नेपालको गाउँ मात्रै नक्कल गरिएन प्रहरीको लोगो पनि दुरुपयोग गरियो-Sutra News

नेपालको गाउँ मात्रै नक्कल गरिएन प्रहरीको लोगो पनि दुरुपयोग गरियो

मंगलबार, ९ माघ २०८०

मंगलबार, ९ माघ २०८०

काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियास्थित वालहल्ला भन्ने ठाउँमा नेपालको जस्तै गाउँ बनेको छ । जहाँ भूगोल मात्रै होइन, घर र गाडीसम्म पनि नेपालकै जस्तो बनाइएको छ ।



यो ‘नक्कली नेपाल’को गाउँ हलिउड फिल्म ‘आइस रोड २’को छायांकन गर्न बनाइएको सेट हो । जहाँ अहिले फिल्मको छायांकन भइरहेको छ ।

कथावस्तु नेपाल र नेपाली परिवेशसँग जोडिएको कारण नेपालकै जस्तो नक्कली भूगोल र घरहरुको सेट बनाएर सुटिङ गरिएको हो । जसका तस्बिरहरु अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेका छन् ।

जनाइअनुसार फिल्मको मुख्य कथावस्तु कोदारी (अरनिको) राजमार्ग र बाह्रबिसे आसपास क्षेत्रको रहेको छ । जसअनुसार नै भूगोल तथा घरहरुको सेट निर्माण गरिएको हो ।

तर, यसलाई बिडम्बना नै मान्नुपर्छ । एकातिर नेपाल हुँदाहुँदै अष्ट्रेलियामै नक्कली नेपाल खडा गरेर सुटिङ्ग गरिएको छ भने अर्कोतिर नेपालको पहिचानमाथि खेलबाड गरिएको छ । सबैभन्दा गहिरो विषय नेपालको कानुनलाई फिल्म निर्माणका क्रममा छेडखानी गरिएको छ ।

फिल्म सुटिङ्गका सार्वजनिक तस्बिरमा नेपालका जस्तै गाउँ, नेपालका जस्तै घर, नेपालका जस्तै गाडी मात्रै होइन, कर्मचारी र प्रहरीलाई पनि देखाइएको छ । फिल्ममा नेपाल प्रहरीको लोगो र पोशाकको प्रयोग गरिएको छ । तर, जसको कुनै स्वीकृति वा जानकारी भने नेपाल प्रहरीसँग नलिएको बुझिएको छ ।

विषय विवादमा आएपछि सोधिखोजी गर्दै प्रहरी

नेपाल प्रहरीका प्रवक्ता भिमप्रसाद ढकालका अनुसार प्रहरीसँग सम्बन्धित फिल्म, डकुमेन्ट्री वा कुनै पनि भिडियो बनाउँदा पूर्वस्वीकृति लिनुपर्ने प्रावधान छ । साथै, प्रयोजन पनि स्पष्टरूपमा खुलाउनुपर्ने व्यवस्था छ । तर, ढकालले जनाएअनुसार चर्चामा आएको ‘आइस रोड २’को फिल्म निर्माण पक्षले त्यस्तो कुनै पूर्वस्वीकृति लिएको छैन ।

“केही तस्बिरहरु सार्वजनिक भएका छन्, जसमा प्रहरीको लोगो र पोशाक प्रयोग भएको देखिन्छ”, ढकालले भनेका छन्, “हामी सोधिखोजी गर्दैछौं ।”

लोगो र पोशाक दुरुपयोग भएको प्रष्ट भएमा फिल्म निर्माण पक्षलाई कानुनी दायरामा ल्याउने उनले बताए । “विदेशमा नेपाल प्रहरीको लोगो र पोशाक दुरुपयोग भएको घटना यो पहिलो हो, यदि यो स्पष्ट भयो भने हामीले उपचार खोज्छौं”, उनले भनेका छन्, “दूतावासमार्फत फिल्म निर्माण पक्षलाई दायरालाई ल्याउँछौं । यो गर्न पाइँदैन ।”

कारबाही गर्न जटिल

नेपाली कलाकारहरुले पनि प्रहरीको लोगो तथा पोशाक पूर्वजानकारी नदिइ प्रयोग गरेका थुप्रै घटना छन् । जहाँ प्रहरीको व्यवसायीक मर्यादामाथि नै प्रश्न उठाउने काम पनि भएको छ ।

पछिल्लो समय प्रकाश सपुतको गीत ‘जाले रुमाल फाट्यो’ प्रहरीको पोशाकको दुरुपयोगले चर्चामा आएको थियो । जुन घटनापछि प्रहरी प्रधान कार्यालयले विज्ञप्ति नै जारी गर्दै पूर्वस्वीकृति वा जानकारी नदिइ प्रयोग गरिए कारबाही गर्ने चेतावनी दिएको थियो ।

“पूर्व स्वीकृति नलिई वा स्वीकृत प्रयोजन तथा स्क्रिप्ट अनुसारबाहेक अन्य कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोशाक र त्यसमा प्रयोग हुने दर्ज्यानी चिह्न तथा प्रहरीको मोनोग्राम प्रयोग गराउन हुन स्पष्ट पार्दछौं”, विज्ञप्तिमा भनिएको छ, “यस किसिमका कुनै पनि कार्य भए गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही हुने व्यवहोरा समेत सर्वसाधारण सबैको जानकारीका लागि अनुरोध छ ।”

नेपालभित्रै भइरहेको दुरुपयोगलाई रोक्न नसकिरहेको अवस्थामा बाह्यरुपमा भएका घटनामा हस्तक्षेप गर्ने विषय सहज नभएको कानुनका जानकार बताउँछन् । यद्यपि, पछिल्लो घटनाबाट नयाँ सिकाइको पाठ भने भएको जानकारहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट