लोकदोहोरीमा ‘बिचौलिया’को इन्ट्री भएपछि…-Sutra News

लोकदोहोरीमा ‘बिचौलिया’को इन्ट्री भएपछि…

सोमबार, ८ माघ २०८०

सोमबार, ८ माघ २०८०

काठमाडौं । पछिल्लो समय लोकदोहोरी क्षेत्रको बजार निकै लोभलाग्दो छ । कुनै समय लोकदोहोरी भन्ने बित्तिकै बुढापाकाहरुले मात्र सुन्ने हो भन्ने मानसिकता बनाउँथे तर, हिजो आज बच्चाबच्ची होस् वा बुढापाका चाहे युवायुवती नै किन नहुन् सबैमाझ लोकदोहोरी साँच्चै लोकप्रिय हुन थालेको छ ।



गाउँघरमा हुने सामान्य विवाह बर्तन होस् या तामझामका साथ गरिने मेला महोत्सव नै किन नहोस् त्यहाँ लोकदोहोरी भएन भने नुन बीनाको तरकारी जस्तै खल्लो लाग्ने गर्छ । देश तथा विदेशमा हुने विभिन्न खालका मेला महोत्सवमा लोक दोहोरी कलाकारहरुको नै माग बढी हुने गर्छ ।

अहिलेको सिजन पनि मेला महोत्सवकै चलिरहेको छ । त्यसैले यतिबेला लोकदोहोरी कलाकारहरुलाई ‘सोह्र श्राद्धको ब्राह्मण’ जस्तो मेला महोत्सवमा सहभागिता जनाउन भ्याइ नभ्याई छ ।

तर, बिडम्बना मेला महोत्सवमा एउटै मात्र समूहको हालिमुहाली देखिएको छ । किनकी पछिल्लो समय मेला महोत्सवमा कलाकार उपस्थित गराउने काम केही व्यक्तिहरु ‘बिचौलिया’हरुले गर्दै आएका छन् । आयोजकले पनि आफूलाई सजिलो हुने भन्दै ति बिचौलियामार्फत नै कलाकार बोलाउने गरेका छन् ।

मेला महोत्सवमा आयोजकले तोकेका कलाकार संयोजकबाट आफू प्राथमिकतामा नपरेको गुनासो पनि विभिन्न कलाकारहरुबाट सुनिँदै आएको छ । कतिपयले कलाकार संयोजकलाई खाम कटुवा, नाम कटुवा र बिचौलियासमेत भन्दै गालीसमेत गर्न थालेका छन् । कतिपयले बिचौलियाको कारण राम्रा कलाकारले भन्दा हाम्रा कलाकारले अवसर पाएको गुनासो गरेका छन् ।

कलाकारहरुबाटै यस्तो गुनासो आउन थालेपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष तथा गायिका रिता थापा मगरले त्यस्ता बचौलियाको चर्को विरोध गरेकी छिन् । उनले ‘अति गर्नु अत्याचार नगर्नु’ भन्दै बिचौलियाविरुद्ध संघर्ष गर्ने चेतावनी पनि दिएकी छिन् ।

“निरीह राज्य, गैरजिम्मेवार आयोजक, ठेकेदारको मनोमानी र हामीमध्येकै केहीको गैरजिम्मेवारपन अनि केही थान खाम कटुवा धमिरेका कारण धेरै स्थापित कलाकार पलायनको संघारमा छन्”, मगरले सामाजिक सञ्जालमार्फत बिचौलियाविरुद्ध चेतावनी शैलीमा भनेकी छिन्, “अति गर्नु अत्याचार नगर्नु । संघर्ष र क्रान्तिको नगरा घन्किनेवाला छ । चेतना भया !”

अध्यक्ष थापाको पछिल्लो अभिव्यक्तिपछि कलाकारहरुबीच भने पेचिलो विवाद देखिएको छ । कोही थापाको अभिव्यक्तिको पक्षमा खुलेका छन् त कोही विरोधमा ।

“मह काड्नेले हात चाड्छ” गायिका ज्योती मगर बिचौलियाको पक्षमा उभिएकी छिन् । उनले सामाजिक सञ्जालमा एक लामो स्टाटस पोष्ट गर्दै उल्टै अध्यक्ष थापालाई आयोजकसँग कति लियो भन्दा पनि दिने भनेको दियो की दिएन भन्नेतर्फ ध्यान दिन सुझाएकी छिन् ।

“मेला महोत्सवमा खाम कटुवा, नाम कटुवा र ठेकेदारी प्रथाले गर्दा राम्रा कलाकारले भन्दा हाम्रा कलाकारले मात्रै स्टेज पाए भन्ने गुनासो दुखेसो गर्नु हुने कलाकार मित्रहरुलाई थोरै डेफिनेसन”, गायिका मगरले लेखेकी छिन्, “(खाम कटुवा) यानिकी कलाकार र आयोजकलाई कमिनिकेट गर्ने मिडियटर जस्ले तपाईंलाई कति पैसामा कार्यक्रम गर्ने भनेर तय गर्छ, तपाईंलाई दिलाउन राजी भएपछि आयोजकसँग जति लिएर खाम काटोस् तपाईंलाई मतलब हुनु हुँदैन, ‘मह काड्नेले हात चाट्छ’ ।”

गायिका मगरले महत्व नभएको कलाकारको चिन्ता लिन आवश्यक नभएको बताएकी छिन् । “‘नाम कटुवा’ अरुले काटेर काटिने, अरुले मेटायर मेटिने खालको नाम छ भने मेला महोत्सव तथा विभिन्न स्टेजको चिन्ता गर्नुभन्दा पैला नाम चै बलियो बनाउनुस् । जब दर्शक तथा श्रोताहरुले तपाईंलाई हेर्न टिकट किन्न थाले भने कसैले काटेर नाम काटिन्न, नाम काट्न चाहनेहरु चुरोट र चिया तान्दै तपाईंको कुरा काटिरहेका हुनेछन्”, उनले थपेकी छिन् ।

उनले कार्यक्रम आयोजक तथा कार्यक्रम मिडियटरको भूमिकालाई पनि नजरअन्दाज गर्न नमिल्ने जिकिर गरेकी छिन् । राजनीतिले जकडिएको हाम्रो समाजमा सबैतिर मिलाउने विषय सहज नभएको उनको भनाई छ ।

स्टेज कार्यक्रममा अवसर पाउने विषय स्वयम् कलाकारको भएको गायिका मगरको भनाई छ । “जो सबैलाई रिझाउन सक्ने खुबी राख्नुहुन्छ, सबैसँग मित्रता गाँस्न सक्नुहुन्छ, सबैसँग प्रगाढ सम्बन्ध बनाउन सक्नुहुन्छ र त सबैको प्रीय हुनुहुन्छ”, उनले भनेकी छिन्, “ठेकेदारको समस्यामा साथ दिनुहुन्छ, कमाउँदा लियर आउनु हुन्छ, डुब्दा छोडेर नि आउनुहुन्छ, कहिँ कतै त्यस्तो स्वविवेक, सोइच्छाले नै ‘गिभ एण्ड टेक’ खालका सम्बन्ध हुन्छन् ।”

उनले स्टेज कार्यक्रममा अवसर पाइन भनेर बैलौना गर्नुको अर्थ नरहेको टिप्पणी गरेकी छिन् । यसमा अन्य कलाकारमाथि औंला उठाउनु पनि गलत रहेको उनको भनाई छ । “अहिलेको मेला महोत्सवहरुमा आफूले काम पाइन भन्दैमा अरुलाई औंला उठाउनु, गाली गर्नुभन्दा पहिले आफूमा भएको कला गुण र खुबीको पहिचान गरौं, आदर्शले पेट भरिँदैन, गहिराई नबुजी सामाजिक सन्जालमा गएर दोहोरी साँझ, मेला महोत्सव जस्ता विषयमामाथि गाली नगरौं”, गायिका मगरले भनेकी छिन् ।

अर्का लोकदोहोरी गायक चेतन गोतामेले भने अध्यक्ष थापाको पक्षमा उभिँदै गायिका मगरको आलोचना गरेका छन् । गायिका मगरले दिएको अभिव्यक्ति निकै नै एकांकी शैलीको भएको टिप्पणी गोतामेको छ । स्टेज कार्यक्रममा मगरको प्रस्तुतीमाथि पनि उनले प्रश्न उठाएका छन् ।

“मेरा जति पनि अभिव्यक्ति छन्, सबै समानताका लागि छन्, समावेशिताका लागि छन्”, मगरमाथि प्रश्न उठाउँदै गोतामेले भनेका छन्, “उहाँ (ज्योति मगर)ले भन्नुभएछ– तिमिहरु कार्यक्रममा हिँड्न म जत्तिकै चिरपरिचित हुनपर्छ, म जस्तै नाम नकाटिने गरी बलियो पहिचान बनाउन पर्छ !’ ओहो ! तेस्तो पहिचान बनाउन हामीसँग त्यति लोभलाग्दो फिगर कहाँ छ र ?”

विशेषतः सिर्जनाका आधारमा नै सबैतिर सर्जकहरुले प्राथमिकता पाउनुपर्ने हो । तर, कलाकारहरुले नै स्वीकारेको ‘बिचौलिया’ प्रवेशले भने सिर्जनालाई प्राथमिकता होइन, हाम्रालाई प्राथमिकता पार्न खोजेको छ । जुन समग्र गीत संगीत क्षेत्रकै निम्ति दुर्भाग्यको विषय हो । तथापि, ‘बिचौलिया’ प्रथा तोडिने विषय सहज नभएको लोक क्षेत्रकै विश्लेषकहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट