तीजमा घरमा निम्ता र सामूहिक खानपिन नगर्न आह्वान-Sutra News

तीजमा घरमा निम्ता र सामूहिक खानपिन नगर्न आह्वान

मंगलबार, २ भाद्र २०७७

मंगलबार, २ भाद्र २०७७

ललितपुर–महालक्ष्मी नगरपालिकाले नजिकै आइरहेको पर्वहरूमा चेलीबेटीलाई घरमा निम्ता र सामूहिक खानपिनको कार्यक्रम दुवै नगर्न आह्वान गरेको छ। मुलुकमा दिनानुदिन बढिरहेको कोरोना महामारीलाई मध्यनजर गर्दै सोमबार महालक्ष्मीले एक सूचना जारी गरी नगरवासीलाई उक्त अनुरोध गरेको हो।



नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठद्वारा जारी सूचनामा यस वर्ष कोरोना जोखिमलाई ध्यानमा राखी यसै महिनामा पर्ने कुशेऔँशी तथा हिन्दू महिला दिदीबहिनीको महान पर्व हरितालिका तीज र ऋषिपञ्चमी पर्वमा चेलीबेटीलाई घरमा निम्ता, सामूहिक खानपिनको कार्यक्रम र नित्यकर्मबाहेक धार्मिक क्षेत्रमा भीडभाड नगरी घरमै बसेर मनाउन आह्वान गरिएको छ।

यसैगरी ललितपुर महानगरपालिका–२४ ले आ–आफ्नै घरमा बसेर तीज र ऋषिपञ्चमी मनाउन अनुरोध गरेको छ। वडाध्यक्ष दिनेश कार्कीले सोमबार एक सूचना जारी गरेर नागदहमा प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन मेला लाग्ने गरेकाले यस वर्ष नागदहस्थित ऋषि मन्दिर बन्द हुने हुँदा आ–आफ्नै घरमा बसेर तीज र पञ्चमी मनाउन महानगरवासीलाई आग्रह गरे।

वडाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन तथा यदि निस्कनै परेमा मास्क लगाउन तथा कोभिड सुरक्षा सतर्कता अपनाउनसमेत महानगरवासीलाई अनुरोध गरेको छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट