देशभर ३१ जिल्लामा लकडाउन र निषेधाज्ञा -Sutra News

देशभर ३१ जिल्लामा लकडाउन र निषेधाज्ञा 

बिहिबार, २९ साउन २०७७

बिहिबार, २९ साउन २०७७

काठमाडौं- ९ चैत (०७६) मा नेपालमा दोस्रो कोरोना भाइरसका संक्रमित भेटिएको पुष्टि भएसँगै ११ चैत मध्यरातबाट नेपाल सरकराले देशव्यापी लकडाउन जारी गर्‍यो । चार महिना लामो लकडाउन ६ साउनदेखि अन्त्य भइसकेको छ ।



संघीय सरकारले देशव्यापी लकडाउनको अन्त्य गरेपनि अहिले विभिन्न स्थानीय तह तथा प्रादेशिक सरकारले पनि आफ्नो क्षेत्रमा संक्रमितको संख्या र कोरोना भाइरसको जोखिमलाई मूल्याङ्कन गर्दै लकडाउन जारी राखेका छन् ।

गृह मन्त्रालयले उपलब्ध गराएको बुधबारसम्मको तथ्याङ्कअनुसार देशव्यापीरुपमा विभिन्न ३१ जिल्लामा निषेधाज्ञा तथा लकडाउन लागू गरिएको छ । मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछाने भन्छन्, ‘विभिन्न मितिबाट जारी भएको लकडाउन तथा निषेधाज्ञा आगामी फरक–फरक मितिसम्मको लागि लागू गरिएका छन् ।’ 

झापा जिल्लाको मेचीनगर नगरपालिकामा बुधबार मध्यरातबाट लकडाउन जारी गरिएको त्यहाँका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताएका छन् । उनका अनुसार बुधबार मेचीनगर नगरपालिकामा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै उनीहरुको सम्पर्कमा आएकाहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्न लकडाउन जारी गरिएको छ । उनले भने, ‘हिजो रातिबाट जारी लकडाउन आगामी भदौ ३ गतेसम्मलाई यथावत राख्ने निर्णय भएको छ । बीचमा अवस्था हेरेर अरु निर्णय हुनसक्छन् ।’

सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लाभर नै साउन २६ गतेबाट लकडाउन जारी गरिएको जानकारी दिए । उनका अनुसार आगामी साउन ३२ गतेसम्मलाई जिल्लाभर लकडाउन जारी गरिएको हो । कोरोना संक्रमणको जोखिम थप हुँदै गएमा लकडाउनलाई थप्ने निर्णय हुनसक्ने उनले बताए ।

मोरङ जिल्ला कार्यलयका प्रमुख कोशहरि निरौलाका अनुसार मोरङका विभिन्न स्थानीय तहमा अहिले लकडाउन जारी छ । विराटनगर महानगरपालिकामा गत साउन १४ बाट दुई हप्ताका लागि लकडाउन जारी गरिएको थियो भने अन्य स्थानीय तहले फरक–फरक मितिबाट लकडाउन जारी गरेका थिए । थप निर्णय भएसँगै जिल्लाका लकडाउन गरिएका स्थानीय तहहरुले साउन ३२ गतेसम्म लकडाउन कायम नै राख्ने निर्णय गरेका छन् ।

कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बनेको वरगञ्जमा पनि अहिले लकडाउन कायम रहेका छ । वीरगञ्ज जिल्लाका वरिष्ठ जनस्वास्थ्य प्रशासक अरुण महतोका अनुसार गत साउन १० गतेबाट जारी गरिएको लकडाउन नयाँ निर्णय नहुँदासम्मका लागि जारी रहनेछ । 

बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार जिल्लामा गत साउन १८ गतेबाट लकडाउन जारी गरिएको थियो । आगामी ३२ गतेसम्मलाई बारा जिल्लामा लकडाउनजारी गरिएको उनले बताएका छन् ।

त्यस्तै, धनुषा जिल्लामा पनि गत साउन २६ बाट साउन ३२ गतेसम्मका लागि लकडाउन जारी गरिएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा लकडाउन जारी गरिएको बताएका छन् ।

नुवाकोटमा भने बुधबार रातिबाट निषेधाज्ञा जारी गरिएको छ । नुवाकोटका विभिन्न स्थानीय निकायहरुमा बुधबार मध्यरातबाट निषेधाज्ञा जारी गरिएको हो । नुवाकोट जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज भट्टका अनुसार नुवाकोटका बिदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, तादी गाउँपालिका, पञ्चकन्या गाउँपालिका र शिवपुरी गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । भट्ट भन्छन्, ‘बुधबारभन्दा अगाडि केही स्थानमा निषेधाज्ञा जारी गरिएको थियो । अहिले थप स्थानीय तहहरुमा पनि निषेधाज्ञा जारी गरिएको छ ।’

बुधबारसम्मको तथ्याङ्कअनुसार नुवाकोटमा हालसम्म ६४ जना कोरोना संक्रमित रहेको भट्टले बताए।

त्यस्तै, १८ गतेबाट बाँकेका विभिन्न ठाउँमा लागू गरिएको निषेधाज्ञा आगामी ३२ गतेसम्म जारी रहनेछ । बाँकेका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार बीचमा ३ दिन बाँकेका केही क्षेत्र सिलसमेत गरिएको थियो । उपाध्यायले भने, ‘३२ गतेबाट खुल्ला गर्ने निर्णय भएको थियो । तर, परिस्थिति गम्भीर बन्दै गएकाले के गर्ने भन्ने निश्चित गरिएको छैन ।’

संघीय सरकारले लकडाउनको अन्त्य गरेपनि स्थानीय सरकारहरुले भने लकडाउन तथा निषेधाज्ञा जारी गरेर कोरोना संक्रमणको जोखिमलाई कम प्रयास गरिरहेका देखिन्छन् । यीसँगै सप्तरी, पर्सा, महोत्तरी, सुनसरी, स्याङ्जा, सिराहा, जुम्ला, बर्दिया, बझाङ, दार्चुला, कञ्चनपुर, रौतहट, रुपन्देही, कैलाली मकवानपुर, कपिलवस्तु, धादिङ्ग, रुकुम पश्चिम, धनकुटा र तनहुँमा पनि लकडाउन तथा निषेधाज्ञा जारी गरिएको छ ।

सप्तरीमा गत साउत २० देखि भदौ २ गतेसम्म, धनुषाका विभिन्न स्थानमा विभिन्न मितिसम्म, पर्सामा गत साउन १९ गतेबाट अर्को आदेश नआउँदासम्म, महोत्तरीका विभिन्न ठाउँमा विभिन्न मितिसम्म, सुनसरी जिल्लाभरि गत साउन २१ गतेबाट साउन ३२ सम्म, स्याङ्जामा साउन १३ गतेबाट भदौ ४ गतेसम्म, सिराहाका विभिन्न ठाउँमा विभिन्न मितिदेखि साउन ३२ गतेसम्म, जुम्लाका विभिन्न ठाउँमा साउन २५ बाट, बर्दियाका विभिन्न ठाउँमा साउन २५ देखि साउन ३२ सम्म, बझाङका विभिन्न ठाउँमा विभिन्न मितिबाट, दार्चुलाका विभिन्न ठाउँमा साउन १७ बाट, कञ्चनपुरका विभिन्न ठाउँमा साउन १८ गतेबाट लकडाउन तथा निषेधाज्ञा जारी गरिएको छ ।

त्यस्तै, रौतहटका विभिन्न ठाउँमा साउन ३२ सम्म, रुपन्देहीमा भदौ ५ गतेसम्म, कैलालीमा साउन २२ गतेबाट अर्को निर्णय नहुँदासम्म, मकवानपुरका विभिन्न ठाउँमा साउन ३२ सम्म, धादिङका विभिन्न ठाउँमा साउन ३१ गतेसम्म, रुकुम–पश्चिममा साउन २८ गतेबाट भदौ २ गतेसम्म, धनकुटाका विभिन्न ठाउँमा भदौ ४ गतेसम्म र तनहुँका विभिन्न ठाउँमा भदौ ३ गतेसम्म लकडाउन तथा निषेधाज्ञा जारी गरिएको छ ।

अन्य निषेधाज्ञा जारी भएका ठाउँहरुमा काठमाडौं उपत्यकाका तीन जिल्लाका विभिन्न ठाउँ रहेको गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछाने बताउँछन् । काठमाडौं, ललितपुर र भक्तपुरको हकमा नियमित सेवाहरुलाई स्थगन गरिएको उनले बताए । उनका अनुसार आगामी भदौ ८ गतेसम्म यो निर्णय लागू गरिएको छ ।

यीबाहेक उच्च जोखिमका रहेका विभिन्न क्षेत्रमा पनि स्थानीय तहले निषेधाज्ञा तथा लकडाउन लागू गरेको लामिछानेले बताए । उनका अनुसार यी क्षेत्रहरुमा जिल्ला प्रशासन कार्यलयले निर्णय लिएका छन् । केहीमा भने स्थानीय तहहरुले पनि आफैँ निर्णय गरेर लकडाउन तथा निषेधाज्ञा जारी गरेका छन् । लामिछाने भन्छन्, ‘जिल्ला प्रसाशन कार्यलय र स्थानीय तहहरुले नै समन्वय गरेर यो जारी गरिरहेका देखिन्छन् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट