यो वर्ष कम वर्षा हुने सम्भावना, यी हुन् थोरै पानीमा उत्पादन हुने धानहरू ( सूचीसहित )-Sutra News

यो वर्ष कम वर्षा हुने सम्भावना, यी हुन् थोरै पानीमा उत्पादन हुने धानहरू ( सूचीसहित )

सोमबार, २९ जेष्ठ २०८०

सोमबार, २९ जेष्ठ २०८०

अहिले पात्रोमा हेर्ने हो भने ऋतु वर्षा हो । समय हेर्ने हो भने खेतीपाती गर्ने हो । अहिले धान रोप्नका लागि तयार भएको धानको ब्याडहरू हुनु पर्ने हो । तर अवस्था त्यस्तो छैन । पानी परेको छैन । गर्मी बढेर भनी नसक्नु भएको छ । लगभग नेपालका सबै जसो स्थानमा तापक्रम बढेर नयाँ रेकर्ड राखेको छ । गत साता पूर्वको धनकुटास्थित पाख्रीबास केन्द्रमा ५८.५ मिलिमिटर वर्षाको रेकर्ड भएको बाहेक अन्यत्र पानी परेको छैन । पानी नपर्दा तराई मधेशका धेरै क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुगेको छ नवलपरासी पूर्वको दुम्कौली केन्द्रमा सबैभन्दा बढी ४३.३ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो ।



खडेरीका कारण खेतबारीमा मकैका बोटहरू सुकेका छन् । मकैका बोटमा घोगा नलागी सुकेका कारण मकै खेतीको उब्जनी ह्वात्तै घटेको छ । धानको ब्याड राख्न नपाएर र ब्याड राखेको ठाउँमा पनि सुकेर धानखेतीले पनि अप्ठ्यारो भोग्नु पर्ने अनुमान गर्न थालिएको छ ।

आकाशे पानीको भर पर्ने ठाउँमा ब्याड राख्ने सम्भावना नै थिएन भने आधुनिक प्रविधिबाट पानी तानेर ब्याड राख्नेहरूले पनि कतिपय ठाउँमा ब्याडसम्म राख्न पाएनन् । कारण हो, पानीको स्रोतमा नै पानी छैन । पोखरीहरू सुकेका छन् । कुवाहरूमा पानी कम छ । कृषकहरूमा लागि पानी परोस् भन्ने चाहना तीव्र भएको छ ताकि पानी परेर अर्को महिनाबाट गरिने धानखेती राम्रो होस् ।

कतै पनि छोडेको छैन खडेरीले

केही स्थानहरूमा भएका स्थानीय पानीका स्रोतहरूले पानीको केही अभाव पुरा गरेको भए पनि र स्थानीय मौसमले छिटपुट वर्षा भए पनि समग्रमा नेपालभर नै खडेरी परेको छ ।

चुरे र महाभारत शृखंलाका धेरै ठाउँमा पानीको अभाव भएर किसानले ब्याड नै राख्न सकेका छैनन् । पानी नपरेका कारण राखिएका ब्याडहरू पनि सुकेका छन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का अनुसार पहाडको बेसी क्षेत्रमा राखिएको धानको ब्याड पनि सुकेको छ ।

बाली फेर्न सुझाव

अहिलेसम्मको अध्ययन हेर्दा यो वर्ष निकै कम पानी पर्ने सम्भावना देखिन्छ । मौसम पूर्वानुमान महाशाखाले यो वर्ष औसतमा ३५ देखि ५५ प्रतिशत कम पानी पर्ने अनुमान गरेको छ । महाशाखाका अनुसार मनसुनको सुरुमा राम्रै पानी पर्ला तर त्यसैलाई नियमित जस्तै मानेर रोपाइ गरियो भने धान खेती सुक्न सक्छ । त्यसैले सुख्खा याममा फल्ने धानका बीउहरू प्रयोग गर्दा उत्पादन केही हदसम्म राम्रो हुन सक्छ ।

यसका लागि कृषि अनुसन्धान परिषद् (नार्क) ले सिँचाइको राम्रो स्रोत नभएको ठाउँमा सुख्खा सहने धान रोप्न सुझाव दिएको छ । तराई, भित्री मधेश, तल्लो पहाडी बेँसीका सिञ्चित क्षेत्रको लागि बहुगुणी धान–१, बहुगुणी धान–२, हर्दिनाथ–३, हर्दिनाथ–४, हर्दिनाथ हाइब्रिड धान–१, हर्दिनाथ हाइब्रिड धान–३,मिथिला, रामपुर मन्सुली, सावित्री, राम धान सिफारिस गरेको छ ।

त्यस्तै सिँचाइको राम्रो सुविधा नभएको ठाउँमा सुख्खा धान–१, सुख्खा धान–२, सुख्खा धान–३, सुख्खा धान–४, सुख्खा धान–५, सुख्खा धान–६, तरहरा–१ र हर्दिनाथ–२ सिफारिस गरेको छ । डुबान र बाढीग्रस्त क्षेत्रका लागि नार्कले गंगासागर–१, गंगासागर–२, स्वर्ण सब–१ र सम्बा मन्सुली सब–१ धानको बिउ सिफारिस गरेको छ ।

मध्य पहाडी क्षेत्रका लागि खुमल–४, खुमल–८, खुमल–१०, खुमल–११, खुमल–१२, खुमल–१३, खुमल–१४, खुमल बासमती–१६ र छरुवा धानखेतीको लागि तराई तथा भित्री मधेशमा सुख्खा धान–१, सुख्खा धान–२, सुख्खा धान–३, तरहरा–१, हर्दिनाथ–२, घैया–२, राधा–४ र विन्देश्वरी धानको जात सिफारिस गरिएको छ ।

तर यति हुँदासम्म पनि संघीय सरकारलाई भने यस बारेमा खासै जानकारी भए जस्तो देखिँदैन । पानी नपर्ने, औसतमा नै उत्पादन घट्ने अनुमान भइरहँदा नेपाल सरकारले विशेष कार्यक्रमहरू जारी गरिसक्नु पर्ने हो तर अहिलेसम्म त्यस्तो विपद् व्यवस्थापनका लागि केही कार्यक्रमहरू तय भएका देखिएका छैनन् ।
भिडियोमा पनि हेर्नुस्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट