रमेश खरेलले किन छाडे रास्वपा ?-Sutra News

रमेश खरेलले किन छाडे रास्वपा ?

बुधबार, १४ चैत्र २०८०

बुधबार, १४ चैत्र २०८०

काठमाडौं । पूर्वडीआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राजीनामा दिएका छन् । पार्टी सभापति रवि लामिछानेविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर रास्वपाको अनुशासन आयोगले जवाफ मागेपछि उनले राजीनामा बुझाएका हुन् ।



खरेलले जवाफको साटो पार्टी केन्द्रीय कार्यालयलाई राजीनामाको पत्र बुझाएको स्रोतले बताएको छ । उनले अंग्रेजी भाषामा राजीनामा पत्र पठाएका छन् ।

“सचेतरुपमा विचार र समीक्षा गरेपछि म यो निर्णयमा पुगेँ कि मैंले पार्टीबाट अब आफ्नो बाटो अलग गर्नुपर्छ”, उनले केन्द्रीय कार्यालयलाई बुझाएको पत्रमा भनिएको छ ।

खरेलले पछिल्लो समय स्पेस फोर के नामक टेलिभिजनमा ‘जनता जनार्दन’ भन्ने कार्यक्रम चलाउँछन् । विशेषगरी भ्रष्टाचार र बेथितिविरुद्ध बोल्ने खरेलले कार्यक्रमको पछिल्लो श्रृंखलामा गृहमन्त्रीसमेत रहेका रवि लामिछानेको आलोचना गरेका थिए । उनले लामिछानेलाई भ्रष्ट भएको आरोप लगाएका छन् ।

“प्रचण्ड लिला चलिरहेको देशमा रवि लिला पनि थपिएको छ, स्टनबाजको खोल ओडेर नेपाली जनतालाई झुक्काउन उद्धत लामिछानेबाट कानुनी शासनको अपेक्षा गर्न सकिन्न”, सुन प्रकरणमा कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडेपछि उनले टिप्पणी गरेका थिए ।

उनले यसअघिदेखि नै सहकारी प्रकरणमा छिनोफानो नभई लामिछाने गृहमन्त्री बन्न नहुने तर्क गर्दै आएका थिए । उनले लामिछानेलाई संकेत गर्दै लोभीपापी र अर्को भ्रष्टको रुपमा संज्ञा दिएका थिए ।

२०७८ पुस २१ मा नेपाल सुशासन पार्टी नामक दल दर्ता गरी राजनीतिमा होमिएका खरेल पार्टी गठनको करिब डेढ वर्षपछि गत वैशाखमा अघोषितरुपमा रास्वपा प्रवेश गरेका थिए । सँगै उनी वैशाख १० को उपनिर्वाचनमा रास्वपाबाट बारा–२ मा उम्मेदवार बनेका थिए ।

तर, ठूलो तामझामका साथ चुनावी मैदानमा होमिएका खरेलको जमानत नै जफत भएको थियो । चुनावी परिणामपछि रास्वपा र सुशासन पार्टीबीच एकताको विषय अलमल प¥यो । यद्यपि, खरेल भने एक्लै रास्वपा प्रवेश गरे ।

तर, पार्टीभित्र जिम्मेवारी प्राप्तिको विषयलाई लिएर विवाद भएपछि खरेल साधारण सदस्यको भूमिकामा मात्रै थिए । गत मंसिर दोस्रो साता महोत्तरीको जलेश्वरमा बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले खरेललाई केन्द्रीय समितिमा ल्याउन खोजेको थियो तर, पदाधिकारी तहमा जिम्मेवारी नपाएपछि उनले उक्त विषयलाई अस्वीकार गरे ।

त्यसयता खरेल पार्टीभित्र सक्रिय थिएनन् । पछिल्लो समय उनी रास्वपाकै आलोचक जस्ता बन्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट