एमडीएमएस खरिद प्रकरण : झा र खनालसहित प्राधिकरणका २० जनाविरुद्ध मुद्दा-Sutra News

एमडीएमएस खरिद प्रकरण : झा र खनालसहित प्राधिकरणका २० जनाविरुद्ध मुद्दा

बिहिबार, १५ चैत्र २०८०

बिहिबार, १५ चैत्र २०८०

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व अध्यक्षद्वय दिगम्बर झा र पुरुषोतम खनालसहित २० जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले एमडीएमएस खदिरमा भ्रष्टाचार भएको ठहरसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।



आयोगले प्राधिकरणका पूर्व अध्यक्षद्वय झा र खनालसहित पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरु दिपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्रलाई पनि प्रतिवादी बनाइएको छ । भ्रष्टचार भएको ठहरसहित आयोगले २० जनाबाट ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गरेको छ ।

एमडीएमएस खरिदमा अनियमितता भएको आशंका गर्दै सार्वजनिक लेखा समितिले आयोगलाई थप अनुसन्धान गर्न निर्देशन दिएको थियो । गत माघ ५ मा बसेको समितिको बैठकले एमडीएमएससँगै टेरामक्समाथिको छानबिनलाई अघि बढाउन निर्देशन गरेको थियो । समितिको निर्देशनपछि नै आयोग छानबिनमा तात्तिएको थियो ।

२०७४ सालदेखि खरिद प्रक्रिया थालिएको एमडीएमएसको २०७६ असारमा सम्झौता भएको र २०७६ पुसभित्र जडान सम्पन्न गरी सप्लाई, डेलिभरी, इन्सटलेसन, कमिसन सबै सम्पन्न भइसक्नुपर्नेमा अझैसम्म पूरा नभएको भन्दै समितिले प्रश्न उठाएको थियो । सञ्चार मन्त्रालयले पनि ठूलो रकम खर्च भएको एमडीएमएसमा अनियमितताको निर्क्याैल गरेको थियो ।

प्राधिरकणसँग जोडिएको टेरामक्स र एमडीएमएस प्रविधिमाथि लामो समयदेखि प्रश्न उठ्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट