पैसा छुँदा पाप लाग्छ भन्ने राउटे समुदाय पैसा र मदिराकै कारण मासिँदै-Sutra News

पैसा छुँदा पाप लाग्छ भन्ने राउटे समुदाय पैसा र मदिराकै कारण मासिँदै

सोमबार, ११ असार २०८०

सोमबार, ११ असार २०८०

दक्षिण एसियाका लगभग अन्तिम घुमन्ते जातिमध्ये एक हो राउटे समुदाय । जंगलमा घुम्दै फिर्दै घुमन्ते जीवन बिताउने यो समुदायको छुट्टै संसार थियो । बाँदरको सिकार, कन्दमूललगायत जंगलमै उत्पादन हुने फलफूल खाएर जीविकोपार्जन गर्थे । जंगलमै भए पनि उनीहरू खुसी थिए । लोभ लालच गर्दैनथे। घुमन्ते आदिवासी जनजातिको अन्तिम र एकमात्र बचेको समुदाय राउटे समुदायको अलग्गै पहिचान थियो। आफ्नै राजा, आफ्नै सरकारको नीति नियमभित्र बाँच्थे।



जंगलमा काठका भाँडाकुँडा उत्पादन गरेर नजिकका गाउँमा अन्नसँग साट्दै उनीहरू आत्मनिर्भर बन्थे । आफ्नै चालचलन रीतिथिति र बोलीमा तटस्थ थिए।

यो समुदाय कर्णाली र सुदूरपश्चिम र लुम्बिनी प्रदेश आसपासका जंगलमा फिरन्ते जीवन बिताउँदै आफ्नो दैनिकी गुजार्दै आएको समुदाय हो । दक्षिण एसियाका लगभग अन्तिम घुमन्ते जातिको रूपमा रहेको राउटे समुदाय पछिल्लो समय संकटमा छ । जंगलको सुनसान सुन्दर र स्वच्छ वातावरणमा हुर्किएको यो समुदाय लोभ लालचमा फसेको छ । सरकारले गरेको पहल र नागरिकको बढ्दो चेतनाले गर्दा उनीहरू समाजको निकट हुन थालेका छन् । समाजसँग साइनो लगाउँदै नजिक फिर्दै गर्दा उनीहरूको जीवनमा सकारात्मक परिवर्तनभन्दा बढी नकारात्मक हाबी भयो ।

समाजको नजिक सर्दा उनीहरूको घरधुरी र पारिवारिक संख्या समाजका अन्य आम मान्छेजस्तै बढ्ने ठाउँमा घट्दै गइरहेको छ । २०६८ को जनगणना तथ्यांकअनुसार नेपालमा जम्मा ६१८ जना संख्यामा राउटेको बसोबास थियो भने विसं २०७८ को जनगणनाअनुसार हाल यो समुदायमा कूल ४६ घरधुरी छन् । राउटेहरूको संख्या १४३ मा खुम्चिएको छ।

विगतमा स्वास्थ्यका हिसाबले बलिया र फुर्तिला देखिने राउटे पछिल्लो समय कमजोर र रोगी बन्दै गइरहेका छन्। उबेलाका हट्टाकट्टा बलिया राउटे पैसा र मदिराको लतले दिनहुँ कमजोर हुन थालेका छन्।

भत्ता पाएपछि परनिर्भर बने राउटे

आफ्नै राजा, आफ्नै सरकारको नीति नियमभित्र बाँच्ने राउटे समुदाय जंगलको राजा हो । यो समुदायका नागरिकले गरेको दुःख देखेर उनीहरूको जीविकोपार्जनमा टेवा पुर्‍याउन र जंगल फडानी रोक्न सरकारले भत्ता वितरण सुरु गरेको थियो। तर त्यही भत्ता उनीहरूकै लागि अभिशाप भएको छ।

जंगल फडानी रोक्न र उनीहरूको जीविकोपार्जन सहज बनाउन सुरुमा ५०० रुपैयाँ भत्ता दिइएको राउटेका महामुखिया महिनबहादुर शाही बताउँछन्। ‘सहरको सरकारले राम्रो गरेको छ। नराम्रो गर्या छैन। हामुरको लागि मैनामैनामा भत्ता पठायाउँछ,’ शाही भन्छन्, ‘कति गुण मान्याउँछ, कति राम्रो मान्याउँछ। हामीलाई धेरैधेरै काम पनि गर्नुपर्दैन भन्या छ।’

आफूहरू जहाँ गए पनि त्यहीँ सहरको सरकार भत्ता लिएर आउँदा आफूहरूलाई खुसी लागेको उनको भनाइ छ।

सरकारले आर्थिक वर्ष २०६४/०६५ सालदेखि एक जना बराबर मासिक ५०० रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको थियो। त्यसकै एक वर्षपछि पाँच सयबाट वृद्धि भएर एक हजार गरायो। आव २०७५/७६ मा वृद्धि भएर दुई हजार पुगेको थियो भने २०७६ सालबाट ३ हजार र ७७ बाट वृद्धि भएर चार हजार भत्ता पुगेको राउटे समुदायमा जोडी शिक्षकका रूपमा २०७५ बाट सोसेकबाट खटिएका लालबहादुर खत्रीले बताए।

पहिले–पहिले नयाँ मान्छेलाई आफ्नो बसोबास क्षेत्रभित्र छिर्नै नदिने राउटे समुदाय अचेल फेरिएका छन् । कुनै समय पैसा छुँदा पाप लाग्ने मान्यतामा बाँचेका उनीहरू अचेल हिँड्दा हिँड्दै पैसा माग्ने अवस्थामा पुगेका छन् ।

राउटे समुदायमा पहिले बाहिरी मान्छे नजाँदा जाँडरक्सीलगायत कुलतबारे थाहै नपाएको तर, पछिल्लो समय समाजको नजिक बस्दा र सहरका मान्छे जान थालेपछि राउटे समुदायमा मदिराको लतले सिंगो समुदाय नै बिग्रँदै गएको महामुखिया शाही बताउँछन् । ‘हाम्रो समुदायका मान्छेले यसरी खाँदैन थियौँ,’ उनले भने, ‘पहिले हामी जहाँ बस्यौँ त्यहीको समाजले र जनताले सिकायो । खत्तम हुन्छ भनेनन् । सहर र गाउँले पहिले खान सिकायो। ‘खान सिकियापछि त खाइयो । अहिले छोड्न मुस्किल भएको छ । पैसा नहुँदा छटपटी हुन्छ । पैसो आयो भने खान मन लागिहाल्छ । त्यसले गर्दा पनि हाम्रो समुदायमा ठूलो असर गरेको छ।’

मदिराकै कारण जन्मदर घट्दो मृत्युदर बढ्दो

२०७२ सालमा राउटे युवा कपिल शाही जलेर सख्त घाइते भए । उनलाई काठमाडौंसम्म पुर्‍याएर उपचार गरिएको थियो। तर, आगोले पोलिएको घाउ निको भएन । घाउको दुखाइ कम गर्न उनले मदिराको सहारा लिए । अत्यधिक मदिरा सेवनले उनको ज्यान गयो ।

गत मंगलबार मात्र अत्यधिक मदिरा सेवन गरेर आगो नजिकै सुतेका राउटे युवा नारायण शाही गम्भीर घाइते छन् । कर्णाली प्रदेश अस्पतालमा उपचार हुन नसकेपछि उपचारका लागि काठमाडौं लगिएको उनको शरीरको ३० प्रतिशत भाग जलेको छ।

मदिराको अत्यधिक सेवनका कारण ज्यान गुमाउने समुदायका अर्का युवा छन् , शिवराज शाही । बजारमा पाइने लिचीजस्ता मदिराको लतमा फसेका शिवराजले २०७८ वैशाखमा ज्यान गुमाएका थिए । पछिल्लो पाँच वर्षमा राउटे समुदायका २९ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा १९ जना बालबालिका र १० जना वयस्क उमेरका छन्। त्यसमध्ये धेरैजसो वयस्क उमेरका राउटे नागरिक मदिरा सेवनका कारण मृत्यु भोगेका छन्।

राउटे समुदायमा पछिल्लो पाँच वर्षयता २६ जना शिशु जन्मिएका छन् । समुदायमा सोसेक नेपालले सञ्चालन गरेको राउटे परियोजनाले उपलब्ध गराएको तथ्यांकमा अनुसार २०७५ साउनदेखि २०७८ मंसिरसम्म २६ जना शिशु जन्मिएका छन्। त्यसयता समुदायमा शिशु जन्मिएका छैनन् । पाँच वर्षको अवधिमा जन्मिएका २६ शिशुमध्ये १४ जनाले ज्यान गुमाइसकेका छन्। यसले राउटे समुदायमा बाल मृत्युदर ५० प्रतिशतभन्दा बढी देखाउँछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट