‘मनसरा’को पूर्वी नेपालमा उत्कृष्ट सुरुवात, दर्शकको चाप बढ्यो-Sutra News

‘मनसरा’को पूर्वी नेपालमा उत्कृष्ट सुरुवात, दर्शकको चाप बढ्यो

शनिबार, २२ बैशाख २०८१

शनिबार, २२ बैशाख २०८१

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मनसरा’ले उत्कृष्ट व्यापारको सुरुवात गर्न थालेको छ । विशेषगरि यो फिल्मले  पूर्वी नेपालका शहर विर्तामोड, दमक, इटहरी, विराटनगर र काठमाडौं उपत्यकासँगै पश्चिम नेपालमा पनि सुखद व्यापार गरेको सुरुवात गर्न थालेको हो।



ब्लकबस्टर फिल्म ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको दोस्रो फिल्मले अन्य स्थान भन्दा पूर्वी नेपालमा भने दर्शकको उच्च साथ पाइरहेको छ । शुक्रबार बिहानी शोबाट पूर्वी नेपालका हलमा दर्शकको चाप उच्च देखिएको छ भने, आज शनिबार दर्शको सोही अनुपातलाई निरन्तरता दिँदै बक्स अफिसमा बम्पर व्यापार सुरु गरेको छ ।

बुधबार साँझ ललितपुरको लाबिम मलमा रहेको क्यूएफएक्स हलमा आयोजना गरिएको भव्य प्रिमियरपछि फिल्मको टिम विहिबार विराटनगर आयोजना गरिएको प्रिमियरमा पुगको थियो । दुई ठाउँमा आयोजना गरिएको प्रिमियरमा फिल्मलाई राम्रो प्रतिक्रिया मिलेको छ। प्रिमियरमा पाएको प्रतिक्रियाले निर्माणपक्ष उत्साही देखिएको छ। सोही क्रममा टिमले विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । शुक्रबार दिनभर विराटनगर, इटहरी र धरानका विभिन्न हलमा पुगेको निर्माण टिम शनिबार दमक र बिर्तामोड पुगेर दर्शक साक्षात्कार गरेका छन् ।

शुक्रबार धरानको फ्रेन्ड्स सिनेमाज्मा अभिनेता दयाहाङ राई, प्रवीन खतिवडा, अभिनेत्री मिरुना मगर र निर्देशक उपेन्द्र सुब्बा पुग्दा हलमा दर्शक भरिभराउ थिए । धरानको हलमा कलाकारलाई देखेपछि उनी सेल्फी खिच्ने दर्शकको भिड लागेको थियो । साथै, दर्शकले फिल्म उत्कृष्ट बनेको भन्दै मनसरा टिमको प्रशंसा समेत गरेका थिए ।

मिश्रित समाजको कथा भन्ने फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । एउटै ठाउँमा बस्ने विभिन्न जातजातीका छिमेकी, उनीहरूको नोकझोक र प्रेमलाई देखाएको यो फिल्ममा बाहुन बाजे बनेका प्रविणको लिम्बुनी मिरुना मगरसँगको निकटता बाजेकी नेवार्नी पत्नी बनेकी मेनुकासँगको अमिलो सम्बन्धको कथा पेस गरेको छ । यस्तै, दयाहाङ र मिरुनासँग सम्बन्ध पनि फिल्ममा रहेकाले यो कथा र पात्रको एकअर्काको सम्बन्धको जालो कन्फ्युजिङ रहेकाले दर्शकप्रति कौतुहल्ता पैदा गर्न सफल देखिएको छ ।

फिल्म हेर्ने प्रायः दर्शकले प्रवीण खतिवडाको अभिनय रुचाएका छन् । अब दर्शकबाट बलियो ‘वर्ड अफ माउथ’ मिलेको खण्डमा फिल्मले बक्सअफिसमा आक्रामक व्यापार गर्ने अनुमान लगाउन सकिन्छ । ।

फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ फिल्मका सह-निर्माता हुन् । फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहेको छ ।

त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट