युवा राष्ट्र निर्माणको प्रमुख स्रोत : प्रधानमन्त्री दाहाल-Sutra News

युवा राष्ट्र निर्माणको प्रमुख स्रोत : प्रधानमन्त्री दाहाल

शनिबार, २७ साउन २०८०

शनिबार, २७ साउन २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति भएको बताएका छन् । राष्ट्रिय युवा परिषद्ले २४औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले भिडियोमार्फत सम्बोधन गर्दै युवा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति रहेको बताए ।



साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण युवा वर्ग प्रमुख धरोहरका रुपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले युवालाई राष्ट्र निर्माणको प्रमुख स्रोतसमेत मान्न सकिने बताए ।

उनले गुणात्मक र सङ्ख्यात्मक दुवै दृष्टिले युवा राष्ट्रका मेरुदण्ड भएकाले युवाको सर्वाङ्गीण विकास गरी उनीहरुको क्षमतालाई राष्ट्रिय विकासको मूल धारमा ल्याउन सरकारले राष्ट्रिय युवा नीति, २०७२ जारी गरी लागू गरिसकेको बताए ।

पछिल्लो पटक युवामा राजनीतिप्रति चासो बढ्दै गएको उनको भनाइ थियो । राष्ट्रिय युवा परिषद्ले राजनीतिमा युवा आकर्षणका साथै उत्पादन, रोजगारी र श्रमशीलता तथा आत्मनिर्भरका क्षेत्रमा समेत महत्वपूर्ण पहल लिइ बढ्दो पलायन रोक्न ठोस पहल गर्ने प्रधानमन्त्री दाहालले बताए ।

परिवर्तनको संवाहक मानिने युवा भविष्यको मार्गचित्रसमेत भएको भन्दै उनले समुन्नत राष्ट्र निर्माणमा युवा समूहको अतुलनीय योगदान रहेको बताए । यस वर्षको युवा दिवसले दिगो विकासप्रति सचेत रहन युवालाई थप जिम्मेवारी सुम्पेको बताए । दिवसले युवामा रहेको क्षमता उजागरण गर्ने मौका प्रदान गर्दै दिगो विकासको लक्ष्य सार्थक बनाउन तथा अगाडि बढ्न उत्पे्ररित गर्ने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट