उपनिर्वाचन : बारा–२ मा चुनावी प्रचारप्रसार तीव्र-Sutra News

उपनिर्वाचन : बारा–२ मा चुनावी प्रचारप्रसार तीव्र

बिहिबार, ३० चैत्र २०७९

बिहिबार, ३० चैत्र २०७९

बारा, ३० चैत । बारा क्षेत्र नम्बर .२ मा आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा मतदाता आकर्षित गर्न उम्मेदवारसँगै पार्टीहरुले आफ्ना गतिविधि बढाएका छन् ।



टोल भेला, घरदैलो, क्षेत्रीय भेलासँगै उमेदवारहरु खेतखेतमा पुगरे मत माग्ने क्रम बढेको छ ।  दलहरुले निर्वाचनलाई पार्टीको प्रतिष्ठाको विषय बनाएको बारा क्षेत्र नं.२ अन्तर्गतको करैयामाई निवासी पूर्वजनप्रतिनिधि रामएकवाल चौधरीको भनाइ छ  ।

उनका अनुसार जनता समाजवादी पार्टी (जसपा), नेकपा एमाले, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र आम जनता पार्टीले क्षेत्र नं.२ मा चुनावी प्रचारलाई तीव्र पार्दै लगेका छन । यस पटकको चुनावमा दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाएको देखिन्छ ।

जनता समाजवादी पार्टीले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाएको छ । यसअघि गत मंसिरमा सम्पन्न निर्वाचनमा सोही पार्टीका रामसहायप्रसाद यादवले नेकपा एमालेको सहयोगमा यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका थिए । उनी उपराष्ट्रपती बनेपछि यहाँ उपचुनाव हुन लागेको हो ।

यसअघि जसपाल नै जितेकाले यसपटक जसपाकै उम्मेदवार यादवले सहजै चुनाव जित्ने अनुमान गरिएको छ । यादव सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् ।

यस क्षेत्रमा अर्को बलियो शक्ति मानिएको कांग्रेसले पनि उनलाई समर्थन गरेको छ । यस दृष्टिकोणबाट हेर्दा यादवको जित सुनिश्चित रहेको दाबी गरिएका छन् ।

एमालेले पूर्व युवा तथा खेलकुद मन्त्री पूरुषोत्त्म पौडेललाई मैदानमा उतारेको छ । एमाले पोलिटब्युरो सदस्य एवं मधेश प्रदेश सहईन्चाज पौडेलको यस क्षेत्रमा आफ्नै खालको क्रेज छ ।

२०४८ र २०५६ मा एमाले जितेको क्षेत्र भएकाले एमाले यहाँ बलियो नै मानिन्छ । पौडेललाई चुनावी अभियानलाई ऊर्जा दिन गएको २२ गते एमाले अध्यक्ष केपी शर्मा ओली बारा आएका थिए । ओलीको आगमनपछि यहाँको माहोल एमालेमय बन्दै गएको महागढीमाई नगरपालिका २ का सर्वजित पटेल दाबी गर्छन् ।

त्यसैगरी बारा क्षेत्र नम्बर ३ की सांसद ज्वालकुमारी साह, क्षेत्र नम्बर १ का सांसद अच्युत मैनाली र एमाले नेता रघुविर महासेठ लगायतका संघीय सांसदहरु पौडेल जिताउ अभियानमा यतिबेला सक्रिय बनेका छन् ।

यसैगरी नेकपा माओवादीका पूर्वनेता शिवचन्द्र कुशवाह हाल जनमत पार्टीका उम्मेदवार छन् । उनी पनि यस क्षेत्रका प्रभावशाली व्यक्तिका रुपमा परिचित छन् । गत मंसिरको निर्वाचनमा यस क्षेत्रमा २५४ मते रामसहायप्रसाद यादवसँग कुशवाहा पराजित भएका थिए । उनी यसपटक मंसिरको हारको बदला लिन चाहन्छन् । उनलाई कुनै हाललमा जिताउन जनमत पार्टीका अध्यक्ष सिके राउतसमेत क्षेत्रमै खट्दै आएका छन् ।

गत निर्वाचनमा स्वतन्त्र उमेदवार बनेर पराजित अरुण ज्ञवाली यसपटक  प्रभु साहको आम जनता पार्टीबाट उम्मेदवार बनेका छन् । उनको अभियानलाई स्वयंं प्रभु साहले अगुवाई गरिरहेका छन् ।

यस्तै राष्टिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले एकको बदला ३ भन्दै चुनावी माहोल बनाउँदै आएका छन् । रास्वपाले पूर्वडिआईजी रमेश खरेललाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट