दुबईमा अड्किएका २६२ नेपाली काठमाडौं आइपुगे-Sutra News

दुबईमा अड्किएका २६२ नेपाली काठमाडौं आइपुगे

आइतबार, ७ भाद्र २०७७

आइतबार, ७ भाद्र २०७७

काठमाडौं- दुबईमा अड्किएका २६२ नेपाली उद्धार उडानमार्फत् आज स्वदेश फर्किएका छन्। चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले काठमाडौँ ल्याएको हो।



दुबईबाट नेपाली लिएर फर्किएको जहाज केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ। निगमको जहाजले दुबईबाट २६२ यात्रु र दुई बच्चा काठमाडौँ ल्याएको निगमका अपरेशनल विभाग प्रमुख दीपु जुहार्चनले जानकारी दिए। उक्त जहाजले काठमाडौँबाट दुईब उडानमा १६४ यात्रु र एक बच्चा लगेको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको स्वीकृतिमा निगमले काठमाडौं-दुबईका लागि रद्द उद्धार उडान सञ्चालन गरेको हो। निगमको गत १८ अगष्टका लागि दुबईबाट काठमाडौंका लागि तय गरिएको उडान यात्रुलाई काठमाडौंमा क्वारेन्टिनको व्यवस्थापन नभएको भन्दै सरकारले स्थगित गरेको थियो।

निगमको वाइड बडी जहाज दुबईबाट रित्तै काठमाडौं फर्किएको थियो। उडानका लागि दुबई एयरपोर्टमा तयारी अवस्थामा रहेका यात्रु अलपत्र परेका थिए। उक्त दिन दुबइबाट काठमाडौं उडानका लागि टिकट लिइसकेका यात्रुलाई आज काठमाडौं ल्याइएको हो। हालैको मन्त्रिपरिषद् वैठकले उद्धार उडान सञ्चालन गर्न अनुमति दिएको थियो।

विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार आज विभिन्न मुलुकबाट नेपालीलाई स्वदेश फर्काउन तथा कार्गोका लागि आगमन र प्रस्थान दुबै गरी चार अन्तर्राष्ट्रिय उडान भएका छन्। नेपाल एयरलाइन्सले दुबईबाट नेपालीको उद्धार गरी काठमाडौं ल्याएको छ भने हिमालय एयरलाइन्सको चीनको कुनमिङमा दुई उडान हुनेछ।

हिमालयका दुबै जहाज आज राति गन्तब्यतर्फ उड्ने विमानस्थलले जनाएको छ। आजै भोल्गा ड्नेपर एयरलाइन्स नागपुरबाट १७ हजार केजी कार्गो काठमाडौं ल्याएको छ। सोमबार पनि उद्धार तथा कार्गो गरी चार अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलले उडान तालिका सार्वजनिक गरेको छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट