लम्पी स्किनबाट ७३ जिल्लामा साढे नौ हजार पशु मरे-Sutra News

लम्पी स्किनबाट ७३ जिल्लामा साढे नौ हजार पशु मरे

बुधबार, ३१ जेष्ठ २०८०

बुधबार, ३१ जेष्ठ २०८०

गर्मी याम सुरु भएलगत्तै मुलुकभर गाई भैँसीमा लम्पी स्किन रोगको प्रकोप व्यापक रूपमा फैलिएको छ ।



चालु आर्थिक वर्षमा गत माघ महिनामा पहिलो पटक झापामा देखा परेको यस रोगको प्रकोपबाट हालसम्म नौ हजार ४१० गाई, गोरु र भैँसी मरेका छन् । यसैगरी, हालसम्म तीन लाख ५५ हजार ६९८ पशु सङ्क्रमित भएका छन् । हाल यस रोगको प्रकोप देशभर ७३ जिल्ला फैलिएको छ ।

यसको प्रकोप अझै बढ्ने क्रममा रहेको कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले जनाएको छ । यसरी देशभर लम्पी स्किनको प्रकोप देखिए तापनि स्थानीय तह, जिल्ला तथा प्रदेशहरूबाट समयमै रोगको रिपोर्टिङ नहुँदा सङ्क्रमित पशुको सङ्ख्या र रोगबाट भएको क्षतिको विवरण यकिन गर्न कठिनाइ भएको छ । साथै रोगको नियन्त्रण तथा रोकथाममा थप समस्या थपिएको छ ।

विभागका वरिष्ठ पशु चिकित्सक डा मुकुल उपाध्यायका अनुसार लम्पी स्किन रोग पक्सभाइरिडिइ जातअन्तर्गतको क्याप्रिपक्स भाइरसका कारण पशुमा अत्यधिक सङ्क्रमण गराउने सीमाविहीन रोग हो । यस रोगले पशुको मृत्युका साथै दूध र मासु उत्पादनमा ह्रास ल्याउने, गर्भ तुहाउने, बाँझोपना सृजना गर्ने, छालाको गुणस्तर घटाउने गर्दछ ।

यो रोग भैँसीको तुलनामा विशेष गरी गाई, गोरु तथा बाच्छाबाच्छीमा अत्यधिक सङ्ख्यामा देखा परेको छ र यो रोगको फैलिने क्रम जारी छ । यो रोग विशेष गरी राजमार्ग तथा सहायक राजमार्गमा अवस्थित गाईबस्तु तथा खुल्ला चौरमा चरिचरन गर्ने गाईबस्तुमा बढी देखा परेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट