नाउपामा बढ्दै रडाको, रेशम जापान भएको बेला रञ्जिताले बोलाइन् बैठक-Sutra News

नाउपामा बढ्दै रडाको, रेशम जापान भएको बेला रञ्जिताले बोलाइन् बैठक

बुधबार, १४ चैत्र २०८०

बुधबार, १४ चैत्र २०८०

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)भित्र आन्तरिक विवाद चर्किन थालेको छ । पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच सत्ता समीकरणलाई लिएर बढेको असमझदारीले विवाद बढाएको हो ।



चौधरी अहिलेको एमाले–माओवादी सत्ता गठबन्धनमा सहभागि हुन चाहँदैनन् भने श्रेष्ठ अहिलेकै सत्ता समीकरणसँग मिलेर अगाडि बढ्न चाहन्छिन् । चौधरी र श्रेष्ठबीच बढेको असमझदारीले नाउपाभित्र आन्तरिक विवाद बढाएको हो ।

विवादकै बीच चौधरी अहिले विदेश भ्रमणमा छन् । उनी जापानका विभिन्न कार्यक्रममा व्यस्त छन् । चौधरी उपस्थित नभएको मौकामा श्रेष्ठले भने पार्टीको संस्थापक र संघ र प्रदेश सांसदहरुको बैठक बोलाएकी छिन् ।

चौधरी नभएको बेला बैठक बोलाइएपछि आन्तरिक विवाद थप चुलिएको छ । श्रेष्ठले बोलाएको बैठकलाई कतिपयले बहिस्कारको घोषणा नै गरेका छन् ।

श्रेष्ठले विशेषगरी सुदूरपश्चिम र लुम्बिनी सरकारको विषयमा निर्णय लिन बैठक बोलाएकी हुन् । तर, श्रेष्ठले बोलाएको बैठकको विपक्षमा विशेषगरी सूदुरपश्चिमकै सांसदहरु देखिएका छन् ।

टिकापुरमा बोलाइएको बैठकमा सुदूरपश्चिम प्रदेशकै सांसदहरुले बहिस्कार गर्ने देखिएको छ ।

अहिले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा नाउपाका ७ सांसद छन् । जसमध्ये पाँच जना नै मन्त्री छन् ।

यता, लुम्बिनी प्रदेश सरकारमा पनि नयाँ समीकरणबाट सरकार बनाउन नाउपाको साथ अनिवार्य चाहिन्छ । तर, नाउपाभित्रको विवादले नयाँ समीकरणलाई सरकार बनाउने कुरा अनिश्चित बनेको छ । श्रेष्ठ नयाँ समीकरणलाई साथ दिएर जान चाहन्छिन् भने चौधरी कांग्रेससँगै सहकार्यमा जान चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट