एसईई परीक्षा जेठ १३ देखि २४ सम्म-Sutra News

एसईई परीक्षा जेठ १३ देखि २४ सम्म

मंगलबार, २५ फाल्गुन २०७७

मंगलबार, २५ फाल्गुन २०७७

काठमाडौं- यो वर्षको एसईई परीक्षा जेठ १३ देखि २४ सम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा लिने निर्णय गरेको बोर्डका सदस्य दुर्गाप्रसाद अर्यालले बताए ।



यसपटकको परीक्षा बोर्डले नै लिने निर्णय गत २६ माघको मन्त्रीपरिषद्ले गरिसकेकाले कुनै दुविधा नरहेको पनि उनले बताए । गत वर्षको एसईई परीक्षा कोरोना भाइरसको कारण स्थगित भएपछि नेपाल सरकारको निर्णयानुसार आन्तरिक मूल्याङ्कन पद्धतिबाट ग्रेड निर्धारण गरी विद्यार्थीलाई ग्रेड सिट उपलब्ध गराईएको थियो ।

कोरोना भाइरसकै कारण २०७६ फागुन अन्तिम सातादेखि बन्द रहेका नेपालभरका सामुदायिक र निजी विद्यालयहरू यही २ माघदेखि मात्र औपचारिक रूपमा सञ्चालनमा आएका हुन् ।

अनौपचारिक रूपमा भने अधिकांश निजी तथा सामुदायिक विद्यालयहरूले २०७७ वैशाख/जेठ महिनादेखि भर्चुअल कक्षाको माध्यमबाट पठनपाठन गरेका थिए । कोरोनाको प्रभाव कम देखिएको भन्दै कतिपय प्रदेश तथा स्थानीय निकायहरूले गत भदौदेखि भौतिक कक्षा नै चलाएका थिए ।

मुलुक संघीयतामा गएपछि एसईई परीक्षाको व्यवस्थापन, संचालन, अनुगमन, उत्तरपुस्तिका खरिद लगायतका सम्पूर्ण कामको जिम्मा प्रदेश सरकारलाई दिइएको थियो ।

कानूनी रूपमा भने अझै पनि प्रदेश सरकारको मातहतमै संचालन हुने भन्ने नै छ । कानून निर्माण नगरिँदा अझै पनि कक्षा १० को एसईई परीक्षा राष्ट्रिय स्तरमा नै संचालन हुँदै आइरहेको छ ।

संविधानले माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय सरकारलाई दिएको छ भने शिक्षा नीतिमा पनि कक्षा १० को एसईई परीक्षा प्रदेश सरकारको मातहतमा हुने प्रावधान छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट