शुक्रबारदेखि ‘दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०’ हुने-Sutra News

शुक्रबारदेखि ‘दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०’ हुने

सोमबार, २२ असोज २०८०

सोमबार, २२ असोज २०८०

काठमाडौं । आगामी शुक्रबारदेखि राजधानीमा आयोजना हुने ‘दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०’ को तयारी पूरा भएको छ । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अन्तर्राष्ट्रिय स्तरको ‘दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०’ असोज २६ गते देखि २९ गतेसम्म सञ्चालन गर्दैछ ।



एक्स्पोमार्फत् स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादनको प्रवद्र्धन गर्ने र यस्ता उत्पादनलाई प्रदर्शनी मार्फत् परिचित गराई विश्व बजारमा पहुँच गराई निर्यातमा सघाउने मुख्य उद्देश्य रहेको आयोजक पक्षले जनाएको छ । नेपाली मौलिक उत्पादनको निर्यातलाई बढाई आर्थिक समृद्धि गराउने मुख्य उद्देश्य रहेको एक्स्पोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, विभिन्न प्रदेशका मौलिक परिकार तथा अन्य सामग्री रहने एक्स्पोका संयोजक कपिल अधिकारीले बताए ।

यसैगरी राउटे तथा चेपाङ समुदायले बनाएका काठका सामग्री, तेह्रथुमको ढाका, संखुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका श्रंगारको सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायतका सामग्रीमा पनि उपभोक्ताको आकर्षण देखिने अपेक्षा लिएको संयोजक अधिकारीले बताए ।

इन्टरनेशनल एक्स्पोमा पाँच सय जना भन्दा बढी विदेशी क्रेताहरु (अमेरिका, क्यानडा, युरोप, चीन, भारतलगायत अन्य देशहरुबाट) को आगमन हुने भएको छ । यस्तै प्रदर्शनीमा सहभागी अवलोकनकर्ताहरुलाई डिजिटल कारोबारमा अभ्यस्त बनाउन विशेष प्याकेज ल्याइएको छ । निःशुल्क रजिष्ट्रेशन गरी प्रदर्शनीस्थलमा प्रवेश गर्ने अवलोकनकर्तालाई एक सय रुपियाँको अनलाइन गिफ्ट भौचार उपलब्ध गराइने भएको छ ।

सो भौचारमार्फत् अवलोकनकर्ताले इन्टरनेशनल एक्स्पोस्थलमा रहेका स्टलहरुमा सामान तथा वस्तु खरिदका लागि प्रयोग गर्न सक्ने हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीका संयोजक अधिकारीले बताए ।

विश्वका विभिन्न देशहरुबाट क्रेताहरु भित्र्याउने र बढीभन्दा बढी नेपाली व्यापारीलाई विदेशी व्यापारीहरुसँग सम्बन्ध विस्तार गराई निर्यात बढाई आर्थिक समृद्धि साथै पर्यटन विकास र प्रवद्र्धन गर्ने यो प्रदर्शनीको प्राथमिकता रहेको आयोजक पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट