एमसीसीको विरोध गर्न आफ्ना कार्यकर्तालाई ओलीको गोप्य निर्देशन-Sutra News

एमसीसीको विरोध गर्न आफ्ना कार्यकर्तालाई ओलीको गोप्य निर्देशन

शुक्रबार, १५ साउन २०७८

शुक्रबार, १५ साउन २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायता परियोजना (एमसीसी)को विरोध गर्न आफ्ना कार्यकर्तालाई गोप्य निर्देशन दिएका छन् ।



सर्वोच्च अदालतमा संसदले एमसीसी पास नगरिदिएका कारण भंग गर्नुपरेको कारण पेश गरेका ओलीले राजनीतिक फाइदाका लागि आफ्ना युवा कार्यकर्तालाई सामाजिक सञ्जालमा एमसीसी विरुद्धमा लेख्न निर्देशन दिएका हुन् ।

केही दिनअघि ओलीनिवास बालकोट पुगेका युथ फोर्सका केही कार्यकर्तालाई आफूले सिधै विरोध गर्न नमिल्ने भएकाले बिस्तारै सामाजिक सञ्जालमा एमसीसी विरुद्ध माहोल बनाउन निर्देशन दिएको ओलीलाई भेटेका एक कार्यकर्ताले सूत्रन्यूजलाई बताए ।

‘म प्रधानमन्त्री हुँदा एमसीसीकै पक्षमा थिएँ, तर अहिले राजनीतिक परिस्थिति फेरिएको छ । हाम्रो मुद्दाको प्राथमिकता पनि फेरिन्छ, तपाईंहरू सामाजिक सञ्जाल लगायत अन्य प्लेटफार्महरूबाट एमसीसीको विरोध गर्नुहोला ।’

ओलीको यस्तो निर्देशन आएपछि सामाजिक सञ्जालमा सक्रिय एमालेका कार्यकर्ताहरूले एमसीसी कुनै हालतमा पास गर्नुहुँदैन भन्दै लेख्न शुरू गरेका छन् ।

शुरूदेखि नै एमसीसीको विरोध गर्दै आएका नेता भीम रावल अझै कडा रूपमा प्रस्तुत हुन थालेका छन् । एमसीसी विरुद्धमा बोल्दा रावल पनि आफ्नो हुने आंकलन ओलीको छ ।

यसअघि तत्कालीन नेकपाको ओली पक्ष एमसीसीको पक्षमा थियो भने प्रचण्ड, नेपाल र खनालको समूह भने एमसीसी हुबहु पारित हुन नहुने पक्षमा थियो । कांग्रेस भने एमसीसी पारित गराउनुपर्ने पक्षमा शुरूदेखि नै उभिंदै आएको छ ।

एमसीसीको विरुद्धमा युवाहरूलाई अभियान संचालन गर्न लगाएर ओलीले सडकमा यदाकदा देखिने एमसीसी विरुद्धको दबाब समूहलाई पनि आफ्नो पक्षमा पार्ने कोशिसमा देखिएका छन् ।

प्रधानमन्त्री रहँदा ओलीले एमसीसी संसदमा टेबल नगरेको भन्दै तत्कालीन सभामुख कृष्णबहादुर महरा र हालका सभामुख अग्निप्रसाद सापकोटालाई सार्वजनिक रूपमै अमर्यादित वक्तव्य दिँदै आएका थिए ।

एमसीसीको पक्षमा रहेको कांग्रेसको विरोध गर्नकै निम्ति ओलीले एमसीसीको विरोध गर्न लगाएको राजनीतिक वृत्तमा चर्चा चल्न थालेको छ ।

सत्ता चलाउँदा राष्ट्रवादी छबीमा परेको असरलाई कम गर्न पनि एमसीसीको विरुद्धमा जानुपर्ने ओलीको बुझाइ छ । पुनः एकपटक राष्ट्रवादको नारा दिएर सत्तामा पुग्न सकिने ओलीको आंकलन रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट