केराले बजार नपाएपछि किसानले खुवाए चरालाई आहारा-Sutra News

केराले बजार नपाएपछि किसानले खुवाए चरालाई आहारा

बुधबार, १० भाद्र २०७७

बुधबार, १० भाद्र २०७७

चितवन–चितवनमा उत्पादित केराले बजार नपाउँदा चरालाई आहारा बनेको छ। लकडाउनसँगै केराको माग घटेका कारण बिक्री हुन नसकेपछि खेतमा पाकेर चराको आहार बनेको हो।



केराको मुख्य सिजनमा नै केरा बिक्री नभएपछि किसान चिन्तित बनेका छन्। यस वर्ष उत्पादन राम्रो भए पनि निषेधाज्ञाका कारण बारीमै पाकेर केरा झर्ने अवस्था आएपछि किसानले लगानीसमेत गुमाउने अवस्था आएको छ।

निषेधाज्ञामा सरकारले कृषि उपजलाई ढुवानी गर्न सहज वातावरण बनाए पनि बजार नखुल्दा बिक्रीमा समस्या भएको हो। केरा व्यवसायी सङ्घ चितवनका अध्यक्ष घननाथ महतो केरा बिक्री नभएको बताए। उनले भने, ‘यो समयमा बजारको निकै ठूलो समस्या छ ।’ पच्चीस देखि ३० प्रतिशत केरा खेतमै पारेर झर्दै गरेको र कतिपय चराको आहार बनेको उनले बताए।

महानगर फलफूल तथा तरकारी बजार नारायणगढका प्रबन्ध निर्देशक थीरप्रसाद धितालले बजारमा फलफूलको बिक्री न्यून रहेको बताउछन्। ‘प्रशासनले तीन घण्टाभन्दा बढी समय पसल खोल्न दिँदैन, ग्राहक आउने समय नै छैन’, उनले भने। ठेला र सडकपेटीमा व्यापार गर्नेलाई पनि प्रहरी र स्थानीयवासीले अवरोध गर्ने गरेको उनले बताए।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले यस वर्ष चितवनमा केराको उत्पादन राम्रो भएको बताए। उनले कोरोनाका कारण बजारीकरणमा समस्या भएको र किसानले गत वर्षझैँ मूल्य नपाएको बताए।

यस वर्ष मात्र जिल्लामा २०० बिघाभन्दा बढी क्षेत्रफलमा केराखेती विस्तार भएको छ। युवाहरुको आकर्षण पनि बढ्दो छ। चितवन केरा उत्पादनका लागि अग्रणी जिल्ला मानिन्छ। जिल्लामा तीन हजार २०० बिघामा केराखेती गरिएको छ। चितवनको रत्ननगर, कालिका, खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाको पश्चिमी क्षेत्र केरा उत्पादनका लागि पकेट क्षेत्र मानिन्छन्।

हावाहुरीलगायतका कारणले हुने क्षतिको राज्यको अनुदानमा बीमा हुने भए पनि बजारीकरणबाट हुने नोक्सानी भने किसान आफैँले व्यहोर्नुपर्ने अवस्था छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट