ओलीलाई माओवादी नेतृको जवाफ – राजवंशीले आत्महत्या कसका कारण गर्नुपर्यो, अझ जनयुद्धका घाइतेको कुरा गर्ने ?-Sutra News

ओलीलाई माओवादी नेतृको जवाफ – राजवंशीले आत्महत्या कसका कारण गर्नुपर्यो, अझ जनयुद्धका घाइतेको कुरा गर्ने ?

शुक्रबार, २९ साउन २०७८

शुक्रबार, २९ साउन २०७८

एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धका घाइतेलाई आफ्नो पार्टी कार्यालय पठाइदिए उपचार गर्ने भनेर दिएको अभिव्यक्तिप्रति माओवादी केन्द्रकी सांसद धर्मशीला चापागाईंले आपत्ति जनाएकी छन् ।



शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै चापागाईंले आफ्नै पार्टीका कार्यकर्तालाई आत्महत्या गर्नबाट रोक्न नसक्ने ओलीले जनयुद्धका घाइतेको कुरा गरेको अमिल्दो भएको टिप्पणी गरिन् ।

उनले भनिन् – ‘डिकेन्द्र राजवंशीले बल्खु पार्टी कार्यालयमा आत्महत्या गर्न पर्नुको कारण के थियो ? म यो जान्न चाहन्छु । तर आज उहाँ जनयुद्धका क्रममा घाइते भएकाहरुलाई मेरो पार्टी कार्यालयमा आउ भन्दै हुनुहुन्छ ।’

चापागाईंले ओलीसँगै जेलनेल बसेका साना दुर्गा अधिकारी, मानकुमार तामाङहरू कहाँ छन् भनेर प्रश्न पनि सोधिन् ।

‘केही दिन अगाडि केपी शर्मा ओलीले सदनमा बोल्ने क्रममा जनयुद्धका क्रममा घाइते भएकाहरुलाई यदि उपचार पाउनु भएन भने मेरो पार्टी कार्यालयमा आउनु भन्नुभयो । मलाई के याद छ भने उहाँसँगै जेलनेल बसेका साना दुर्गा अधिकारी, मानकुरमा तामाङहरु कहाँ छन् सायद उनलाई थाहा छ ?’ चापागाईंको प्रश्न थियो ।  

उनले संविधान सभा सदस्य धर्मप्रसाद घिमिरेले उपचारका लागि आर्थिक सहायता माग्दा ओलीले वास्ता नगरेकोसमेत आरोप लगाइन् । ‘धर्मप्रसाद घिमिरे हिजो संविधानसभा सदस्य पनि हुनुहुन्थ्यो । उहाँ गम्भीर बिरामी हुँदा ओलीसमक्ष उहाँको परिवारले आर्थिक सहायताका लागि अनुरोध पनि गर्यो तर हात लाग्न सकेन । उनको उपचार अभावले निधन हुन पुग्यो ।’

केही दिन अघि ओलीले प्रतिनिधि सभामा सम्बोधनका क्रममा जनयुद्धका घाइतेलाई आफ्नो पार्टी कार्यालय पठाए उपचार गरिदिने बताएका थिए ।

‘सरकारको साझा न्यूनतम कार्यक्रममा द्वन्द्वपीडितको पनि कुरा गरिएको छ, द्वन्द्वपीडितलाई सम्मान ?’ ओलीले भनेका थिए, ‘पहिलो कुरा द्वन्द्व पीडितलाई न्याय दिनुस् । तपाईले बुट्टे खादा ओढाएर अल्मल्याउन खोजेको ? घाइतेहरूको उपचार गराउँछु भन्नुस् न । शरीरको गोली निकालिदिन्छु भन्नुस् न । यदि सरकारले सक्दैन भने शरीरमा गोली भएकाहरूलाई एमालेको थापाथली पार्टी कार्यालयमा पठाइदिनुस्, म गर्छु ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट