हजार सपनाहरू छाडेर गए भक्तराज आचार्य…-Sutra News

हजार सपनाहरू छाडेर गए भक्तराज आचार्य…

मंगलबार, १५ फाल्गुन २०८०

मंगलबार, १५ फाल्गुन २०८०

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधनले सम्पूर्ण नेपाली सांगीतिक क्षेत्रलाई स्तब्ध बनाएको छ । उनको निधनले गीत संगीत क्षेत्रलाई अपुरणीय क्षति बनाएको छ ।



वि.सं. १९९९ सालमा धनकुटामा जन्मिएका आचार्यले दर्जनौं भजन, आधुनिक र लोकगीतमा स्वर तथा संगीत दिएका थिए । नेपाली सुगम संगीतलाई उचाइमा पुर्‍याउन उनको निकै ठूलो योगदान रहेको छ ।

भजन शिरोमणिको उपाधीसमेत पाएका आचार्यले झण्डै चार सय गीतमा स्वर तथा संगीत दिएका छन् । आचार्यको जीवनीमा आधारित भएर फिल्म ‘आचार्य’ पनि बनेको छ । फिल्ममा आचार्यको जिन्दगीका आरोह अवरोह, सफलता र दुःखहरू समेटिएका छन् ।

आचार्यको पार्थिव शरीर अहिले जलेपनि उनको सांगीतिक सपना भने वि.सं. २०४६ सालमा भएको दुर्घटनादेखि नै जल्न सुरु भएको थियो । उनलाई बौद्धको एउटा रेष्टुरेन्टमा केहीले आक्रमण गरी गम्भीर घाइते बनाएका थिए । त्यस आक्रमणमा उनको टाउकोमा गम्भीर चोट लागेको थियो । झण्डै सात महिना अस्पताल बसाइपछि उनी घर त फर्किए तर, सधैँ ओछ्यामै बस्ने भए ।

आफू ओछ्यान परेसँगै आचार्यले कानुनी लडाइँ पनि लड्न सकेनन् । पारिवारिक अवस्थाले पनि उनलाई सहयोग पुगेन । बिडम्बना, उक्त घटना भएको केही समयपछि नै आचार्यको जिब्रोमा पनि समस्या देखियो । उपचारका क्रममा थाहा भयो– उनको जिब्रोमा क्यान्सर भएको रहेछ । क्यान्सर रोक्न उनको जिब्रो नै काटियो ।

त्यसयता उनी ओछ्याउन मात्रै परेनन् गीत पनि गाउन नसक्ने बने । जिब्रो काटेसँग उनी राम्रोसँग बोल्न पनि नसक्ने भए ।
एउटा गायकको लागि गीत नै गाउन नपाउनु जति दुःखको कुरा अरू के नै हुन सक्छ र ? पेशा नै गीत गाउने व्यक्तिको जिब्रो काटिनु जत्तिको पीडाको कुरा अरू के हुन सक्ला र ?

०४६ सालको घटनासँगै आचार्यको आवाजसँगै सांगीतिक सपना पनि मरे । बिडम्बना, उनको जीवनको सबैभन्दा अमूल्य कुरा, उनको आवाज खोस्ने व्यक्तिहरूको छिनोफानो गर्न नपाउँदै उनी संसार छाडेर गए ।

‘हजार सपनाहरूको माया लागेर आउँछ’, ‘जति चोट दिन्छौ’, ‘मुटु जलिरहेछ’, ‘हजार आँखा हेर्ने’, ‘जहाँ छन् बुद्धका आँखा’ जस्ता कालजयी गीत गाएका आचार्यलाई स्वर सम्राट नारायण गोपालका प्रतिस्पर्धीको रूपमा समेत हेरिने गरिएको थियो ।

नारायण गोपाल सिनियर गायक भए पनि दुवैजना एकै समयका चर्चित गायक हुन् । तर, दुःखको कुरा आचार्यको आवाजको जादु १६ वर्षसम्म मात्रै चल्न सक्यो ।

सोमबार निधन भएका आचार्यको पार्थिव शरीरलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखियो र त्यहीँबाट पशुपति आर्यघाटमा लगियो ।

भौतिकरूपमा हामीमाझ नरहेका आचार्यको श्रद्धाञ्जलीका क्रममा उनका केही चर्चित गुञ्जिएका थिए । प्रज्ञा प्रतिष्ठानमा उपस्थित कलाकारहरूले उनको सम्झनामा, ‘जहाँ छन् बुद्धका आँखा’ गाएका थिए ।

गायक तथा संगीतकार आचार्यको निधनले नेपाली सांगीतिक क्षेत्रमा अपुरणीय क्षति बनाएको छ । छाटो अवधि नेपाली गीत संगीत क्षेत्रमा बिताए पनि आचार्यले निकै अपुरणीय योगदान गरेर गएका छन् । उनले सिर्जना गरेका गीत संगीत युगौंयुग गुन्जिरहनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट