सचिन–भेलुको नियति : चर्चामा हुँदा धपेडी, बिरामी हुँदा बेखर्ची !-Sutra News

सचिन–भेलुको नियति : चर्चामा हुँदा धपेडी, बिरामी हुँदा बेखर्ची !

बुधबार, १० माघ २०८०

बुधबार, १० माघ २०८०

काठमाडौं । अहिले चर्चित दुई अनुहार जीवनको कठिन मोडमा छन् । एक नौ वर्षीय नाबालक सचिन परियार हुन् भने अर्का ६३ वर्षीय वृद्ध मेनबहादुर बुढा अर्थात् भेलु बाजे ।



सचिन र भेलु बाजेले दर्शक–श्रोतालाई हँसाए । नचाए । चर्चामा हुँदा सयौँ युट्युबर पछाडि लागे । निर्दोष स्वभाव भएका उनीहरु दुवै जनाको व्यवहार–बोली, गाउँ–घर, परिवार–आफन्त सबैको भिडिओ खिचियो । निजी जीवनका अनावश्यक विषय खोतलियो ।

अहिले उनीहरु एक्लै परेका छन् । गम्भिर रोगसँग जुधिरहेका छन् ।

गुल्मीको एक गाउँमा जन्मिएका सचिन पाँच वर्षसम्म गाउँमै थिए । आफ्नै शैलीमा गीत गाउँदै रमाएका उनलाई युट्युबरले पछ्याए । एकपछि अर्काे युट्युबर उनलाई भेट्न आतुर भए । उनलाई म्युजिक भिडिओदेखि टेलिसिरियलका निर्माताहरु आफ्नोमा खेलाउन तँछाड–मछाडमा गए ।

निर्दोष बोल्ने शैली र हँसिलो आनीबानीका कारण सचिन छोटो समयमा धेरैको नजरमा परे । गाउँमा पुगेका युट्युबबाट चर्चित बनेका उनी काठमाडौंमा चलेकै कार्यक्रम ‘इन्द्रेणी’सँग जोडिए । करिब ६ वर्षमै लोक दोहोरीमा चर्चा कमाएका उनले महानायक राजेश हमालसँग गीतमा अभिनय गर्नसमेत भ्याए ।

तर, समय सधैँ उस्तै नहुने रहेछ ।

गत वर्ष उनी गम्भिर रुपमा बिरामी परे । काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पतालको आइसीयूमा उनी लामै समय उपचारमा रहे । तत्कालिन समय उनको उपचारका लागि कलाकारदेखि सर्वसाधारणले सक्दो सहयोग पनि गरे । उनी निको भएर घर फर्किए ।

तर, फेरि पछिल्लो केही दिनदेखि सचिन बिरामी भएका छन् । उनको कम्मर मुनीको भागमा गम्भिर समस्या आएको छ । जसका कारण उनी आफै उभिन सक्दैनन् । यसबारे इन्द्रेणीमा पुगेर सचिनले आफू बिरामी भएको बताएका थिए । उनका बुबाले छोराको उपचार गर्न पैसा नभएको बताएपछि इन्द्रेणीले ३५ हजार रुपैयाँको चेक दिएको थियो ।

फेरि उपचारमा खर्च अभाव

गत वर्ष बिरामी हुँदा सचिनलाई शुभचिन्तक तथा सहयोगीहरुले आर्थिक सहयोग जुटाइदिएका थिए । तत्कालिन समय उनको नाममा विभिन्न युट्युबरहरुले आर्थिक सहयोग संकलन अभियान नै चलाएका थिए ।

तर, तत्कालिन समय संकलित रकममध्ये ठूलो हिस्सा दुरुपयोग भएको विषय बाहिर आएको थियो । कतिपय संकलन अभियानमा लागेका युट्युबरले हिनामिना गरेको त कतिपय स्वयम् सचिनको परिवारले हिनामिना गरेको तथ्य बाहिर आएको थियो ।

युट्युबर भोजराज थापाले सचिनको उपचारका लागि ११ लाख संकलन भएकोमा जसमा तीन लाख मात्रै खर्च भएको बताएका छन् । उनका अनुसार बाँकी रकम बचत हुने गरी राखिदिएको दाबी गरे ।

तर, यसपटक फेरि उनको उपचारमा आर्थिक समस्या परेको बताउन थालिएको छ । जसमा फेरि आर्थिक संकलन अभियान पनि सुरु गरिएको देखिन्छ ।

भेलु बाजेको पीडा पनि उस्तै

प्युठानको जुम्रिकाँडामा आफ्नै तरिकाले जीवन बिताइरहेका थिए– भेलुबाजे । सामान्य ज्यालादारी गरेर श्रीमतीसँग बसेका उनी तीन वर्षअघि सामाजिक सञ्जालमा एकाएक ‘भाइरल’ भए । उनको भिडिओ युट्यूब र टिकटकमा अपलोड भएपछि उनको बोल्ने शैली र थेगोले चर्चा पायो ।

कुरा गरिरहँदा बीचमा बोल्दै ‘पख्नोस ट, पख्नोस ट’ र ‘बेल्कुल, बेल्कुल’ भन्ने थेगो सबै नेपालीको जिब्रोमा झुण्डियो । उनले बोलेको भिडिओमा भ्युजको ग्राफ बढ्दै गयो । उनी सामाजिक सञ्जालमा भाइरल हुँदै गए ।

भाइरल भएपछि थुप्रै युट्युबर भेलु बाजेको घर खोज्दै जुम्रिकाँडा पुगे । गाउँले पारामा बोल्ने उनको बोली र शैली ‘मनोरञ्जनको खुराक’ बन्दै गयो । अन्तमा उनले आफ्नै शैलीले बाँच्न पाएनन् । युट्युबरले रक्सी खुवाएर केही पैसा दिएपछि उनी अरुले जे भन्यो त्यही गर्न थाले ।

भाइरल बन्दै गर्दा भेलु बाजेलाई पहिलोपटक काठमाडौं ल्याइयो । टेलिसिरियलमा खेलाइयो । गीत गाउन लगाइयो । केही म्युजिक भिडिओमा खेल्नसम्म लगाइयो ।

गत वर्ष सम्पन्न आम निर्वाचनमा एमालेका उम्मेदवार सूर्य थापाले भेलु बाजेलाई पार्टी नै प्रवेश गराउन भ्याए । थापासँगै भाषण गरेपछि रक्सी खाएर लरबरिएको शैलीमा उनले भनेका थिए, “भाइरल भएका नाताले सबैले सिन्दुर लाइदे, माला लाइदे, हाम्रो पार्टी हामीले छाड्छौं र ? हामी त माओवादी पार्टी हो, उनीहरुले जबरजस्ती लगेर अब एमालेमा आउनु पर्छ भनेपछि खै अब मातेको बेला, त्यही दुई हजार रुपे देको हो, सूर्यमा भोट हाल्नु भने– हुन्छ भने, कांग्रेसले दिए पनि लत्काइदिने हो, हामीले चोरेको होर ?”

अर्को दिन विपक्षीले आफ्नो समूहको प्रचारमा उनलाई लगेका थिए ।

भाइरल भएसँगै भेलु बाजेले आफ्नो घरमा समय दिन पाएनन् । श्रीमती बिरामी हुँदा साथ दिन सकेनन् । अन्तमा उनको श्रीमतीको मृत्यु भयो । अहिले एक्लै परेका उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । उनी अहिले हातखुट्टा सुनिने र बोल्न नसक्ने भएका छन् । उपचार खर्च नपाएर भेलु बाजे योबीच गाउँमै रहे ।

अन्तमा युट्युबर भोजराज थापाको सहायतामा उनी उपचारका लागि काठमाडौं आइपुगेका छन् । अहिले भेलु बाजेको उपचार ग्रीनसीटी अस्पतालमा भइरहेको छ । उनको उपचारका लागि सहयोग संकलन हुँदैछ ।

डलर हाबी हुँदा जीवन बर्बाद

सचिन र भेलु बाजे दुवैको जीवनमा डलर हाबी हुँदा भाइरल भए । सामाजिक सञ्जालमा चर्चा बढेसँगै युट्युबमा अन्तर्वार्ता दिन, टेलिसिरियल खेल्न, गीत गाउन, नाच्ने जस्ता विभिन्न क्षेत्रमा उनीहरुको व्यस्तता बढ्यो ।

उनीहरु व्यस्त भए । तर, यो सब केका लागि हुँदैछ भन्ने थाहा पाउन सकेनन् । यी सबै जानकारी उनीहरुले लिन सक्ने पनि थिएनन् । बस, केही पैसा र खानाका लागि मात्रै जे भने त्यही गरिरहेका थिए ।

उनीहरुलाई प्रयोग गरेर युट्युबरले डलर झारे । जति भिडिओ राख्यो त्यति डलर झर्ने भएपछि उनीहरुले सुत्न पाएनन् । समयमा खान पाएनन् । रातदिन गीत भनिरहे । भिडिओ खेलिरहे । अनावश्यक विषयमा बोलिरहे । अहिले सचिन र भेलु बाजे बोल्न सक्ने अवस्थामा छैनन् ।

सचिन कसैको साहारामा मात्रै पाइला चाल्न सक्छन् । भेलु बाजे अस्पतालको शैय्यमा छन् । बिरामी हुँदासमेत उनीहरुको भिडिओ आएको छ । तर, हसाउन होइन, नचाउन होइन । बस युट्युबरलाई डलर झार्न ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट