टिकटक चलाउन भीपीएनको ‘चाेर बाटाे’ कति सुरक्षित ?-Sutra News

टिकटक चलाउन भीपीएनको ‘चाेर बाटाे’ कति सुरक्षित ?

आइतबार, ३ मंसिर २०८०

आइतबार, ३ मंसिर २०८०

सरकारले नेपालको इन्टरनेटमा टिकटक बन्द गरेसँगै कैयौँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भीपीएन प्रयोग गरेर टिकटक चलाउन सकिने अनुभव सुनाइरहेका छन्। सरकारको निर्णयप्रति असन्तुष्ट केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त भीपीएनको चोर बाटो प्रयोग गर्दै टिकटक चलाएर चुनौती दिने घोषणा समेत गरे।



इन्टरनेट सेवा प्रदायकहरूले बन्द गरे पनि कतिपयले नेपालबाटै टिकटकमा नयाँ भिडिओहरू अप्लोड गरिरहेको हुनाले नेपालमा भीपीएनको प्रयोगबाट गरेर टिकटक चलाएको अनुमान लगाउन सकिने जानकारहरू बताउँछन्।

भीपीएन के हो ?

भर्चूअल प्राइभेट नेटवर्क अर्थात् भीपीएन विशेषतः हामीले प्रयोग गर्ने उपकरण र अन्य कम्युटरबीच इन्टरनेटको सुरक्षित सञ्जाल स्थापित गर्ने प्रविधि हो। साधरणतया हामी अनलाइन हुँदा हामीले प्रयोग गरिरहेको उपकरणबाट इन्टरनेट सेवा प्रदायकको माध्यम हुँदै हामी व्यापक इन्टरनेटको सञ्जालमा जोडिन्छौँ।

भीपीएनले हामीलाई अर्को एउटा कम्प्युटरमार्फत् इन्टरनेटको सञ्जालमा जोडिदिन्छ। त्यसो गर्दा हाम्रो परिचय गोप्य रहन्छ। धेरैजसो भीपीएन कार्यालयमा मात्रै प्रयोग गर्न मिल्ने गरी बनाइएका एप्लिकेशन हुन्। ती अहिले व्यक्तिगत रूपमा पनि प्रयोग हुने गरेका छन्।

तर केही मानिसहरू इन्टरनेटको प्रयोगमा सरकारले लगाएको सेन्सरशिप वा प्रतिबन्ध छल्नका लागि पनि भीपीएन प्रयोग गर्छन्। सरकारी प्रतिबन्ध छल्न भीपीएनले हाम्रो गतिविधि अर्को देशमा रहेको कम्प्युटर प्रणालीमार्फत् देखाइदिन्छन्।

विशेष गरी अनलाइनमा चलचित्र हेर्न तथा विभिन्न एप प्रयोग गर्न धेरैले भीपीएन प्रयोग गर्ने गरेको बताइन्छ। चीनमा पनि भीपीएनको प्रयोग भएको पाइन्छ। भीपीएनका पनि फरकफरक प्रकृति हुन्छन्। कुनैले डीएनएस (डोमेन नेम सिस्टम) परिवर्तन गरिदिन्छन् भने कुनै भीपीएनले प्रोक्सी सर्भर प्रयोग गर्छन्।

‘आकार अनिल’ उपनामले परिचित सूचनाप्रविधिको विषयमा विज्ञता राख्ने ब्लगर अनिलप्रसाद घिमिरे धेरै देशमा भीपीएनको प्रयोग साधारण भएको बताउँछन्। “भीपीएनको प्रयोग एकदमै साधारण कुरा हो। साइबर सुरक्षासम्बन्धी सचेत कतिपय मानिसहरूले सार्वजनिक वाइफाइमा आफ्नो उपकरण चलाउन पनि भीपीएनको प्रयोग गर्छन्,” उनले भने।

के भीपीएन सुरक्षित छ ?

कम्प्युटर असोसिएशन अफ नेपाल ‘क्यान फेडेरेसन’का महासचिव तथा साइबर सुरक्षाविज्ञ चिरञ्जीवी अधिकारी साधारणतया भीपीएन सुरक्षित नभए पनि यसलाई सुरक्षित बनाएर प्रयोग गर्न सकिने बताउँछन्।

उनका अनुसार सित्तैमा प्रयोग गर्न मिल्नेको तुलनामा पैसा तिरेर प्रयोग गर्न मिल्ने भीपीएनहरू सुरक्षित हुन्छन्।

“सबै भीपीएन सुरक्षित हुँदैनन्। प्रिमिअम भीपीएन जुन पैसा तिरेर मात्रै चलाउन मिल्ने हुन्छ ती केही सुरक्षित हुन्छन्। तर सित्तैमा पाइने भीपीएनबाट सित्तैमा भाइरस पनि डाउनलोड हुन्छ। उनीहरूले आय गर्ने बाटोका लागि एक्सटेन्शनहरू वा निश्चित सूचनाहरू एपले लिने गरी बनाएको हुन्छ,” उनले भने।

“यसलाई सुरक्षित रूपमा चलाउन पनि मिल्छ। जति हामीले यसबाट फेसबुकहरू चलाइरहेको देख्छौँ त्यो सुरक्षित तरिका चाहिँ होइन,” अधिकारीले भने।

“यसमा अरू माल्वेअरहरू आएर हाम्रो डिभाइसमा भएका अन्य सोशल मिडियाहरूलाई असुरक्षित बनाउने जोखिम हुन्छ।”

ब्लगर आकार अनिल पनि पैसा नतिरी प्रयोग गर्न मिल्ने भीपीएन एपबारे सचेत रहनुपर्ने बताउँछन्। “कुन र कस्तो भीपीएन प्रयोग गर्ने भन्ने कुरा बुझेर मात्रै प्रयोग गर्नुपर्छ। सित्तैमा पाइने धेरैजसो भीपीएनमा घातक सफ्टवेअरको जोखिम हुन्छ,” उनले भने।

भीपीएन प्रयोग गर्दा कस्तो जोखिम ?

जानकारहरूका अनुसार कतिपय भीपीएनहरूले विभिन्न माध्यमबाट हाम्रो उपकरणमा स्पाइवेअर, माल्वेअरहरूलाई बाटो दिन सक्छन्। त्यसो हुँदा हाम्रो उपकरणमा भएका अन्य विवरण जोखिममा पर्न सक्छन्।

विशेष गरी भरपर्दो नमानिने भीपीएन प्रयोग गरिएका उपकरणमा रहेका अन्य सामाजिक सञ्जालका खाताहरू र ब्याङ्किङ सूचनाहरू चोरीको जोखिम हुने जानकारहरू बताउँछन्।

“हाम्रोमा टिकटक बन्द भयो भन्नेबित्तिकै अब ह्याकरहरूलाई भीपीएनको प्रयोग गरेर टिकटक चलाइरहेका हुन्छन् भन्ने थाहा भइसक्यो,” अधिकारी भन्छन्, “अब उनीहरूले इन्क्रिप्ट गरेर विभिन्न माध्यमबाट माल्वेअरहरू पठाउँछन् र त्यसलाई क्लिक गर्नेबित्तिकै हाम्रोबाट सूचनाहरू चोरी हुन्छ।”

“कतिपय कुरामा ‘प्यासिभ अट्याक’ हुन्छ। त्यो भनेको सूचनाहरू चोरी भइरहन्छ र पछि एकैचोटि आक्रमण हुन्छ। कतिपय चाहिँ ‘एक्टिभ अट्याक’ हुन्छ। त्यो भनेको टिकटक चलाइरहेको समयमा कम्युनिटी गाइडलाइन्स भएन भन्ने खालका सन्देश पठाएर फेरि भेरिफिकेशन गर्न भनेर आउँछ र त्यसले हाम्रो अकाउन्ट ह्याक गरिदिन्छ।”

कसैले फेसबुकमा भीपीएन प्रयोग गर्न सुझाव दिएका आधारमा मात्रै आफैँसँग यसबारे राम्रो ज्ञान नभई प्रयोग गर्नु थप जोखिमपूर्ण हुने जानकारहरू बताउँछन्।

“भाइरसहरू र मलिशस कोडहरू त एकदमै फैलिन्छन्। तपाईँले क्लिक गर्नुभयो भने तपाईँका साथीहरूलाई पनि पुग्न सक्छ र तपाईँलाई विश्वास गरेर उनीहरूले त्यो क्लिक गरेर अझै फैलाउँछन् र ह्याक हुने जोखिम हुन्छ,” अधिकारी भन्छन्। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट