किवी खेतीतर्फ किसानको आकर्षण-Sutra News

किवी खेतीतर्फ किसानको आकर्षण

शुक्रबार, ५ भाद्र २०७७

शुक्रबार, ५ भाद्र २०७७

डडेल्धुरा– पछिल्लो समयमा डडेल्धुराका कृषकहरु व्यावसायिक किवी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । केही वर्षअघि तरकारी उत्पादन हुने खेतमा आजभोलि भने कृषकहरु किवी खेती गरेर मनग्य आम्दानी गर्न थालेका हुन् । किवी खेतीका लागि डडेल्धुरामा उपयुक्त वातावरण भएकाले कृषकहरु व्यावसायिकरूपमा किवी खेतीतर्फ आकर्षित हुन थालेका हुन् ।



डडेल्धुराको अमरगढी–२ का हिक्मत खडायतले नौ रोपनीभन्दा बढी जमिनमा किवी खेती गरिरहेका छन्। किविभन्दा अघि उनले सुन्तला, जुनार, कागतीजस्ता फलफूलको खेती गरे। डडेल्धुरामा किवी खेतीको राम्रो सम्भावना देखेर यो व्यवसायमा लागेको उनले बताए। करीब पाँच हजार बोट किवी लगाएका उनले प्रतिबोट रु ५०० का दरले बिक्री गर्ने गरेको बताए ।

‘बजारमा किवीको मूल्य र माग दुवै रहेको छ । किवी रोपेर नै पाँच जनाको परिवार पालिरहेको छु’, उनले भने, ‘बेर्ना हुर्कन कम्तीमा पनि एक/डेढ वर्ष लाग्छ । रोपेको करिब तीन वर्षदेखि ५०/६० वर्षसम्म किवीले आम्दानी दिने गरेको सुनेको छु ।’ किवी खेतीबाटै घर खर्च कटाई वर्षिक रु एक/दुई लाख बचत गर्ने गरेको उनले सुनाए।

किवी खेती गर्दा समयको पनि बचत हुने र आम्दानी पनि मनग्य हुने भएपछि आफू पनि यस पेसातर्फ आकर्षित भएको अमरगढी–१ का गणेशबहादुर ऐरले बताए। सुरुमा रु पाँच लाख लगानी गरेर किवी खेती गर्नुभएका उनले छोराछोरीको पढाइ खर्चदेखि लिएर घर परिवारको जीविकोपार्जन पनि यसै पेसाबाट चलाइरहेको बताए। सात वर्षदेखि उनले किवी खेती गरिरहनुभएको छ।

किवी खेती गर्नुभन्दा पहिले भारतमा गएर काम गर्ने गरेको उनको भनाइ छ । ‘किवी खेती गर्ने कुनै सोच थिएन । जिल्ला कृषि विकास कार्यालयले दोलखाबाट यो योजना लिएर जिल्लामा तालिम दियो । १०/१२ जना हामी सहभागी थियौँ तर किवी खेती गर्न कसैले मानेन,’ उनले भने, ‘जिल्लामा पहिलो पटक मैले यो खेतीको शुरुआत गरेँ । शुरुमा १०० बोट लगाएँ । अहिले त जिल्लामा ३०/४० किसान पुगिसके किवी खेती गर्ने ।’ गत वर्ष १६ क्विन्टल किवी फले पनि यो वर्ष ३० क्विन्टल फलाउने उनको अनुमान छ । किवी लगाएकै ठाउँमा तरकारी पनि लगाउन सकिने भएकोले मनग्य आम्दानी गरिरहेको उनले बताए।

शुरुमा एक पटक लगानी गरेपछि ४०/५० वर्षसम्म उत्पादन दिइरहने र बजारको समेत अभाव नहुने भएपछि किसान किवी खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताए। किवीखेतीका लागि मौसमअनुसार पनि डडेल्धरा जिल्ला उपयुक्त मानिने हुदाँ त्यसतर्फ बढी आकर्षित भई यो खेतीको थालनी भएको वरिष्ठ कृषि विकास अधिकृत विष्टले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट