अजय देवगन लगातार आठ फिल्मको सिक्वेलमा काम गर्दै-Sutra News

अजय देवगन लगातार आठ फिल्मको सिक्वेलमा काम गर्दै

बिहिबार, २२ चैत्र २०८०

बिहिबार, २२ चैत्र २०८०

काठमाडौं । बलिउड अभिनेता अजय देवगनका फिल्म ‘दे दे प्यार दे’ र ‘सन अफ सरदार’ निकै हिट भएका थिए, अब यी दुई फिल्मको सिक्वेलको तयारी चाँडै सुरु हुँदैछ । अजयले जुनबाट लन्डनमा यी दुवै फिल्मको छायांकन सुरु गर्नेछन् ।



भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार अजय देवगनले जुनदेखि लन्डनमा ‘दे दे प्यार दे- २’ र ‘सन अफ सरदार- २’ को सुटिङ सुरु गर्नेछन् । अहिले अजय ‘सिंघम अगेन’ र ‘रेड- २’ को सुटिङमा व्यस्त छन् । यी दुवै फिल्म मेमा पूरा भएर यसै वर्ष रिलिज हुने छन्। यसपछि अजय जुनमा लण्डनमा पहिला फिल्म ‘दे दे प्यार दे- २’ र त्यसपछि ‘सन अफ सरदार- २’ को सुटिङ गर्नेछन् ।

फिल्म ‘दे दे प्यार दे- २’ को पहिलो शेड्युल १५ दिनको लागि राखिएको छ, जसलाई अंशुल शर्माले निर्देशन गर्दैछन् । पहिलो शेड्युलपछि अजयले सिधै सन् २०१२ को फिल्म ‘सन अफ सरदार’को सिक्वेलमा काम सुरु गर्नेछन् । रिपोर्टका अनुसार पञ्जाबी फिल्म उद्योगका एक प्रसिद्ध निर्देशकलाई फिल्म ‘सन अफ सरदार- २’ को लागि ल्याइएको छ ।

अजय देवगनसँग एक-दुई होइन आठ वटा सिक्वेल फिल्म छन् । आगामी दिनमा उनी ‘सिंघम अगेन’, ‘रेड- २’, ‘दे दे प्यार दे- २’, ‘सन अफ सरदार- २’, ‘गोलमाल- ५’, ‘धमाल- ४’, ‘दृश्यम- ३’ र ‘शैतान- २’ मा देखिनेछन् । यसरी हेर्दा अहिले उनीसँग सिक्वेल फिल्म मात्र देखिएको छ ।

अजयको पछिल्लो फिल्म  शैतान मार्च ८ मा रिलिज भएको थियो । विकास बहलले निर्देशन गरेको यो अलौकिक हरर फिल्मले अहिलेसम्म बक्स अफिसमा २०० करोडको कलेक्सन गरेको छ । फिल्ममा अजय देवगनसँग आर. माधवन र ज्योतिका मुख्य भूमिकामा छन् ।

अजयको २०२४ मा ‘मैदान’ (अप्रिल १०) र ‘सिंघम अगेन’ (अगस्ट १५) पनि प्रदर्शनमा आउने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट