प्रचण्डले भाईलाई च्याप्दा राष्ट्रिय सभामा माओवादीलाई दुई वर्ष घाटा-Sutra News

प्रचण्डले भाईलाई च्याप्दा राष्ट्रिय सभामा माओवादीलाई दुई वर्ष घाटा

मंगलबार, २९ फाल्गुन २०८०

मंगलबार, २९ फाल्गुन २०८०

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्ष बन्न माओवादी केन्द्रभित्र थुप्रै आकांक्षी देखिएका थिए । अहिलेकी उपाध्यक्ष उर्मिला अर्यालसहित केहीको नामबारे निकै चर्चा पनि भएको थियो ।



तर, गत आइतबार बसेको माओवादी केन्द्रको सचिवालय बैठकमा चर्चाबाहिरका पात्रको नाम आयो र अनुमोदित भयो । नेताहरुले चर्चामा आएका सदस्यहरुको बारेमा निर्णय हुने अनुमान गरेका थिए । तर, प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा कोही बोल्न तयार भएनन् ।

प्रचण्डले आफ्नै भाई पर्ने नारायण दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने प्रस्ताव राखेका थिए । माओवादी केन्द्रका एक सचिवालय सदस्य बैठकमा अन्यले मौनता जनाएपछि उनको प्रस्ताव स्वतः पारित भएको बताउँछन् ।

एकातिर राष्ट्रियसभाभित्र माओवादी केन्द्र १८ सिटसहित ठूलो दल थियो भने अर्कोतिर नयाँ गठबन्धनमा माओवादी केन्द्रका उम्मेदवारलाई सघाउने सहमति बनेको थियो । जसको कारण प्रक्रियामा पनि बहुमत पुग्न कठिन थिएन ।

मंगलबार भएको मतदानमा दाहालको नाम बहुमतले स्वीकृत भयो । मतदानमा दाहालको पक्षमा बहुमत बढी सदस्य ३९ ले मत दिएका थिए । दाहालले माओवादी केन्द्रसहित एमाले, एकीकृत समाजवादी र जसपाको मत पाएका थिए ।

तर, प्रचण्डका भाई नारायण दाहालको कार्याकाल जम्मा ४ वर्षमात्रै बाँकी छ । उनी २०७८ चैत २५ मा सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका थिए ।

यदि हालै निर्वाचित कुनै सदस्यलाई अध्यक्षको उम्मेदवार बनाएको भए उक्त उम्मेदवारको कार्यकाल ६ वर्षसम्म हुन्थ्यो । गत माघ ११ मा भएको निर्वाचनबाट ६ वर्षका लागि राष्ट्रियसभा सदस्यमा माओवादी केन्द्रबाटै पनि ५ जना सदस्य निर्वाचित भएका थिए ।

तर, प्रचण्डले २ वर्षअघि नै राष्ट्रपतिबाट मनोनित बनेका आफ्ना भाईलाई च्याप्दा नयाँले अवसरमात्रै पाएनन्, माओवादी केन्द्रले समेत दुई वर्ष नेतृत्व लिने अवसर गुमायो ।

संवैधानिक परिषद्को सदस्यसमेत रहने प्रावधान भएको कारण राष्ट्रिय सभा अध्यक्ष पदलाई निकै महत्वपूर्ण हुन्छ । प्रधानमन्त्री बाहेक संवैधानिक परिषद्का कुनै सदस्य नलिएको माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षको पदलाई निकै महत्वका साथ हेरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट