ढुंगा ठोक्किएर आगलागी हुँदा ६ जना घाइते-Sutra News

ढुंगा ठोक्किएर आगलागी हुँदा ६ जना घाइते

बिहिबार, २९ चैत्र २०८०

बिहिबार, २९ चैत्र २०८०
फाइल तस्बिर ।

काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका ३ रन्मामा आगलागीमा परी ६ जना घाइते भएका छन् ।



रन्मा गाउँदेखि पारीको चत्रा भीरमा गोरेटो बाटो खन्ने क्रममा भीरबाट खसेका ढुंगा एकापसमा ठोक्किँदा आगलागी भएको हो । आगलागीमा परेर गोरेटो बाटो खनिरहेका ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

घाइते हुनेमा दाँत बुढा मगर, उज्ज्वल बुढा मगर, थपन बहादुर बुढा मगर, सम्झी बुढा मगर, गोरा बुढा मगर र पुत्र बुढा मगर रहेका छन् । घाइते सबै जनालाई उद्धार गरी अहिले रन्मा गाउँमा ल्याइपुर्‍याइएको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले जानकारी दिए ।

उनीहरूलाई बिहीबार हेलिकप्टरमार्फत उपचारका लागि अन्यत्र लगिने उनले बताए । “हेलिकप्टर ल्याउन सबै प्रक्रिया पूरा भइसकेको छ, अहिले घाइतेको उपचार गर्न पुथा उत्तरगंगा गाउँपालिकाको स्वास्थ्यकर्मीको टोली रन्मा गाउँ पुगिसकेको छ,” उनले भने ।

अहिले जंगलमा आगो फैलिरहेको स्थानीयले बताएका छन् । आगो निभाउन सुरक्षाकर्मीको टोली आगलागी भएको ठाउमा गएको छ । रन्मा पुग्न सदरमुकाम रुकुमकोटबाट पाँच घण्टा गाडीमा तथा चार घण्टा पैदल यात्रा गर्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट