कोशीमा उद्धव पौडेललाई हराउन लिङ्देनकै सहयोग !-Sutra News

कोशीमा उद्धव पौडेललाई हराउन लिङ्देनकै सहयोग !

शुक्रबार, १२ माघ २०८०

शुक्रबार, १२ माघ २०८०

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा कोशी प्रदेशबाट एमालेको उम्मेदार विजयी हुने र राप्रपाको उम्मेदवार हार्ने अवस्था आएपछि बाहिर विवाद देखिएको छ । राप्रपाका कतिपयले नेताहरूले एमालेबाट धोका भएको बताउन थालेका छन् ।



तर, बाहिर जे–जस्तो भने पनि वास्तविकता भने अर्कै रहेको स्रोत बताउँछ । मूलरूपमा राप्रपाबाटै राप्रपाको उम्मेद्वारलाई धोका दिएको तथ्य भेटिएको छ ।

वास्तवमा सहकारी विवाद र आर्थिक अपचलनको चर्को आरोप खेपेका रवी लामिछानेका ससुरा उद्धव पौडेललाई उम्मेद्वार बनाएसँगै राप्रपाभित्र विवाद सिर्जना भएको थियो । राप्रपावृत्त मात्र होइन पौडेलको उम्मेदवारप्रति एमालेसमेत असन्तुष्ट थियो ।

जनजाति बाहुल्य क्षेत्रमा पौडलेलाई उम्मेद्वार बनाउने विषयमा राप्रपाभित्र सहमति भएको थिएन । पौडेलले मोटो नजराना बुझाएर उम्मेद्वार छनौट भएको भन्ने चर्चा राप्रपामा व्यापक छ, तर भोटमा नोटको केही चल्दैन रहेछ भन्ने निर्वाचन नतिजाले साबित गरिदिएको छ ।

तपसिलका कुरा जे–जस्तो भए पनि राप्रपाले नै असहयोग गरेको कारण पौडेल हारेका राप्रपानिकट स्रोत बताउँछ । खासगरी बाहिर सहयोग गरे जस्तो गरेपनि भित्रभित्र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नै पौडेल हराउन लागेका थिए अर्थात् सिटौला जिताउन लागेको राप्रपा स्रोत बताउँछ ।

उनका अति विश्वासपात्रहरूलाई अध्यक्ष लिङ्देनले सिटौलालाई भोट हाल्न लगाएको, नातागोतालाई परिचालन गरेको चर्चा झापातिर पनि छ ।
राप्रपाका एक नेताले बताएअनुसार सिटौला राष्ट्रिय सभामा निर्वाचित भए, आफ्नो निर्वाचन क्षेत्रमा कडा प्रतिष्पर्धा गर्न नपर्ने हुनाले लिङ्देन सिटौलाको जित चाहन्थे । त्यसैलै पौडेल जस्तो कमजोर उम्मेद्वार खडा गरे ।

पार्टी अध्यक्षबाटै धोका पाएपछि पौडेल क्रुद्ध बनेको स्रोतले बताएको छ । पौडेल क्रुद्ध बनेपछि ध्यान अन्यत्र मोड्न लिङ्देनको निर्देशननै हतारमा एमालेलाई दोष लगाइएको हो ।

उसो त लिङ्देन अध्यक्ष भएपछि धोका पाउने पौडेल चौथो शिकार हुन् । यसअघि डा प्रकाशचन्द्र लोहनी र धवलशम्शेर राणाले धोका पाए । यसैगरी, उम्मेदवार उठाएर केही नगरेर राष्ट्रिय सभा निर्वाचन बागमतीमा पनि हेमजंग गुरुङलाई अर्थहिन बनाएका थिए । अब लिङ्देनको पाँचौ शिकार पशुपतिशमशेर राणा हुनेवाला छन् रहेको नेताहरू बताउँछन् ।

अध्यक्ष लिङ्देन अहिले पार्टीभित्र निकै आलोचित छन् । कोशी प्रदेशमा पार्टी केन्द्रीय समिति र पदाधिकारी बैठकले गरेको निर्णयको अवहेलना गर्दै उनले सभामुख पदमा जान स्वीकृत गरेका थिए । यो विषय राप्रपाभित्र निकै पेचिलो ढंगले उठेको छ ।

राप्रपा निर्देशन समिति का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा बसेको निर्देशन समितिको बैठकले कोशी प्रदेशको सभामुख पार्टी निर्णयविरुद्ध भएको र तत्काल केन्द्रीय समिति र कार्यसम्पादन समितिलाई बैठक बोलाई सो निर्णय बदर गर्न निर्देशन दियको थियो ।

तर, यसको समेत पालाना नगरी अध्यक्ष लिङदेनले बैठक समेत बोलाउन इन्कार गरिरहेको एक नेता बताउँछन् ।

पार्टीभित्र विवाद उत्पन्न भएपछि त्यसको सहज समाधान भनेको केन्द्रीय समिति बैठक नै हो तर, लिङ्देन बैठकसमेत नबोलाइ बसिरहेका छन । यता राप्रपाका अधिंकाश पदाधिकारी तथा केन्द्रीय सदस्यहरू पार्टीलाई विधिमा बाध्न बैठकको ठहरसहित यदि अध्यक्षले बैठक नबोलाए २५ प्रतिशत सदस्यहरूले लिखित दर्ता गराउने तयारीमा जुटेका छन् ।

“जब बैठक वस्छ तब, अध्यक्षका गलत गतिविधि र कामहरूका बारेमा हामी उहालाई नियन्त्रणमा लिन्छौं र पार्टीलाई विधि सम्मत चलाउन दवाब दिन्छाैं”, एक पदाधिकारी बताउँछन् ।

एकातिर आन्दोलन पनि भन्ने अर्को तिर सरकारी पदमा पनि जाने यो सम्भावना छैन, अध्यक्षले तत्काल बैठक बोलाएर कोशी प्रदेश सभामुख फिर्ता नलिए आफूहरू जस्तोसुकै कदम चाल्ने ति नेताको भनाई छ ।

त्यसो त अध्यक्ष लिङदेन आन्दोलनप्रति इमानदारी छैनन् । केन्द्रीय समिति बैठकले आन्दोलनको कमान्डर डा.धवल शमशेर राणालाई बनाए पनि उनी डा.राणालाई काम गर्न अवरोध गरिरहेका छन् । राणाले आन्दोलनका सबै कार्यक्रमहरू तय गरिसकेको राणा निकट श्रोत बताउँछ ।

तर, ती कार्यक्रमहरू पास गर्न लिङ्देन बैठक बोलाउँदैनन् । राणाको समितिलाई आर्थिक रूपमा समेत उनले असहयोग गरिरहेका राणा निकट स्रोत बताउँछ ।

राप्रपाले आफ्नो आधार मान्दै आएको पूर्वराजा समेत लिङ्देनसँग रुष्ट रहेको राप्रपा एक केन्द्रीय सदस्य बताउँछन् । उनका अनुसार पटक–पटक राजाले एक्लै वा सामूहिकरूपमा बोलाएर अध्यक्षलाई आन्दोलनका कार्यक्रम घोषणा गर्न र विचार मिल्ने सबैसँग सहकार्य गरेर अगाडि बढ्न दिएको निर्देशन समेतको पालना नगरी उनी आफुखुसि कसको आडमा हिँडिरहेका छन्, यो आश्चर्य रहेको नेताहरू बताउँछन् । जे होस् अहिले राप्रपा भित्रको विवाद भुसको आगो झै भित्र भित्रै सल्किँदै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट