी दिएका छन्। ‘होलसेल बजारमा तरकारीको भाउ स्थिर छ। यहाँबाट तरकारी लगेर खुद्रा व्यापारीले कसरी बिक्री गर्छन् त्यो त हामीलाई थाहा हुन्न’, कालीमाटी तरकारी बजारकी व्यापारी इन्दिरा भणडारी बताउँछिन्।

‘कोरोनाको कारण व्यवसाय त घटेको छ,’ उनी भन्छिन्, ‘पहिले चार पाँच घण्टा व्यापार व्यवसाय हुन्थ्यो। तर, अहिले दुई घण्टा मात्र खोलिन्छ। तरकारी किन्ने मान्छे पनि टाढा–टाढाबाट आउँन पाउँदैन। त्यसकारण पनि हाम्रो व्यापार घटेको छ। कतिपय समयमा व्यापार नभएर सामान कुहिएर जान्छ। त्यो घाटा पनि हामीले नै बेहोर्नुपर्छ।’

अर्का होलसेल व्यापारी बुद्धि श्रेष्ठ तरकारीको भाउ गत वर्षको भन्दा धरै नबढेको बताउँछन्। ‘कतिपय मान्छेले कोरोनाको डरको कारण व्यापार नै छाडेर गएका छन्,’ श्रेष्ठ भन्छन्, ‘तर हामीले ग्राहकको सेवाको लागि र आफूलाई पनि केही कमाइ हुन्छ कि भन्ने आशमा व्यवसाय सञ्चालन गरको छौं। फाइदाभन्दा पनि ज्यान जोगाउन गाह्रो छ।’

अदुवा, लसुन र सुकेको खुर्सानीको व्यवसाय गर्ने रमेशप्रसाद रमियारले पनि लसुन तथा अदुवाको मूल्य धेरै नबढेको बताउँछन्। अहिले लसुन प्रतिकेजी एक सय ७० देखि एक सय ८० सम्ममा बिक्रि गरेको उनी बताउँछन्। उनी यस्तै अदुवा ८० रुपैयाँदेखि लिएर एक सय २० रुपैयाँसम्मका बिक्री गरिरहेको बताउँछन्। सुकेको खुर्सानी दुई सय ६० रुपैयामाँ बिक्री गरेको रहेको उनले बताए।

कालीमाटी छेउमा बसेर खुद्रा मूल्यमा निगुरो तथा साग बेचिरहेकी निर्मला खत्री भने निषेधाज्ञापछि तरकारीको भाउ खासै नबढेको बताउँछिन्। भक्तपुरबाट किनेर ल्याएर आफूले बेच्ने गरेको उनी बताउँछिन्। उनका अनुसार अहिले र निषेधाज्ञा हुनुअघिको समयमा खासै मूल्यमा परिवर्तन आएको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट