‘गदर–२’ले कमायो लागतभन्दा सात गुणा बढी, अहिलेसम्मको कलेक्सन कति ?-Sutra News

‘गदर–२’ले कमायो लागतभन्दा सात गुणा बढी, अहिलेसम्मको कलेक्सन कति ?

बिहिबार, ७ भाद्र २०८०

बिहिबार, ७ भाद्र २०८०

काठमाडौं । हिन्दी फिल्म गदर–२ ले यतिबेला कमाईको कीर्तिमान बनाइरहेको छ । फिल्मले दुई सातामै भारतीय रुपैयाँ चार सय करोडभन्दा बढी कलेक्सन गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।



छोटो समयमा निकै ठूलो दरमा आम्दानी गरेको गदर–२ को लागत बजेट भने निकै न्यून छ । फिल्मका निर्देशक अनिल शर्माले बताएअनुसार गदर–२ बनाउन जम्मा ६० करोड भारतीय रुपैयाँ खर्च भएको थियो । सोहीअनुसार चलचित्रले लागतभन्दा सात गुणा बढी आम्दानी गरेको छ ।

अनिल शर्माले बताएअनुसार गदर–२ ले यति धेरै आम्दानी गर्छ भन्ने कुरा निर्माता समूहलाई पनि लागेको थिएन । फिल्म निर्माणका लागि फाइनान्सले पनि सहयोग गर्न हिचकिचाएको उनले बताएका छन् ।
“सबैले फिल्मलाई हल्का रुपमा लिए, जसका कारण फिल्म बनाउन पनि सहयोग पाएनौ, आजको जमानामा जहाँ ६०० करोडमा फिल्म बन्छन्, हामीले यो फिल्म ६० करोडमा बनायौँ”, उनले भनेका छन् ।

अनिलले नाम नलिई यहाँ आदिपुरुषको उल्लेख गरे जसको बजेट ६०० करोड थियो तर, फिल्मले खास केही देखाउन सकेन ।

भिएफएक्स नै बिना बन्यो फिल्म

अनिल शर्माले सिमित बजेटका कारण फिल्ममा भिएफएक्स प्रयोग नगरेको बताएका छन् ।

“हामीले सबै स्टन्टहरू वास्तविक राख्यौं, रियल लोकेशनमा सुटिङ पनि गरिएको थियो, आजकल मानिसहरू भिएफएक्समा धेरै पैसा खर्च गर्छन्, अभिनेता र निर्देशकहरूको लागि यो धेरै सुविधाजनक हुन्छ”, उनले भनेका छन्, “तर, हामीले व्यावहारिक रूपमा कम बजेटमा सबै काम गर्‍यौं।”

सन्नी देओलले पाए १५ करोड

गदर–२ मा काम गरेबापत सनी देओलले १५ करोड भारतीय रुपैयाँ पाएका छन् । गदर–२ को निर्माणसँग जोडिएका केही व्यक्तिका अनुसार सनी देओलले शुल्क लिएर यसअघि नै छाडेका थिए ।

फिल्म बनाउनुअघि नै उनलाई बजार शुल्क दिइएको थियो । अब गदर–२ को ब्लकबस्टर सफलतापछि सन्नीले आफ्नो पारिश्रमिक ८० प्रतिशत बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट