चर्चामा कांग्रेस महाधिवेशन : सभापतिमै आधा दर्जन आकांक्षी, अझै छैन प्यानलको टुंगो-Sutra News

चर्चामा कांग्रेस महाधिवेशन : सभापतिमै आधा दर्जन आकांक्षी, अझै छैन प्यानलको टुंगो

मंगलबार, ७ मंसिर २०७८

मंगलबार, ७ मंसिर २०७८

यही मङ्सिर २७ देखि ३० गतेसम्म हुने नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा सभापतिसहितका पदाधिकारीमा धेरै आकांक्षी देखिएका छन् । तर आकांक्षीहरूको व्यवस्थापन कुन प्यानबाट कसरी हुन्छ भन्ने अहिलेसम्म गर्भकै विषय रहन गएको छ ।



संस्थापन पक्षबाट हालका सभापति शेरबहादुर देउवा नै सभापतिमा लड्ने मूडमा छन् । देउवालाई १३ औं महाधिवेशनमा साथ दिएका विमलेन्द्र निधिलेसमेत सभापतिमा उम्मेदवारी घोषणा गरेपछि देउवामाथि असहज परिस्थिति सिर्जना भएको छ ।

संस्थापनइतर पक्षबाट मात्रै ५ जना सभापतिका आकांक्षी देखिएका छन् । रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह, शशांक कोइराला र अर्का एक केन्द्रीय सदस्य कल्याण गुरुङले आफूलाई सभापतिको उम्मेदवार रहेको बताउने गरेका छन् ।

संस्थापन पक्षबाट देउवा र निधिले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेको भएपनि संस्थापनइतर पक्षबाट हालसम्म औपचारिक घोषणा भइसकेको छैन । औपचारिक घोषणा नगरिकनै प्रकाशमान सिंहले आफूलाई सभापतिको उम्मेदवार भएको दाबी गर्ने गरेका छन् । सभापतिको दौडमा कृष्ण सिटौलासमेत अघि देखिन्छन् ।

त्यस्तै महामन्त्रीमा विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेलले उम्मेद्वारी घोषणा गरिसकेका छन् । मिनेन्द्र रिजाल पनि महामन्त्रीका आकांक्षी हुन् ।

हाल सहमहामन्त्री रहेका प्रकाशशरण महत पनि महामन्त्रीका आकांक्षी देखिन्छन् । सभापतिमा संस्थापन र इतर दुवै समूहबाट एकभन्दा बढी आकांक्षी देखिएका छन् । आफ्नो समूहबाट दुवै पक्षले साझा उम्मेदवार घोषणा गर्न असफल भएका छन् ।

महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका अधिकांश नेताहरू कुन गुट या प्यानलबाट लड्छन् भन्ने सार्वजनिक भएको छैन । महामन्त्रीका लागि सर्वाधिक चर्चामा रहेका गगन थापा यसअघि सिटौला प्यानलबाट लडेका थिए । पछिल्लो समय उनी शेखर कोइरालासँग नजिकिएको स्रोतको दाबी रहेको छ ।

त्यस्तै विश्वप्रकाश शर्मा भने देउवा प्यानलबाटै महामन्त्री लड्ने पक्कापक्की भइसकेको बताइन्छ । उनी संस्थापन पक्षका नेता तथा प्रवक्तासमेत हुन् । उनलाई निधि प्यानलबाट महामन्त्री बन्न खोजेको आरोपसमेत लाग्ने गरेको छ ।

महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेका प्रदीप पौडेलको प्यानल अहिलेसम्म टुंगो लागेको छैन । त्यस्तै मिनेन्द्र रिजाल पनि संस्थापन इतर पक्षबाट महामन्त्री बन्ने चर्चा चलेको थियो । तर देउवाले उनलाई मन्त्री बनाएपछिको परिस्थिति भने भिन्न बन्दै गएको चर्चा कांग्रेसभित्र चल्ने गरेको छ ।

महामन्त्रीमा कांग्रेसका धनराज गुरुङलगायतका अन्य केही युवा नेताहरू पनि आकांक्षी देखिएका छन् । तर गूट र प्यानलको टुंगो नहुँदा कतिपयले आफ्नो उम्मेद्वारी घोषणा गरेका छैनन् भने कतिपयले सामाजिक सञ्जाल फेसबूकबाट पनि उम्मेदवारी घोषणा गर्ने गरेका छन् ।

सभापतिको उम्मेदवारीका लागि कोइराला परिवारमै ठाकठुक देखिएको छ । केही दिनअघि आफ्ना दाजु शेखर कोइरालाई सभापति बनाउने बताएका शशांकले पहिल्यै तय गरिएको उम्मेद्वारी घोषणा कार्यक्रमलाई ‘बंक’ हानेर संखुवासभातिर डुल्न निस्केका थिए ।

यसलाई कतिपयले कोइराला परिवारभित्रै मनमुटाव भएको भन्दै टिप्पणी गरिरहेका छन् ।

संस्थापनइतर पक्षबाट पौडेल गतिलो दाबेदार भएपनि उनलाई सहज भने देखिएको छैन । उनले आफ्नो समूहका नेताहरूलाई भन्ने गरेका छन्, ‘कि त सर्वसम्मत ढंगले सभापतिको उम्मेदवार छानेर ल्याउनुहोस्, नत्र मलाई एक मौका दिनुहोस ।’

पौडेल १३ औं महाधिवेशनमा सभापतिका दाबेदार थिए । चुनावमा उनलाई सिटौलाको सहयोग लिएर देउवाले सजिलै हराएका थिए । यसपटक भने सिटौला सकेसम्म आफैं सभापति बन्ने, नत्र पौडेलपक्षलाई सघाउने ताकमा देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट