sutra news logo

बिहिवार, आषाढ ३ गते २०७८

ओली आयोगले दासढुंगा हत्याकाण्डको अनुसन्धान शंकास्पद रूपमा बीचमै छोडिदियो: सीपी मैनाली

ओली आयोगले दासढुंगा हत्याकाण्डको अनुसन्धान शंकास्पद रूपमा बीचमै छोडिदियो: सीपी मैनाली

images

सीपी मैनाली

३ जेठ २०७८
  • 695
    SHARES
  • ओली आयोगले दासढुंगा हत्याकाण्डको अनुसन्धान शंकास्पद रूपमा बीचमै छोडिदियो: सीपी मैनाली

    २०५० सालको जेठ ३ गते दासढुंगामा जसरी दुर्घटना भयो त्यो स्वाभाविक होइन भन्ने कुरा जगजाहेर छ । त्यतिबेला म तत्कालीन नेकपा एमालेमै थिएँ । दुर्घटना भएको थाहा हुनेबित्तिकै म त्यहाँ पुगेको थिएँ । त्यहाँ जे जस्तो घटनाको प्रकृति थियो, जसरी घटना घट्यो, ड्राइभर जुन ढंगले निस्कियो, जुन ढंगले त्यहाँ बाटोमा भुसका चिह्नहरू बनाइएका थिए, यी सबै कुराले हेर्दा त्यो घटना सामान्य दुर्घटना लागेन । खासमा सामान्य घटना हुँदै होइन । घटाइएको घटना हो ।

    २ दिनपछि तल नारायणी नदीमाथिको पूल भन्दा १२/१३ किलोमिटर तल बगरमा मदन भण्डारी कमरेडको शव थियो । नदीमा गोहीहरू पनि थिए र अन्य जलचरहरू पनि पक्कै हुनुपर्छ । तर मदन भण्डारीको शवलाई ती जलचरहरूले केही असर नगरेको जस्तो देखिएको थियो । अन्डरवेयर मात्र लगाएको शव थियो । पहिलो नजरमै त्यो सामान्य होइन भन्ने कुरा कन्फर्म नै भयो ।

    पछि २/३ वटा आयोग बनाइयो । तर आयोगहरूले पनि त्यो घटना घटाइएको हो भन्ने तथ्य पुष्टि गरेनन् । पछि पार्टीको तर्फबाट केपी शर्मा ओलीलाई नै एउटा आयोगको संयोजक बनाइएको थियो । त्यो आयोगले केही शंकास्पद कुरा गरेपनि केही टुंगो लगाएन । केपी ओलीले बीचमै त्यसको अध्ययन अनुसन्धान गर्न छोडीदिए ।

    यो पनि -

    एमाले एक्सप्रेस : त्यो जेठ २ देखि यो जेठ २ सम्म ! एमाले एक्सप्रेस : त्यो जेठ २ देखि यो जेठ २ सम्म !

    यसरी अनुसन्धान अलपत्र भएको र निश्चित ठाउँमा पुग्न नसकेको हो । त्यसपछि पटक-पटक एमालेको सरकार बनेको भएपनि अध्ययन टुंगोमा पुग्न सकेन । अहिले उहाँको धर्मपत्नी राष्ट्रपति हुनुहुन्छ र उत्तराधीकारी भएको दाबी गर्ने व्यक्ति केपी ओली प्रधानमन्त्री हुनुहुन्छ । छानबिनको जिम्मेवारी उहाँकै हुनुपर्ने हो । इतिहासकै गर्भमा त्यो घटना लुकेर बसेको छ ।

    राजनीतिक हिसाबले हेर्ने हो भने देशको पक्षमा बोल्ने राजादेखि रंकसम्मका व्यक्तिहरू, नेताहरू पनि षड्यन्त्रद्वारा मारिने घटना भइरहेको हामीलाई थाहा नै छ । त्यही सिलसिलाको घटना हो ।

    मदन भण्डारी मार्क्सवादको व्याख्याता थिएनन्

    २०३० सालमा हामीलाई पंचायत सरकारले समातेको थियो । हामीले २०३३ सालमा जेलब्रेक गर्यौं । त्यसपछि मात्र पुष्पलालको संगठनमा रहनुभएका केही कमरेडहरू विद्रोह गरेर निस्कनु भयो । विद्रोह गर्ने टोलीको नेता जीवराज आश्रित हुनुहुन्थ्यो । त्यो टीममा मदन भण्डारी पनि हुनुहुन्थ्यो । मोरङमा उहाँको घर थियो । संस्कृत पढ्ने सिलसिलामा वनारस हुँदै हरिद्वार जानुभएको हो ।

    पुष्पलाल नेता रहनुभएको नेकपाको सांस्कृतिक मोर्चाको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । पार्टीमा चाहिँ उहाँको भूमिका खासै थिएन । पछि विद्रोह गरेर मुक्ति मोर्चा बनाएर उहाँहरू आउनुभयो । ३४ सालको भदौतिर कोअर्डिनेसन केन्द्र र मुक्ति मोर्चाको समूहबीच एकीकरण भयो । हामी संगठित भएर सँगै काम गर्यौं । उहाँ अर्धभूमिगत जस्तो मोरङ क्षेत्रको काम गर्नुभयो । वामदेव गौतम पनि मुक्ति मोर्चाकै समूहमा हुनुहुन्थ्यो ।

    विभिन्न कारणवश उहाँ षड्यन्त्रमा पर्नुभयो । उहाँका विचारमा सहमति विमति रहेपनि उहाँ देश र जनताकै सेवाको लक्ष्य राख्दा राख्दै मारिनुभएको हो । उहाँलाई सम्मान गर्नुपर्छ, म पनि गर्छु । यो एउटा पाटोको कुरा भयो ।

    उहाँ पुष्पलाल समूहमा पनि केन्द्रीय कमिटीमा पुग्ने हैसियत भइसकेको थिएन । उहाँ संस्कृत अध्ययनमा आचार्य तहमा हुनुहुन्थ्यो । भाषा राम्रो थियो, राम्रो बोल्नु हुन्थ्यो । तर उहाँ राजनीतिक वैचारिक हिसाबले मार्क्सवादको व्याख्याता बनिसक्नु भएको थिएन ।

    माधव नेपाल र मदन भण्डारीले मालेलाई वैचारिक शून्यतामा पुर्याएका थिए

    मुक्ति मोर्चाले विद्रोह गर्यो र त्यो टीममा संलग्न हुनुभएको हो । २०३५ सालमा नेकपा मालेको गठन भयो । पार्टी स्थापनापछि जनमत संग्रहको घोषणा भएको थियो । जनमत संग्रह घोषणा भएपछि नेकपा मालेको विवाद पनि सतहमा आयो । त्यसले हामीलाई सतहमा आउन मदत पनि पुर्यायो ।

    पहिले झापा विद्रोह कालमा हामीले सशस्त्र संघर्ष गरेर जनगणतन्त्र स्थापना गर्ने हाम्रो उग्रवामपन्थी लक्ष्य थियो । हिंसाको बलमा स्थापित पंचायतको विरुद्ध हिँसा प्रयोग गरेर लड्नुपर्ने परिस्थिति पनि सिर्जना भएको थियो । हामीले लिएको लक्ष्य राष्ट्रिय अन्तर्राष्ट्रिय हिसाबले स्वीकार्य नहुने खालको उग्रवामपन्थी नै थियो ।

    जनमतसंग्रहमा आउने बेलासम्म ३५ सालमा स्थापित नेकपा मालेको केन्द्रीय नेतृत्व मोटामोटी रूपमा अहिले जनगणतन्त्र स्थापना गर्ने कार्यनीति लिने बेला होइन, यो एउटा रणनीतिक लक्ष्य हो भन्ने मान्यतामा थियो । हाम्रो राष्ट्रिय, क्षेत्रीय स्थिति त्यसको प्रतिकूल थियो । कस्तो कार्यनीति लिने भन्ने विषयमा तत्कालीन नेकपा माले जनमत संग्रह घोषणा भएपछि २०४६ सालको कात्तिकसम्म अल्मलिइरह्यो ।

    त्यो बहसमा एउटा ठूलो हिस्साले राजतन्त्र हटाएर पूँजीवादी गणतन्त्र ल्याउने कुराको पैरवी गर्यो । त्यतिबेलाको राजनीतिक भाषामा हामीले त्यसलाई 'राजनीतिक स्वतन्त्रताको कार्यदिशा' भन्थ्यौं । मैले जनगणतन्त्र घोषणा गर्ने तत्कालीन कार्यदिशा हुन सक्दैन भनें । मार्क्सवादी शिक्षाअनुसार जुन आफ्नो शक्तिले प्राप्त गर्न सकिन्छ, त्यही कार्यनीति लिनु उपयुक्त हुन्छ भन्ने मेरो मान्यता थियो । जसले रणनीतिक लक्ष्यमा पुग्न सहयोग गरोस् ।

    त्यतिबेला मालेमा मदन भण्डारी र माधवकुमार नेपाल मात्र त्यस्ता नेता थिए जसले राजा हटाएर पूँजीवादी गणतन्त्र ल्याउने कार्यनीतिलाई पनि स्वीकार गरेनन् । पंचायत हटाएर बहुदलीय प्रजातन्त्र ल्याउने सीपी मैनालीको कार्यदिशाको पनि विरोध गरे । ती दुई व्यक्ति मदन भण्डारी र माधव नेपाल हुन् ।

    दुई वर्षभरि पार्टी कुन दिशामा हिंड्ने भनेर ठूलो बहस भइरहेका बेला यी दुवै व्यक्तिहरूमा कुनै निश्चित कार्यनीतिक सोच थिएन । पछि मैले लिएको कार्यनीतिमा उतार चढाव हुँदै मलाई दमन गर्न खोजियो तर २०४६ सालको कात्तिकमा मेरै कार्यनीतिलाई तत्कालीन मालेले स्वीकार गर्यो ।

    बहुदलीय प्रजातन्त्रलाई नै बहुदलीय जनवाद भनेर व्याख्या गरियो

    त्यही कार्यनीति लिएर माले जनान्दोलनमा गयो । बहुदलीय शासनव्यवस्थालाई कार्यनीति बनाउन तयार नहुने मदन भण्डारी २०४६ सालको परिवर्तनपछि छलाङ लगाएर बहुदलीय प्रजातन्त्रलाई नै केन्द्रीय नीति मानेर अघि बढे । यही बाटो हुँदै उनी जनताको बहुदलीय जनवादको नीति प्रतिपादन गर्ने ठाउँमा पुगे ।

    बहुमतको सरकार हुने र अल्पमतको विपक्ष हुने परिपाटी त्यो र त्यस्तै वरिपरिका विधिको शासनका विषयहरू लिएर मदन भण्डारी आउनुभयो र त्यसैलाई क्रान्तिको सिद्धान्त बनाउनुभयो । मैले त्यसलाई क्रान्तिको सिद्धान्त बनाउन सकिन्न भन्ने गर्थें ।

    त्यतिबेला माओत्से तुङको भाषामा भन्ने हो भने त्यतिबेला क्रान्तिको सिद्धान्त नयाँ जनवाद थियो । पुष्पलाल कमरेडले पनि त्यही शब्दावली प्रयोग गर्नुभएको थियो । त्यो नयाँ जनवादी सिद्धान्तलाई २०४९ सालमा मदन भण्डारीले तोडमरोड गरेर जनताको बहुदलीय जनवाद बनाइदिनुभयो । त्यसको दश वर्ष अघिसम्म मदन भण्डारी बहुदलको पक्षमा हुनुहुन्नथ्यो । तर २०४६ सालपछि उहाँमा बदलाव आयो ।

    उहाँले बहुदलीय प्रजातन्त्रलाई नै केन्द्रीय विषयवस्तु बनाएर जबजको नीति प्रतिपादन गर्ने ठाउँमा पुग्नुभयो । उहाँ मार्क्सवादको कच्चा विद्यार्थी हुनुहुन्थ्यो । हिजो छिपछिपे ज्ञानले त्यही अवस्थामा पंचायती व्यवस्थालाई पल्टाएर जनताको बहुदलीय प्रजातन्त्र ल्याउने कुरालाई गलत देख्नुभयो ।

    अन्तर्राष्ट्रिय हिसाबमा सोवियत संघको विघटन भएर मार्क्सवाद र समाजवादको विरुद्धमा एउटा राजनीतिक प्रहार व्यापक रूपले हुन थालेपछि उहाँले बहुदलीय प्रजातन्त्रलाई नै सिंगारपटार गरेर बहुदलीय जनवाद भनेर अघि सार्नुभयो । त्यतिबेला नै त्यो नीति बेठिक थियो, अहिले त झन् बेठिक छ ।

    मदन भण्डारी जतिबेला वैचारिक हिसाबले परिपक्व बन्नुभएको थिएन त्यतिबेला जनताको बहुदलीय जनवाद भनेर गलत नीति अघि सार्नुभएको हो । उहाँले नयाँ जनवादी क्रान्तिको सट्टामा बहुदलीय जनवाद भनेर आउनुभयो । नेपाली क्रान्तिको सिद्धान्त नयाँ जनवाद हुनुपर्नेमा उहाँ बहुदलीय जनवाद भन्नुभयो र त्यसले पार्लियामेन्ट्री डेमोक्रेसी नै थियो ।

    जबज - युरो कम्युनिज्मको नक्कल !

    उहाँले जबजको सिद्धान्त अघि सार्नुभन्दा पहिला युरोपमा एउटा लहर आएको थियो 'युरो-कम्युनिज्म' भन्ने । जसले पूँजीवादी प्रजातन्त्रको माध्यमबाट नै वैज्ञानिक समाजवाद ल्याउन सकिन्छ भन्ने गर्थ्यो । आफूलाई कम्युनिस्ट भन्ने युरोपका मान्छेहरूले यो विश्वास राख्थे । त्यो युरो कम्युनिज्म त्यहाँ १० वर्ष पनि टिकेन । त्यो बिलायो ।

    विकसित पूँजीवादी देशहरूमा पनि असफल भएको त्यही युरो कम्युनिज्मलाई नेपालजस्तो देशमा लागू गर्ने भद्दा नक्कल गरियो, त्यो बिल्कुलै गलत थियो ।
    उहाँको मृत्युपछि उहाँका अनुयायीहरूले बहुदलीय जनवाद भन्दै पूँजीवादी प्रजातन्त्रको सिद्धान्तलाई कम्युनिस्ट पार्टीको मार्गदर्शक सिद्धान्त बनाउनुभएको छ । मदनको समयमा जबजलाई सिद्धान्त मान्दा १० वटा गल्ती भएको थियो भने अहिले पनि त्यसैलाई सिद्धान्त मानेर हिंड्दा १०० गल्ती हुन्छ ।

    राष्ट्रपति र प्रधानमन्त्रीलाई सन्देश

    एउटा कुरा वास्तवमा एकजना देशको चर्चित व्यक्तित्व, नेता मदन भण्डारीको षड्यन्त्रपूर्वक हत्या भयो, त्यसको खोजीनीति गर्ने काममा राष्ट्रपति रहनुभएकी उहाँकै उत्तराधिकारी र धर्मपत्नी भएको नाताले लाग्नुपर्छ । प्रधानमन्त्री ओलीले पनि आफू उत्तराधिकारी भएको दाबी गर्नुभएको छ तर षड्यन्त्रको अनुसन्धानमा उदासीन देखिनु हुँदैन ।

    जस्तो विचार लिएको भएपनि देशकै पक्षमा बोल्दा बोल्दै मारिनुभयो, उहाँ सहिद हुनुभयो । उहाँको व्यक्तिगत सम्मान र उहाँले जुन विचार अघि सार्नुभएको छ, त्यसलाई अलग-अलग हिसाबले बुझ्नुपर्छ । उहाँले लिनुभएको विचार चाहिँ कति वस्तुसंगत थियो, कति मार्क्सवादी थियो र त्यसले कम्युनिस्ट आन्दोलनलाई कति योगदान गर्यो भनेर पनि हेर्नुपर्छ ।

    उहाँहरू दुवै जनालाई मैले के अपील गर्छु भने एउटा जुझारु नेताको हैसियतले मदन भण्डारीलाई जे जसरी सम्मान गरेपनि उहाँले ल्याएको विचार सिद्धान्तलाई मार्क्सवादी ढंगले हेरिनुपर्छ । मदन भण्डारीको व्यक्तित्व र उहाँको सिद्धान्तलाई छुट्याएर हेर्ने दृष्टि दुवैलाई प्राप्त होस् ।

    (नेकपा मालेका महासचिव सीपी मैनालीसँग सूत्र न्युजले गरेको कुराकानीमा आधारित)

     


    प्रकाशित :जेठ ३, २०७८ सोमवार - १४:१०:५९

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.