कांग्रेसमा पुस्तान्तरण नभएर रूपान्तरण आवश्यक: वरिष्ठ नेता पौडेल-Sutra News

कांग्रेसमा पुस्तान्तरण नभएर रूपान्तरण आवश्यक: वरिष्ठ नेता पौडेल

आइतबार, १७ असोज २०७८

आइतबार, १७ असोज २०७८

तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा पुस्तान्तरण नभएर रूपान्तरण आवश्यक भएको बताएका छन् । गृह जिल्ला तनहुँको शुक्लागण्डकीमा आयोजित शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले १४औँ महाधिवेशनले कांग्रेसमा रूपान्तरण ल्याउनुपर्ने बताए । ‘एकाथरिले कांग्रेसमा पुस्तान्तरणको नारा दिइरहेका छन् । पुस्तान्तरण होइन, कांग्रेसलाई रूपान्तरण चाहिएको हो । कांग्रेसको आजको अवस्थालाई बदल्नुपर्छ’, उनले भने । 



महाधिवेशनले नयाँ सन्देश लिएर आउने उनको भनाइ छ । उनले महाधिवेशन पार्टीमा व्यक्ति नभएर प्रवृत्ति परिवर्तन गराउन सिद्ध हुनुपर्नेमा जोड दिए । ‘भ्रष्ट प्रवृत्तिलाई पखाल्ने हो यो महाधिवेशनले । कांग्रेसलाई रूपान्तरण गर्ने हो’, उनले भने । पार्टीलाई आफूले जनताको भरोसाको केन्द्र बनाउने उनको जिकिर छ । कांग्रेसलाई सही दिशामा डोर्‍याउने वरिष्ठ नेता पौडेलको दाबी गरे । नेताहरूको व्यवहार, आचरण र कर्तुतले नेपाली जनतामा राजनीतिप्रति वितृष्णा छाएको उनको भनाइ छ ।

‘जुन जोगी आए पनि कानै चिरेका भनेर जनताले सबै नेतालाई मुख फर्काएर, नाक खुम्च्याएर हेर्नुपर्ने नेताले नै बनाएका होइनन् र ?  यी नेताहरूलाई त मैले भन्ने गरेको छु, तिमीहरूको दिमाग भ्रमैभ्रमले भरिएको छ । भ्रमित मानसिकता लिएर बसेका छौ । त्यसैले तिमीहरूले सारा नेपाली जनतालाई भ्रममा पारेका छौ । जनतालाई भ्रममा पार्ने अधिकार तिमीहरूलाई छैन भनेर मैले च्यालेन्ज गरेको छु’, सबै राजनीतिक दलका शीर्ष नेताप्रति आक्रोश पोख्दै उनले भने । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट