सासू–बुहारी अन्तरक्रियालाई पनि बजेट, किन छुट्याइयो त बजेट?-Sutra News

सासू–बुहारी अन्तरक्रियालाई पनि बजेट, किन छुट्याइयो त बजेट?

बुधबार, १३ असार २०८०

बुधबार, १३ असार २०८०

सिन्धुलीको सुनकोशी गाउँपालिकाले सासू–बुहारी अन्तरक्रिया कार्यक्रमका लागि एक लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।



गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०-८१ मा सो कार्यक्रमका लागि बजेट छुट्याएको हो ।

समाजमा सासू र बुहारीलाई हेर्ने गलत दृष्टिकोणमा परिर्वतन ल्याउन उक्त कार्यक्रम राखिएको गापा उपाध्यक्ष कपिलकुमार कोइरालाले बताए ।
उनले भने, ‘सासू र बुहारीलाई एकै ठाउँमा राखेर एकअर्काको भावना र कर्तव्य बुझाउन समन्वयकारी भूमिका निर्वाह गरेमा सामाजिक र पारिवारिक सम्बन्ध कायम गर्न सहयोग पुग्ने कार्यक्रमको उद्देश्य छ।’

‘सासू कहिले आमा हुन सक्दैनन् र बुहारी छोरी हुन सक्दैनन्’ भन्ने भनाइलाई गलत साबित गर्न यस कार्यक्रमले सहयोग पुग्ने उनको भनाइ छ ।

सासू र बुहारीको सम्बन्धलाई समाजमा कहिले पनि नमिल्ने वा सधैँभरि मिलेर बस्न नसक्ने सम्बन्धका रुपमा लिने गरिएकाले यसलाई चिर्न आवश्यक रहेको उनले बताए।

यस्तै, फिक्कल गाउँपालिकाले पारिवारिक मेलमिलाप र घरेलु हिंसा अन्त्य गर्ने उद्देश्यले सासू–बुहारी सम्मान कार्यक्रम राखेको छ ।

गाउँपालिकाको चालु आर्थिक वर्षको वार्षिक कार्यक्रमअन्तर्गत छ वडाका छ जोडी सासू–बुहारीलाई सम्मान गरिएको गाउँपालिकाका उपाध्यक्ष राजु बरालले जानकारी दिए।

यस कार्यक्रमको उद्देश्य गाउँघरमा सासू–बुहारीको सम्बन्धलाई नकारात्मक दृष्टिले हेर्ने परिपाटीलाई न्यूनीकरण गर्ने रहेको उहाँको धारणा छ ।

गाउँपालिकाभित्र रहेका उदाहरणीय सासू र बुहारीलाई सम्मान गर्ने कार्यक्रमलाई आगामी आवहरुमा पनि निरन्तरता दिइने उनले बताए ।

सासूले बुहारीलाई छोरी र बुहारीले सासूलाई आमाको व्यवहार गर्नुपर्नेमा गाउँपालिकाको जोड छ । यसले घरेलु हिंसा न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट