किसानले सरकारलाई भने– हामीलाई मल देऊ, समृद्ध नेपाल हामी दिन्छौं-Sutra News

किसानले सरकारलाई भने– हामीलाई मल देऊ, समृद्ध नेपाल हामी दिन्छौं

आइतबार, ७ भाद्र २०७७

आइतबार, ७ भाद्र २०७७

भैरहवा–धान रोपाइँको समयमा होस् या धान पसाउने बेला वर्षेनी किसानलाई रासायनिक मलको अभाव हुने गरेको छ । यो वर्ष पनि भैरहवा र यस क्षेत्रका किसानले यो समस्या भोगिरहेका छन्। सरकारले समयमा किसानलाई युरिया र डिएपी मल उपलब्ध गराउन नसक्दा धान रोप्ने बेला समस्या झेलेका किसानले धान पसाउने बेलामा पनि मल राख्न पाइरहेका छैनन्।



विगतका वर्षमा झैं यो वर्ष रोपाइँको बेला मलको अभाव भयो र तर विगतका वर्षझैं किसानले भारतबाट मल ल्याउन पाएनन् । सीमा नाकामा आवात-जावतमा कडाइ हुँदा सहज रुपमा मल ल्याउने अवस्था नै नरहेको किसानको भनाइ छ। ४ भदौमा रुपन्देहीको रोहिणी गाउँपालिका–७ अमुवाबाट प्रहरीले ७६ बोरा बरामद गरी भैरहवा भन्सार कार्यालय पठायो ।

प्रहरीले मल बरामद गरेपछि लकडाउनको समयमा मलको अभावका कारण मलबिना नै रोपाइँ गर्न बाध्य किसानले धान पसाउने बेलामा पनि मल राख्न नपाएको भन्दै आक्रोशित भए । भन्सार बिना भारतबाट मालसामान आयात गर्न नपाउने कानूनी प्रावधान भए पनि उनीहरु भने रहरले नभइ बाध्यताले भारतबाट रासायनिक मल भित्र्याएको बताउँछन् ।

राष्ट्रिय कृषक महासंघका केन्द्रीय अध्यक्ष समेत रहेका ओमसतियाका अगुवा किसान देव धवल भन्छन्, ‘सरकारले समयमै मल उपलब्ध गराउन नसक्दा किसान मर्कामा परेका छन, झन पारीबाट ल्याउँदा बरामद गरेर भन्सार पठाइन्छ भने अब किसानले खेती कसरी गर्ने ?’ ‘एकातिर सिचाइँको समस्या छ, यो वर्ष त झन लकडाउनका कारण समयमै बीउ पाइएन,’ धवलको गुनासो छ, ‘धेरै क्षेत्रफलमा खेती हुने स्थानमा मजदूर पाइएन । त्यसमाथि भारतबाट सहज रूपमा किसानले मल ल्याउन सकेनन्।’

जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय सदस्य समे रहेका ओमसतियाका किसान देवेन्द्र पाण्डे ‘सागर’ पनि सरकारले रासायिनक मलको उचित व्यवस्थापन गर्न नसकेको बताउँछन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘सक्छौ, अनुदानसहितको समयमा सस्तो मल, पानी, बिउ, विषादी र उन्नत कृषि औजार देऊ मलाई… । पानीजहाज, रेलमार्ग र ग्यास पाइपको नि खाँचो छ, तर हाल सबै दिन नसकेनी चोरी–लुकी, गाली–बेइज्जती र अपमान सहेर ल्याएको युरिया नलुट, यो नेपाली माटो, मेरो पसिना र त्यो युरिया मिसिन देऊ, तिमीले सोचेको भन्दा हाम्रो, राम्रो र समृद्ध नेपाल हामी दिन्छौं ।’

साढे ३ विगाह क्षेत्रफलमा धानखेती गर्दै आएका रुपन्देहीको ओमसतिया गाउँपालिका–५ का कृषक पशुपति यादव पनि समयमै मल नपाएकोमा निराश छन् । उनले वर्षेनी मलको अभाव झेल्नुपरेका किसानलाई यस वर्ष लकडाउनले झनै समस्या थपिदिएको बताए । ‘कृषिप्रधान देशमा धानखेती गर्ने बेला मलको अभाव भइरहन्छ, कुनै पनि सरकार कृषकप्रति जिम्मेवार भएको देखिएन,’ उनले भने ‘यो त जुन जोगी आए पनि कानै चिरेका जस्तै भयो।’

रोहिणी गाउँपालिका–३ परासीझुंगाका कृषक रामअचल गौड पनि समयमै मल उपलब्ध नहुँदा धानखेती गर्न समस्या भएको बताउँछन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले अधिक नाफा कमाउने उद्देश्यले स्टोर गरेर राख्ने व्यापारीको मल मात्र बरामद गरिएको बताए ।

उनले वास्तविक किसानले साइकलमा राखेर ल्याएको २/४ बोरा मल बरामद नगरिएको बताए । ‘सूचनाका आधारमा ठुलो परिमाणमा भित्रिएको मललाई मात्रै हामीले बरामद गरी भन्सार पठाएका छौं, उनले भने बास्तविक किसानलाई प्रहरीले दुःख दिएको छैन् ।’

कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाका सहायक प्रबन्धक तथा सूचना अधिकारी गणेशप्रसाद घिमिरेले यस वर्ष लकडाउनको कारण समयमा मल आयात हुन नसकेको बताए । उनले डिएपी मल समयमा आए पनि युरिया भने आउन नसकेको बताए । समयमै मल आउन नसक्दा धानखेतीमा कठिनाइ भएको उनको भनाइ छ ।

(भैरहवाबाट रबिन्द्र प्रताप गुप्ताको रिपोर्ट)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट