‘दशैंखर्च’का नाममा रोकिएन महानगर कर्मचारीको असुली धन्दा, फूटपाथ व्यापारीसँग दैनिकजसो ‘हप्ता’ असुली-Sutra News

‘दशैंखर्च’का नाममा रोकिएन महानगर कर्मचारीको असुली धन्दा, फूटपाथ व्यापारीसँग दैनिकजसो ‘हप्ता’ असुली

सोमबार, २५ असोज २०७८

सोमबार, २५ असोज २०७८

काठमाडौँ महानगरपालिकाका अधिकांश भीडभाड हुने क्षेत्रहरूमा रहेका फूटपाथ व्यापारीहरू अपराह्न ५ बजे नै आफ्नो ठेला लगाउने गर्छन् । यसअघि साँझ सात बजेबाट मात्र उनीहरूले आफ्नो व्यापार शुरू गर्ने गर्थे ।



नियमविपरित ५ बजेदेखि नै ठेला लगाउन पाउने ती फूटपाथ व्यापारीहरूसँग महानगर कर्मचारी र महानगर प्रहरीले हप्ता असुली गर्ने गर्छन् ।  

दशैंको मौका पारेर काठमाडौँ महानगरपालिकाका कर्मचारी र प्रहरीले फूटपाथ व्यवसायीसँग पैसा असुल्ने गरेका छन् । बानेश्वर क्षेत्रमा साँझ ५ बजेपछि राखिने तरकारी, कपडा, सेकुवालगायत अन्य व्यापारीसँग प्रहरी र कर्मचारीले गोप्य रूपमा पैसा असुल्ने गरेका हुन् ।

पैसा असुल्न महानगर प्रहरीका केही जवान सादा पोशाकमा खटाइएका छन् भने कहिलेकाहीं महानगरपालिकाकै कर्मचारीहरू आउने त्यहाँका व्यापारीहरू बताउँछन् ।

यसअघि सुत्रन्यूजले ‘७ बजेबाट राख्न पाउने फूटपाथ ५ बजेबाटै, व्यापारी भन्छन्-महानगरका कर्मचारीले पैसा असुल्छन्’ शीर्षकमा समाचार सामग्री प्रकाशन गरेको थियो । तर महानगरका कर्मचारी र प्रहरीको लूटको धन्दा कम भएको छैन ।

महानगरका कर्मचारीले हाकाहाकी दशैं खर्च माग्न थालेपछि फूटपाथ व्यवसायी तनावमा परेका छन् ।

‘पहिला पहिला उहाँहरूले केही भन्नुहुन्नथ्यो, आजकल भने पैसा तोकेरै माग्न थाल्नुभएको छ,’ बानेश्वर क्षेत्रमा फूटपाथ व्यापार गर्ने एक व्यापारीले भने, ‘दशैं खर्चका नाममा प्रत्येक दिन यसरी पैसा माग्दा हामीले पो कसरी दशैं मनाउने हो ?’

उनका अनुसार पैसा माग्न आउने कर्मचारी अनौपचारिक पोशाकमा आउँछन् । ‘ती कर्मचारी को हुन्, हामीलाई थाहा छैन,’ उनले भने ।

केही दिनअघि एक स्याऊ व्यापारीले भनेका थिए – ‘पैसा उठाउने मान्छे वरपर नै हुनुहुन्छ । अघि भर्खर यहीं हुनुहुन्थ्यो,’ उनले भने, ‘अहिले उ त्यहाँ पल्लो पसलमा हुनुहुन्छ । जानुभयो भने भेट्नुहुन्छ ।’

अनौपचारिक पोशाकमा केही पर भेटिएका ती ‘असुली’ कर्मचारीलाई ‘नमस्कार हामी पत्रकार हौँ’ भन्दै परिचय दिएपछि उनी केही नबोली कुलेलम ठोकेका थिए ।

नगरप्रहरीले यसअघि साँझ ७ बजेपछि मात्र फूटपाथ व्यापारीलाई आफ्नो सामान बेच्न छुट दिएको थियो । तर भदौ यता भने फूटपाथ व्यापारीहरूले ५ बजेदेखि नै ठेला र साइकल लिएर बाटो कब्जा गर्ने गरेको एक शटर व्यवसायी बताउँछन् ।

शटर व्यवसायी झम्क चौलागाईं भन्छन् – ‘पहिला पहिला ७ बजेपछि मात्र फूटपाथमा व्यापार गर्न दिन्थ्यो नगर प्रहरीले । अहिले भने ५ बजेतिर बाट नै उनीहरूको व्यापार शुरू हुन्छ । हामी शटरमा महँगो भाडा तिरेर व्यापार गर्नेहरू निकै अप्ठेरोमा परेका छौं ।’

आफूलाई भारतको मोतिहारी घर भएको बताउने एक स्याउ व्यापारीले पनि कहिलेकाहीं पैसा बुझाएको स्वीकारे । ‘सरहरू कहिले काहीं आउनुहुन्छ र खै भन्नुहुन्छ । हामी अलिअलि पैसा दिएर पठाउँछौं ।’

पैसा नै दिएर भएपनि चाडबाडका बेला ५ बजेदेखि नै व्यापार गर्न पाउँदा आफूलाई अलिअलि फाइदा भएको ती व्यापारीले बताए ।

‘२/३ सय पैसा दिएर के भो र,’ उनले भने, ‘अलिअलि हाम्रो पनि व्यापार भएको छ ।’ आफ्नो नाम भने बताउन उनी तयार भएनन् ।

तर काठमाडौँ नगर प्रहरी भने यसरी असुली गर्ने गरिएको दाबीसँग सहमत छैन । विशेष गरेर बानेश्वर क्षेत्रमा झन् कडा गरिएको नगर प्रहरीका डीएसपी मनोज लामिछाने बताउँछन् ।

लामिछानेले बानेश्वर क्षेत्रमा कुनै असुली नभएको दाबी गरे । ‘यति बजेदेखि फूटपाथमा व्यापार गर्न पाउने भन्ने ठ्याक्कै कुनै नियम छैन तर सामान्य रूपमा हाम्रो छुट्टी ७ बजेबाट हुने हुनाले त्यतिबेलादेखि केही समय उनीहरूले आफ्नो पसल राख्ने गर्छन्,’ डीएसपी लामिछानेले भने ।

काठमाडौँको कुनै पनि क्षेत्रमा अवैध ढंगले असुली गरेर फूटपाथमा व्यापार गर्न नदिइएको लामिछानेको दाबी छ । ‘अहिलेसम्म त्यस्तो भएको मैले थाहा पाएको छैन,’ उनले भने, ‘अब केही भएको रहेछ भने म हेर्छु ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट