‘जोर-विजोर प्रणालीले कोरोना संक्रमणको जोखिम झन् बढ्छ’-Sutra News

‘जोर-विजोर प्रणालीले कोरोना संक्रमणको जोखिम झन् बढ्छ’

शनिबार, २४ साउन २०७७

शनिबार, २४ साउन २०७७

काठमाडौं- सरकारले सवारीसाधनमा लागू गरेको जोर–विजोर नम्बर प्रणाली कोभिड–१९ नियन्त्रणका लागि व्यावहारिक नभएको जनस्वास्थ्यविदहरुले बताएका छन्। लागू भएपछिको तथ्याङ्कले पनि जोर–विजोर प्रणाली लागू गर्ने निर्णय कामयावी नभएको देखाएको छ।



सरकारले बिहीबार (२२ साउन) देखि पुनः जोर-विजोर लागू गरेको हो। जोर–विजोर प्रणाली लागू गरेपछि काठमाडौं उपत्यकामा संक्रमण झन् बढ्ने जोखिम देखिन्छ। शुक्रबारमात्र उपत्यकामा १ सय ६ जनामा संक्रमण देखिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेटिएका संक्रमितमध्ये काठमाडौंका ९१, ललितपुरका ११ र भक्तपुरका चार छन्। यसअघि बिहीबार काठमाडौं उपत्यकामा ८७ जना संक्रमित थिए भने बुधबार ६२ जनामात्र थिए।

मानिसहरुको भिडभाड कम गराउन र थोरै मानिसको मोबिलिटीमा सबै सेवा सुचारु गर्ने हिसाबले सरकारले जोर–विजोर लागू गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समीर अधिकारी बताउँछन् ।

‘जोर–विजोर नम्बरका गाडी चल्नु भनेको जति चल्छन्, ती सबै मान्छे आउजाउ गर्नु भनेको हैन, बरु आधा मानिसमात्र अफिस जाउन् भन्ने हिसाबले गरिएको हो,’ उनी भन्छन्, ‘यसो गर्दा धेरै मान्छे बाहिर निस्कने ठाउँमा कमैमात्र अत्यावश्यक काममा बाहिर निस्कन्छन् ।’

‘जोर–विजोर लागू भए पनि मानिस बाहिर निस्कन छाड्दैनन्, ‘मोबिलिटी’लाई कम गर्न र कोरोना नियन्त्रणमा यसले सहयोग गर्दैन । रोगग्रस्त क्षेत्रबाट आएका व्यक्तिहरुको व्यवस्थापन ठूलो कुरा हो ।’

 

कोरोना नियन्त्रणमा जोर–विजोर प्रणालीको भूमिका कति पनि नरहने जनस्वास्थ्यविद् डा समीन्द्र समीर बताउँछन्। यो प्रणालीले घट्न नभई बढ्न मद्दत गर्ने उनको ठहर छ। ‘जोर बिजोरले ट्राफिक जाम हटाउँछ, प्रदुषण कम गर्छ । तर, कोभिड–१९ नियन्त्रणमा भूमिका केही पनि छैन,’ उनी भन्छन्, ‘पहिला गाडीमा १० जना बस्थे भने अब २० जना बस्ने भए । माइक्रोबसहरु खचाखच हुन थाले । यसले त झन संक्रमण आगो जसरी फैलाउँछ ।’

जोर–विजोर प्रणाली लागू भएपछि गाडी खचाखच देखेर मानिसहरु सडकमा हिँडन थाल्छन् । यसरी सडकमा हिँड्दा भिड बढ्ने र सडकबाट पनि संक्रमण सर्ने सम्भावना बताउँछन् डा समीर । उनी भन्छन्, ‘जोर-विजोर प्रणाली संसारमा कहीँ पनि प्रभावकारी देखिँदैन ।’

सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोला पनि ‘जोर–विजोर’ प्रणाली वैज्ञानिक नहुने बताउँछन् । उनको भनाईमा, जोखिम क्षेत्रबाट आउने व्यक्तिलाई नै उपत्यकामा छिर्न नदिनु उत्तम उपाय हो । ‘जोर–विजोर लागू भए पनि मानिस बाहिर निस्कन छाड्दैनन्, ‘मोबिलिटी’लाई कम गर्न र कोरोना नियन्त्रणमा यसले सहयोग गर्दैन,’ डा बाँस्तोला भन्छन्, ‘रोगग्रस्त क्षेत्रबाट आएका व्यक्तिहरुको व्यवस्थापन ठूलो कुरा हो ।’

जनस्वास्थ्यविद् डा सुजनबाबु मरहट्ठाको तर्क पनि उही छ । जोर–विजोर प्रणालीभन्दा पनि परम्परागत पद्दति परिवर्तन गर्नुपर्ने आवश्यकता देख्छन् उनी । ‘जोर– विजोर प्रणाली भनेको बाध्यात्मकारी प्रशासनिक उपायमात्र हो । यो सजिलो उपाय भएकाले सरकारले नीतिगत निर्णय गर्‍यो,’ उनी भन्छन्, ‘बरु भिड नियन्त्रण गर्न परम्परागत पद्दतिमा परिवर्तन गरेर अनलाइनमा आधारित बनाउँदा उचित हुन्छ ।’

सहप्रवक्ता अधिकारी भने जोर–विजोर प्रणाली पहिले र अहिले उस्तै हो भनेर नबुझिदिन आग्रह गर्छन् । पहिले–पहिले लागू गरिने यो प्रणाली कोभिडको हकमा व्यावहारिक हुन नसक्ने अनुमान छ उनको पनि ।

‘खासमा निगरानी बढाउनमात्र यो प्रणाली लागू गरिएको होला,’ उनी भन्छन्, ‘कोभिड–१९ संक्रमण हुन नदिन यतिबेला सर्वसाधारण नै सचेत हुनुपर्ने देखिन्छ । सचेत नहुने हो भने यही प्रणाली पनि घातक हुन सक्छ ।’   

डा रवीन्द्र समीरका भनाइमा, कोभिड–१९ संक्रमण विस्तार हुन नदिन नयाँ मोडालिटी अपनाउन अब ढिलाइ गर्न हुँदैन । माइक्रोबस र टेम्पोजस्ता सवारीबाट संक्रमण फैलने खतरा भएकाले सरकारले जोर–विजोरको ठूला सवारीसाधन सबै चल्न दिनुपर्ने बताउँछन् उनी । ‘बरु सरकारले लामा साइजका यातयात सबै सञ्चालनमा ल्याउनुपर्छ ।  माइक्रोबस र टेम्पोजस्तो सवारीलाई भाडामा लिएर माइक्रोलाई एम्बुलेन्स र टेम्पोलाई खाद्यान्न बोक्न प्रयोग गरे राम्रो होला,’ उनी उपाय सुझाउँछन् ।  

कोरोना भाइरससम्बन्धमा भएका नयाँ अध्ययनमा पनि ध्यान दिनुपर्ने बताउने मरहट्टा सँगसँगै मोडालिटीका प्रभावबारे पनि अध्ययन गर्नुपर्ने सुझाव दिन्छन् । उनी भन्छन्, ‘समुदायलाई निगरानी र जनस्वास्थ्यको मापदण्डलाई पालना गर्ने काममा नयाँ ढंगले अघि बढ्नुपर्‍यो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट