नेपालको झन्डा जलाइएको गीत विवादमा, गायक खोज्दै प्रहरी-Sutra News

नेपालको झन्डा जलाइएको गीत विवादमा, गायक खोज्दै प्रहरी

मंगलबार, २ भाद्र २०७७

मंगलबार, २ भाद्र २०७७

काठमाडौं- सोमबार (१ भदौ) युट्युबमा सार्वजनिक भएको र्‍याप गीत ‘देशद्रोही’ अहिले विवादमा तानिएको छ । गीतको भिडियोमा नेपालको झन्डा जलाइएको, जातीय सद्भाव खल्बल्दिने शब्द प्रयोग गरेको भन्दै यसका गायक गेल्जङ दोर्जे तामाङलाई प्रहरीले खोजिरहेको छ ।



गीतको भिडियो खिच्ने एक जना क्यामेरा म्यानलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरिसकेको प्रहरी स्रोतले बतायो। अन्यको खोजीको कार्य भइरहेको छ।

‘यो ठीक भएन,’ नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले भने, ‘हामीले कारबाही प्रक्रिया अगाडि बढाएका छौं । गीत गाउने गायकको खोजी गरिरहेका छौँ ।’

गेल्जङको यो गीतमा भिडियोको ४० सेकेन्डमा झण्डा जलाएको दृश्य छ । गीतको शब्दमा उनले एउटा जाति विशेषको आलोचना गरेका छन् ।

गीतकार तथा कवि श्रवण मुकारुङ्ग यो संवेदनशील विषय भएको बताउँछन् । ‘गीतको भिडियोमा झण्डामा आगो लगाउनु भनेको संवेदनशील विषय हो,’ उनी भन्छन्, ‘यस्तो कुरामा सिर्जना गर्ने व्यक्ति पनि जिम्मेवार हुनुपर्छ । स्वतन्त्रता हुनुको अर्थ अराजक हुनु वा छाडा हुनु होइन । ’

यस्ता विषयमा प्रहरीले उक्त सर्जकलाई सम्झाई–बुझाई गर्न पाउने बताउँछन् । तर, सजाय नै दिनु अनुपयुक्त हुने उनको मत छ । ‘सर्जकलाई ठीक गरिनस् भन्न राज्यले पाउँछ, सोधखोज गर्न सक्छ । तर, उसलाई सजाय दिने भन्ने कुरा हुँदैन,’ उनले भने ।

यो गीत युट्युबमा ६४ हजारभन्दा बढी ‘डिस्लाइक’ गरिएको छ । दर्शक/श्रोतामात्रै होइन, कलाकारले समेत यसको आलोचना गरिरहेका छन् ।

गायिका आस्था राउतले समाजमा विखण्डन गराउने, धार्मिक सहिष्णुता खल्बलिने, सामाजिक सद्भाव बिथोलिने कुरालाई प्रोत्साहन गरेको भन्दै फेसबुकमा स्टाटस लेखेकी छिन् ।

‘राष्ट्रिय झण्डाले कुनै पनि जात,भाषा,समुदायलाई भेदभाव गर्दैन, देश आमा हुन भने झण्डा हाम्रो प्राण हो’ उनले लेखेकी छन्, ‘समाजमा विखण्डन गराउने, धार्मिक सहिष्णुता खल्बलिने सामाजिक सद्धभाव बिथोलिने, राष्ट्रिय प्रतिकको रुपमा रहेको राष्ट्रिय झण्डा प्रतिको कुनै पनि अभद्र, अवान्छित, तुच्छ व्यवहार हामी कसैलाई पनि मान्य हुनेछैन ।’

यस्ता गतिविधि गर्नेहरुप्रति खेद प्रकट गर्दै उनले यस्तो गतिविधिमा संलग्नलाई तत्काल कार्वाहीको माग समेत गरेकी छन् ।

अभिनेत्री बेनिसा हमालले गीतलाई राष्ट्रघातीको संज्ञा दिँँदै संलग्नलाई कानुनी दायरामा ल्याउन र गीतको भिडियोलाई तत्कालै हटाउनुपर्ने माग गरेकी छन् । ‘आमाको कोख र धर्ती माताको काख सबैभन्दा महान हुन्छ । यही देशको माटोमा जन्म लिएर, यही धर्तीमा भोलि विलिन हुने मानिसलाई यो देशको अपमान गर्ने अधिकार कदापी छैन,’ उनले लेखेकी छिन्, ‘यस्ता चरित्रहरू राष्ट्रघाती हुन् । राष्ट्रको गौरव राष्ट्रिय झण्डा जलाउने जो कोही भए पनि कानूनी दायरामा ल्याइयोस् । साथै, सामाजिक संजालबाट यो भिडियो यथाशीघ्र हटाइयोस् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट