‘लास्ट बेन्चर’ मुख्यमन्त्रीले व्यवस्थालाई गिज्याए कि आफैंलाई ?-Sutra News

‘लास्ट बेन्चर’ मुख्यमन्त्रीले व्यवस्थालाई गिज्याए कि आफैंलाई ?

बिहिबार, २५ माघ २०८०

बिहिबार, २५ माघ २०८०

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की विवादमा तानिएका छन् । मोरङको सुन्दरहरैँचा नगरपालिकामा रहेको साजिलाल माध्यमिक विद्यालयको वार्षिकोत्सव समारोहलाई सम्बोधनका क्रममा ‘पढेर मात्रै केही नहुने’ भन्ने कोणबाट अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका हुन् ।



सम्बोधनका क्रममा कार्कीले पढाइमा अब्बल विद्यार्थी (फस्ट बेन्चर) खरदार भएको तर, आफू लास्ट बेन्चर मुख्यमन्त्री बनेको भन्दै गर्व महसुस गरेका थिए । नपढ्नेहरूलाई लिएर विद्यालयकै कार्यक्रममा मुख्यमन्त्री कार्कीले गरेको गर्व महसुसको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । उनको चौतर्फी आलोचना भइरहेको छ ।

“म पनि लास्ट बेन्चमै बस्ने विद्यार्थी हुँ, फस्ट बेन्चमा बस्नेले केबल लेख्न/पढ्न मात्र जान्यो, ऊ अहिले खरिदार छ म अहिले मुख्यमन्त्री छु”, उनले भनेका छन्, “उसले कसरी हुन्छ भुँडी भर्न मात्र जान्यो ।”

औपचारिक शिक्षा आर्जन गर्नेले मात्रै सबैकुरा नजान्ने तर्क गर्दै मुख्यमन्त्री कार्कीले चाणक्यको सफलताबारे चर्चा गरेका छन् । “चाणक्यले कुन विश्वविद्यालयमा पीएचडी गरेका थिए ? मलाई देखाइदिनुस्”, उनले विद्यार्थीलाई प्रश्नसमेत गरेका छन् ।

कार्की अभिव्यक्तिमाथि कर्मचारी संगठनको आपत्ति

मुख्यमन्त्री कार्कीले दिएको अभिव्यक्तिलाई लिएर कर्मचारीहरूले विरोध जनाएका छन् । नेपाल निजामती कर्मचारी संगठनले विज्ञप्ति नै जारी गर्दै कार्कीको भनाईले राष्ट्रसेवक कर्मचारीको शीर निहुरिएको भन्दै आपत्ति जनाएको छ ।

कर्मचारी संगठन मोरङ शाखाले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्रीको भनाईले राष्ट्रसेवक कर्मचारीहरूको आत्मसम्मानमा चोट पुगेको बताइएको छ । मुख्यमन्त्री कार्कीले क्षमायाचना गर्नुपर्ने माग कर्मचारी संगठनको छ ।

“प्रतिस्पर्धामा श्रेष्ठता खोज्ने हामी तमाम राष्ट्रसेवकहरू हजारौँको प्रतिस्पर्धामा आफूलाई अब्बल र श्रेष्ठ साबित गर्न सफल भएर राष्ट्र सेवाका विभिन्न तहमा बसी नागरिकको सेवा प्रदान गरी आएका छौँ”, विज्ञप्तिमा भनिएको छ, “योग्यता प्रणालीमा विश्वास गर्नेहरू प्रतिको मुख्यमन्त्रीज्यूको कोरा अपरिपक्व हचुवा अभिव्यक्तिले सबै तहका राष्ट्रसेवकहरूको शिर निहुरिएको छ । यो अपरिपक्क अभिव्यक्ति फिर्ता लिएर सबै राष्ट्रसेवकहरूको आत्मसम्मानमा पुगेको चोटप्रति क्षमायाचना गर्नु बुद्धिमानी हुन्छ ।”

तर, माफी होइन, बचाउमा कार्की

चौतर्फी आलोचना भइरहँदा मुख्यमन्त्री कार्कीले भने आफ्नो भनाईको बचाउमा लागेका छन् । उनले आफ्नो भनाईको मर्म सही भएको दाबी गरेका छन् ।

उनले आफ्नो विगतको सत्यलाई खोलेको पनि बताएका छन् । उनका अनुसार विद्यालय तहमा उनी पढ्न नजान्ने ‘लास्ट बेन्चर’ विद्यार्थीको रुपमा थिए । कलेज तहमा पुगेपछि उनी विद्यार्थी राजनीतिमा सक्रिय बने । उनले पढाईलाई भन्दा राजनीतिसहितका अन्य विषयलाई प्राथमिकता दिए ।

कार्कीले आफ्नो भनाई पढ्नेलाई निरुत्साहित भन्दा पनि लास्ट बेन्चरलाई प्रोत्साहित गर्न दिएको बताएका छन् ।

“त्यो सत्य घटना नै हो, मेरो एक कक्षादेखि पाँच कक्षासम्म एउटा फर्स्ट बेञ्चर साथी थियो, ६ कक्षादेखि अर्को स्कुल पढ्दा अर्को फर्स्ट बेन्चर साथी थियो, कलेजमा पनि फरक–फरक थिए, उनीहरूलाई ईंगित गरेको हो र, यो एउटा प्रवृत्ति पनि हो”, सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेका छन्, “पढ्नलाई निरुत्साहित होइन, थर्ड बेञ्चरलाई प्रोत्साहित गरेको हो, एपिजे अब्दुल कलामदेखि केपी ओलीसम्मलाई हेर्दा हुन्छ ।”

अब्बलसँग त्रसित छ नपढ्ने समाज

उसो त हाम्रो राजनीति करिब ‘लास्ट बेन्चर’हरूकै नेतृत्वमा छ । नीति निर्माणदेखि सरकार सञ्चालनसम्म सबै भूमिकाको नेतृत्व उनीहरूबाटै भइरहेको पाइन्छ । विज्ञहरू पछिल्लो मुलुकको अवस्था पनि नेतृत्वमा लास्ट बेन्चरहरूकै बोलाबालाकै परिणाम भएको बताउँछन् ।

शिक्षा शास्त्रका अध्येता निष्णु थिङ मुलुकको नेतृत्व पढ्नेहरूको हातमा भएको भए अर्के हुने बताउँछन् । “अहिलेको मुलुकको दुर्दशाको मुख्य कारण नै लास्ट बेन्चरहरू मुलुक हाँक्ने ठाउँमा पुगेको कारणले भएको हो”, थिङले भनेका छन्, “फस्ट बेन्चरले हाँक्न पाएको भए मुलुकको अवस्था अर्के हुन्थ्यो ।”

पढेलेखेकामाथि हुँदै आएको प्रहारको अर्को श्रृंखलामात्रै कार्कीको पछिल्लो भनाई रहेको थिङ् बताउँछन् । शिक्षितहरूको उदयले लास्ट बेन्चरमा निम्तिएको त्रासको रुपमा यसलाई लिन मिल्ने उनको भनाई छ ।

“‘पढ्नेहरू पागल हुन्छन्’ भन्ने मनोविज्ञान विकास गराउन खोजिएको छ, केपी ओलीकै भनाई छ– पिचएडीको अर्थ छैन”, उनले भनेका छन्, “एकातिर आफूले पढ्न नसकेको कुण्ठा व्यक्त गरिरहेका छन् भने अर्कोतिर शिक्षितहरूले राजनीतिमा हस्तक्षेप गर्ने भए भन्ने त्रासले पढेलेखेका मानिसका विरुद्ध यस्ता अभिव्यक्ति दिइरहेका हुन्छन् ।”

ओली र कार्की जस्ताका अभिव्यक्तिले समाजलाई अराजकतातर्फ लैजाने चिन्ता विज्ञहरुको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट