आइपुग्यो २५ सय टन मल, किसानलाई कोरोनाको प्रिटेस्ट गरेरमात्रै वितरण गरिने-Sutra News

आइपुग्यो २५ सय टन मल, किसानलाई कोरोनाको प्रिटेस्ट गरेरमात्रै वितरण गरिने

बुधबार, १० भाद्र २०७७

बुधबार, १० भाद्र २०७७

काठमाडौं- लामो समयपछि सरकारले २५ सय टन मल विरगञ्ज नाका हुँदै भित्र्याएको छ। साल्ट ट्रेडिङ कर्पोरेशनका प्रवत्ता कुमार राजभण्डारीले पनि २५ सय टन युरिया मल मंगलबार विरगञ्ज आइपुगेको पुष्टि गरे। बुधबारसम्म भन्सार पास गरेर बिहीबारबाट किसानलाई मल वितरण गरिने उनले बताए।



उनले कुन-कुन जिल्लामा मल वितरण गर्ने भनेर तालिका बनाएकोसमेत बताए। मोरङ, सुनसरी, झापा, सप्तरी, रौतहट, सिन्धुली, मकवानपुर, कास्कीलगायत १४ जिल्लामा मल वितरण गरिने उनले बताए।

‘१३ सय टन युरिया मल विराटनगरका लागि छुट्याइएको छ। जसमध्ये ६ सय टन मल विराटनगर पुगिसकेको छ,’ उनले भने।

उनका अनुसानर कर्पोरेशनको गतवर्षको थप कोटा २१ हजार ५ सय टन र चालू आर्थिक वर्षको ११ हजार ६ सय टन मल गरी ३२ हजार १ सय टन युरिया मल भारतको कोलकत्तामा लकडाउनका कारण करिब ३ महिनादेखि अड्किएको थियो।

लकडाउन खुकुलो भएसँगै मल नेपाल भित्रन सुरू भएको उनले बताए। ‘करिब ३ हप्तामा सबै मल नेपाल भित्रिसकिन्छ,’ प्रवक्ता भण्डारीले भने।

उनले लकडाउनमा अड्किएको ५० हजार टन डिएपी मलमध्ये ६ हजार टन काम नलाग्ने भएकाले उतै छाड्ने जानकारी दिए।

कोरोना परीक्षण गराएरमात्रै किसानलाई मल वितरण गरिने

कोरोना भाइरस संक्रण बढ्ने जोखिम बढेपछि ठाउँ हेरेर किसानलाई मल वितरण गर्ने तालिका सार्वजनिक गर्ने बताइएको छ। मल लिन आउने किसानले अनिवार्यरुपमा कोरोनाको प्रिटेस्ट गर्न कृषि मन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ।

मन्त्रालयले आफ्ना मातहतका निकायलाई मल वितरण गर्दा ठाउँ हेरेर समय तालिका सार्वजनिक गर्न र कोरोनाको प्रिटेस्ट गरेरमात्रै मल वितरण गर्न निर्देशन दिएको हो।

कृषि सहकारी, मल विक्रेता तथा सेवाग्राही किसानले पनि कोरोनाबाट जोगिन न्यूनतम स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने मन्त्रालयले जनाएको छ। कृषि मन्त्रालयले संक्रमणको जोखिम न्यूनीकरण गर्न मल आयात, ढुवानी तथा वितरणका लागि कोभिड–१९ सम्बन्धी सुरक्षा विधिसमेत सार्वजनिक गरेको छ।

जसमा बन्दरगाहदेखि भन्सार विन्दुसम्म मल ढुवानी संलग्न व्यक्ति, भन्सार बिन्दुमा खटिने कामदार तथा कर्मचारी, साल्ट ट्रेडिङ कर्पोरेसन, कृषि सामग्री कम्पनी, कृषि सहकारी, मल विक्रेता तथा सेवाग्राही किसान सबैले सुरक्षा मापदण्डसम्बन्धी नियम पालना गर्नुपर्ने मन्त्रालयद्धारा जारी गरेको सुरक्षा विधि विरणमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट