सहरी क्षेत्र कोरोना संक्रमणको थप जोखिममा, लक्षणसहितका बिरामी देखिन थाले-Sutra News

सहरी क्षेत्र कोरोना संक्रमणको थप जोखिममा, लक्षणसहितका बिरामी देखिन थाले

बुधबार, १४ साउन २०७७

बुधबार, १४ साउन २०७७

काठमाडौं–सरकारले लकडाउन अन्त्य गरेसँगै सहरी क्षेत्र कोरोना भाइरस संक्रमणको थप जोखिममा परेको छ। भौतिक दुरी कायम कार्यान्वयनमा समस्या हुने र बाक्लो बस्तीका कारण सहरी क्षेत्र थप जोखिममा परेको हो ।



पछिल्लो दिनमा गाउँ गएका व्यक्ति पनि शहर फर्किने क्रम सुरु भएको छ । यसले पनि सहरी क्षेत्रमा जोखिम बढेको हो । कुनै व्यक्ति संक्रमितको सम्पर्कमा आइहाले कन्ट्याक्ट ट्रेसिङ गर्नसमेत चुनौती बन्दै गएको छ।

हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । मंगलबार पछिल्लो २५ दिनको अवधिमा सबैभन्दा धेरै ३ सय ११ संक्रमित थपिएका छन् । यसअघि गत १९ असारमा एकै दिन थप ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। मंगलबार काठमाडौं उपत्यकामा भेटिएका संक्रमितमध्ये अधिकांश प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत सुरक्षाकर्मी रहेको बताइएको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाका अनुसार मंगलबार प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत २७ जना प्रहरीमा कोरोना संक्रमण देखिएको हो।

यस्तै, काठमाडौंका धापासी, बसुन्धारा क्षेत्रमा पनि संक्रमित देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। पछिल्लो केही दिनयता लक्षणसहितका संक्रमित देखिन थालेका छन्। श्वासप्रश्वासमा गाह्रो हुने, ज्वरो आउनेलगायतका लक्षण संक्रमितहरूमा देखिन थालेको छ ।

जसका कारण जोखिम दिनप्रतिदिन बढ्दै गएको भन्दै सतर्क रहन चिकित्सकहरूले सुझाव दिएका छन्। पछिल्लो ११ दिनको अवधिमा नौ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत ३ साउनसम्म संक्रमितमध्ये ४० जनाको मृत्यु भएकामा मंगलबारसम्म मृतकको संख्या ४९ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ३९ जना रहेको छ । हाल १५ हजार ३ सय ३१ जना क्वारेन्टिनमा बस्दै आएका छन् । संक्रमितमध्ये हालसम्म १३ हजार ८ सय ७५ जना डिस्चार्ज भएका छन्। समाचार राजधानी दैनिकमा प्रकाशित छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट