Logo

नेपालमा माओवादीको ‘अन्त्य’ किन आवश्यक छ ?



२०७७ को असारको तेस्रो साताको कुनै एक दिन जतिबेला तत्कालीन नेकपाको विवाद उत्कर्षमा थियो, केही भेटघाट सकाएर आफ्नो निवासमा फर्केका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अलि असहज महसुस भयो । रक्तचाप बढेको अनुमानसहित उनले आफ्नो डाक्टरलाई फोन गरेर बोलाउन सचिवालयका सदस्यलाई आग्रह गरे । केही समयमै डाक्टर खुमलटार पुगे ।

डाक्टरले सामान्य चेकअपपछि तनावका कारण रक्तचाप बढेको र केही दिन खानपानमा ध्यान दिएर आराम गरे ठीक हुने सल्लाह दिए । अनि डाक्टरले थपे – ‘केही दिन नपिउनु राम्रो होला ।’

डाक्टरको कुरा भुइँमा नझर्दै प्रचण्डले भने, ‘डाक्टर साब, त्यसो नभन्नुस । तनावका कारण निद लाग्दैन । एकाध पेग लिन बन्देज नगर्नुहोस् ।’ प्रचण्डको पिउने बानी थाहा पाएका डाक्टरले अलि कम गर्नुस् मात्र भन्न सके । तीन दशकदेखि राजनीतिमा निकै सक्रिय रहेका प्रचण्डले आफ्नो तनाव हटाउन कहिलेकाहीं पिउने गर्छन् । कहिलेकाहीं काठमाडौँबाहिर कहीं कतै एक/दुई दिन बसेर रिफ्रेश भएर फर्किन्छन् ।

 

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको तीन महिनासम्म पनि मन्त्रिपरिषद बिस्तार हुन सकेको थिएन । त्यसबीचमा अध्यक्ष प्रचण्डले मन्त्री माग्नेहरूका कारण आफू तनावमा रहेको भन्दै सार्वजनिक भाषण गरे । उनले यस्तो भन्न थालेपछि पार्टीभित्रकै नेताहरूले आपत्ति जनाएका थिए ।

गत असोज १४ गते अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को २२ औं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा प्रचण्डले भावुक हुँदै आफूलाई आत्महत्याको सोच आएकोसमेत बताउन भ्याए ।

उनले आफ्नो पार्टी कमिटीको बैठकमा समेत माओवादी विघटन गरिदिने अप्रत्यक्ष धम्की बारम्बार दिँदै आएका छन् । भदौ २३ गते आयोजित एक कार्यक्रममा प्रचण्डले नेता कार्यकर्ता रुपान्तरण नहुने हो भने माओवादी केन्द्र विघटन गरिदिए हुने भाषण गरे ।

यहाँ उल्लेखित घटनाक्रमहरू पछिल्लो समय प्रचण्डमा देखिएका केही मनोदशा हुन् । तनाव कम गर्न पेग लिनैपर्ने, काठमाडौँबाहिर जानैपर्ने, सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रको विघटन, आत्महत्या गर्ने सोच, आफू तनावमा रहेको जस्ता धेरै प्रसंगहरू प्रचण्ड स्वयंले सार्वजनिक गर्ने गरेका छन् ।

फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन नेकपालाई एमाले र माओवादीमा विभाजन गरिदिएपछि पेरिसडाँडामा बसेको बैठकमा पार्टीको नाम फेर्ने बहससमेत चलेको थियो । माओवादी नामबाट अब राजनीति हुन सक्दैन भन्ने निष्कर्षमा प्रचण्ड पुगिसकेका छन् तर जनयुद्ध लडेका नेता कार्यकर्ता भड्किने डरसमेत उनलाई छ । माओवादी नाम त्याग्न प्रचण्ड संविधान बन्नुभन्दा अगावै राजी थिए ।

डाक्टर बाबुराम भट्टराईसँग लामो समय संगत गरेका एक नेताले पंक्तिकारसँग भनेका छन् – ‘संविधान बन्नुअघि नै दुवै नेताबीच माओवादी नाम त्याग्नेबारे सहमति भएको थियो । माओवादीले चाहेका सबै राजनीतिक एजेण्डा पूरा भएका थिए । अब नयाँ नामबाट समृद्धिको यात्रा तय गर्ने सहमतिबाट प्रचण्ड अन्तिमसमयमा ब्याक भएपछि निकै सोचीविचारी बाबुरामले पार्टी छोड्ने निर्णय गर्नुभएको हो ।’ 

निकै लामो समयदेखि आक्रामक राजनीति गरिरहेका प्रचण्डको उल्लेखित मनोदशाले समग्र माओवादी केन्द्रको मनोदशा के हो त्यो प्रष्ट पारेको छ । किनभने माओवादीको जन्म, विद्रोह, शान्तिप्रक्रिया र संविधान बन्ने बेलासम्म प्रचण्डले एक्लै नेतृत्व गरेका छन् । अहिलेसम्म प्रचण्डका सेकेन्डम्यानहरू पार्टीबाट हटाइएका छन् या आफैं हटेका छन् ।

 

अब प्रसंग बदलौं । दशैंको टीकाकै दिन पूर्व अर्थसचिव तथा तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईका आर्थिक सल्लाहकार रहिसकेका रामेश्वर खनालले माओवादी कति वर्षमा सकिएला भन्दै एउटा ट्वीट गरे । ‘यो माओवादी पार्टी कति वर्षमा सकिएला ? कसैको अनुमान ? नाटक अली लामै भयो त,’ ट्वीटमार्फत खनालले व्यक्त गरेको यो धारणाले माओवादी केन्द्रका नेता तथा कार्यकर्ता रिसाए । विरोधीहरूलाई भने मसला बन्यो खनालको यो ट्वीट । त्यसपछि सामाजिक सञ्जालमा तीव्र बहस चल्न थाल्यो, माओवादी सिद्धिए के हुन्छ ? के हुँदैन ।

एकाथरीको तर्क छ, देशमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक व्यवस्था ल्याउने माओवादी हो । माओवादीको एजेण्डामा चलेको देशलाई अरू पार्टीले कसरी नेतृत्व गर्न सक्छन् ? अर्कोथरीको तर्क छ, माओवादीको उपादेयता सकियो । देश अब माओवादीले होइन, संविधानले चल्छ । माओवादी नभएपनि हुन्छ ।

प्रश्न उठ्छ, माओवादी नै देशलाई चाहिएको होइन कि अहिलेको माओवादी चाहिएको होइन ।

पंक्तिकारसँगको कुराकानीमा खनालले भनेका छन् – ‘माओवादी अब पुरानै रूपमा रहिरहने हो भने काम छैन । नाम परिवर्तन गर्नुपर्छ, त्यसपछि विधानलगायत अन्य धेरै कुराहरू परिवर्तन गरेमात्र बिस्तारै अहिलेको समकालीन राजनीतिमा माओवादीको नयाँ ढंगबाट आवश्यकता देखिन शुरू गर्नेछ ।’

उनले माओवादी पनि जनताकै प्रतिनिधि भएकाले समूल अन्त्य हुनुपर्ने धारणा आफ्नो नरहेको प्रष्ट पारे । ‘रुपान्तरण नहुने हो भने त जति तर्क गरेपनि माओवादीको यो देशमा कुनै काम छैन अब,’ खनालको भनाइ छ ।

प्रचण्डको फ्रस्ट्रेसन र सामाजिक सञ्जालमा चलिरहेको बहसको आलोकमा माओवादी केन्द्रभित्र नयाँ र छुट्टै छलफलको आवश्यकता देखिएको छ । यसलाई अघि बढाउन नेताहरू कति तयार हुन्छन् माओवादीको भविष्य त्यसमा अडिएको छ ।

 

प्रचण्डको घेरा निकै साँघुरो र अराजनीतिक भएको टिप्पणी पनि बजारमा सुनिन्छन् । उनका स्वकीय सचिवका रूपमा तीनवटै ज्वाईं सक्रिय छन् । सबै राजनीतिमा त्यति सक्रिय व्यक्तिहरू होइनन् । स्तन क्यान्सरबाट निधन भएकी छोरी ज्ञानु दाहालका श्रीमान् सागर केसी, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालका श्रीमान् अर्जुन पाठक र कान्छी छोरी गंगा दाहालका श्रीमान् जीवन आचार्य राजनीतिमा सक्रिय छैनन् तर प्रचण्डको घोषित अघोषित स्वकीय सचिवका रूपमा काम गरिरहेका छन् ।

प्रचण्डलाई राजनीतिक हिसाबले सहयोग गर्ने भन्दा पनि वरिपरी रहेका कतिपयहरूको काम ‘अर्थ संकलन’मा केन्द्रित रहेको माओवादी केन्द्रकै नेताहरूको आरोप छ । प्रमुख स्वकीय सचिवका रूपमा कार्यरत जोखबहादुर महरालाई फोन नउठाउन कै लागि राखिएको चर्चा चल्ने गरेको छ भने प्रेस हेर्ने गरी राखिएका विष्णु सापकोटा ‘जुगल’को भूमिका सामान्य सूचना आदानप्रदान भन्दा बढी देखिएको छैन ।

तत्कालीन नेकपा हुँदा प्रचण्डको तर्फबाट दस्तावेजहरू लेख्ने जस्ता कतिपय नीतिगत कामहरू नारायणकाजी श्रेष्ठले गर्ने गर्थे । नेकपा विभाजित भएर पुनः माओवादी केन्द्र बनेपछि भने श्रेष्ठ र प्रचण्डबीच टसल बढेको समाचारहरू आउन थालेका छन् । केन्द्रीय समितिमा आफ्नो बहुमत देखाउनकै लागि तत्कालीन नेकपा एकता केन्द्र मसालका सहमहामन्त्री रहेका श्रेष्ठसँग २०६५ सालमा प्रचण्डले एकता गरेकै कारण पार्टी बिग्रिएको आरोप मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेताहरूले लगाउँछन् ।

जनयुद्धमा सहभागी नभएका श्रेष्ठ २०६२/६३ सालको जनआन्दोलन र त्यसयताको शान्तिप्रक्रियामा ठूलो भूमिका खेलेका वैचारिक नेता हुन् । फरक राजनीतिक पृष्ठभूमिबाट जोडिएका श्रेष्ठलाई जनयुद्ध लडेर आएका नेताहरूले प्रचण्डसँग नजिक भएको मन पराएका छैनन् ।

 

तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रचण्डले गत साल कात्तिकको अन्तिम साता १९ बुँदे दस्तावेज सचिवालय बैठकमा पेश गरेका थिए । ओली प्रवृत्तिलाई संस्थागत गर्दै पेश गरेको डकुमेन्टलाई प्रचण्डले आजसम्म पनि हेडक्वार्टरमा बम हानेको संज्ञा दिने गर्छन् र सार्वजनिक कार्यक्रममा यसलाई गर्वको रूपमा चित्रित गर्ने गर्छन् । पार्टी र सरकार संचालनमा एकलौटी गरेको भन्दै प्रचण्डले ओलीलाई दक्षिणपन्थी अवसरवादीका रूपमा व्याख्या गरेका थिए ।

ओलीविरुद्ध हेडक्वार्टरमै बम हानेका प्रचण्डविरुद्ध अर्को बम खसाल्ने नेता माओवादी केन्द्रमा कोही छैनन् । जसरी ओलीले त्यतिबेला नेकपालाई एकलौटी ढंगबाट चलाउन खोजेका थिए, त्यसै गरी माओवादी केन्द्र दशकौंदेखि प्रचण्डको एकलौटीमा चलिरहेको छ । प्रचण्ड न साँघुरो घेराबाट बाहिर आउन सकेका छन्, न त सेकेन्डम्यानको व्यवस्था र व्यवस्थापन नै गर्न सकेका छन् । कसैले प्रचण्डविरुद्ध हेडक्वार्टरमा बम हान्ने दुस्साहस गरेको दिन प्रचण्डले माओवादी केन्द्र नै विघटन गर्ने सम्भावना देखिन्छ, जसरी नेकपाको एकता छिन्नभिन्न भएको थियो ।

वामपन्थी राजनीतिमा सबैभन्दा राम्रो र मजबुद संगठन एकताअघिको नेकपा एमालेको थियो । एकतापछि त्यो मजबुत संगठन तीन वर्षसम्म निकम्मा भएर बस्यो । त्यसपछि पार्टी पुनः टुक्रियो । माधवकुमार नेपाल नेतृत्वमा एमाले विभाजन भएर नेकपा एस बनेको छ । अहिले बचेको एमालेको संगठन ओलीकै तजबिजीमा चल्ने गरेको छ ।

भदौ २३ गतेको एक कार्यक्रममा उनले आफ्ना नेता तथा कार्यकर्तालाई प्रश्न गरेका थिए – ‘एमालेजस्तै हुने हो भने त यो पार्टीको आवश्यकता र औचित्य नै के रह्यो र ? बरू योभन्दा राम्रो त यस्तो पार्टीलाई विघटन गरिदिए हुन्छ ।’ अनेरास्ववियु क्रान्तिकारीको नेतृत्व चयनमा भने प्रचण्डले आफ्नो एकलौटी रुप देखाए । यसको पार्टीभित्रै आलोचना भएको थियो ।

 

अब अर्को प्रश्नतिर जाऔं । माओवादीको विघटन या समाप्तिपछि देशले के पाउँछ ? के संविधानमा इन्कर्पोरेट गरिएका व्यवस्थाहरू माओवादी नहुँदा उल्टिन सक्लान् ? के देशले फेरि राजतन्त्र भोग्नुपर्ने छ ? यी प्रश्नहरूका जवाफ स्पष्ट छैनन् । तर राजतन्त्रको औचित्य समाप्त भइसकेको र धार्मिक अतिवादीहरू निकै कम संख्यामा रहेकाले गणतन्त्र र धर्मनिरपेक्षता उल्टिने सम्भावना निकै कम छ । तर प्रदेशहरू खारेज भने हुन सक्छन् । त्यो पनि त्यति सजिलो भने छैन, संविधानको पुनःलेखन भयो या नयाँ संविधान बन्यो भने बल्ल परिवर्तित व्यवस्थाहरू उल्टिएलान् ।

प्रचण्डले अबको चुनावसम्म कांग्रेस, नेकपा एस, जसपा र जनमोर्चासँग गठबन्धन गरेर जानुपर्ने जोड दिने गरेका छन् । कुनै बेला संविधानसभामा प्रत्यक्षतर्फ बहुमत जुटाएको माओवादी केन्द्र अबको चुनाव एक्लै लड्न नसक्ने स्थिति आउनु लगभग विघटनकै अवस्था हो । नाम परिवर्तन गर्ने बहस माओवादी केन्द्रमा जीवित नै छ भने चुनावअघि या पछि माधव नेपाल नेतृत्वको पार्टीसँग एकता हुने सम्भावना पनि उत्तिकै छ ।

देशले ओली, प्रचण्ड र देउवाहरूको एकलौटी र स्वेच्छाचारिता भोगुन्जेल पार्टीहरू विघटन हुन त सक्लान् तर प्रवृत्ति विघटन हुने छैन । त्यसैले कुनै दलको समाप्तिको कामना नगरौं बरू दलभित्र रहेका हानिकारक प्रवृत्तिहरू समाप्त गर्ने बहसतिर नेता तथा कार्यकर्तालाई लैजाऔं ।

पुष्पकमल दाहाल 'प्रचण्ड' माओवादी केन्द्र

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार १०:२३

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल