चार्जिङकै क्रममा कसरी जल्यो एमजी माेटर्सको जेडएस ईभी ?-Sutra News

चार्जिङकै क्रममा कसरी जल्यो एमजी माेटर्सको जेडएस ईभी ?

बुधबार, १८ पौस २०८०

बुधबार, १८ पौस २०८०

काठमाडौं । एमजी मोटर्सको विद्युतीय कार जेडएस ईभी चाजिङ्गकै क्रममा जलेर नष्ट भएको छ । गत पुस ८ गते क्रिसमस पर्वको साँझ काठमाडौंको बुढानिलकण्ठमा पार्किङ्ग गरेर चार्जमा राखिएको चिनियाँ विद्युतीय ब्रान्ड एमजीको एमजी जेडएस ईभी मोडेलको गाडी जलेर नष्ट भएको छ ।



महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठका प्रहरी निरिक्षक योगराज खतिवडाले जनाएअनुसार बुढानिलकण्ठस्थित देउवा चोक नजिकै चार्जिङ्गमा राखिएको अवस्थामा बागमती प्रदेश ०१–०२७ च १५८१ नम्बरको जेडएस ईभी जलेर नष्ट भएको हो । ढकालले जनाएअनुसार चार्जिङ्गमै जोडिएको अवस्थामा गाडीमा अचानक आगो देखिएको थियो । उनका अनुसार गाडी जल्नुमा बाह्य कारण देखिन्न ।

गाडी प्रयोगकर्ता गोरखाका सुदीप लामिछाने हुन् । उनले उक्त गाडी दुई वर्ष अगाडि मात्रै झण्डै ५३ लाख रुपैयाँमा किनेका थिए ।

गाडीमा कुनै समस्या नदेखिएको तर, अचानक उक्त दिन गाडीमा आगलागी भएको पीडित गाडी धनी लामिछानेले बताएका छन् । “यसअघि यस्तो कुनै समस्या देखिएको थिएन, यसैगरी नै चाजिङ्ग गर्ने गरिन्थ्यो”, सुत्रसँगको कुराकानीमा उनले भनेका छन्, “तर, त्यो दिन अचानक गाडीमा आगो लाग्यो । अप्रत्यासित लागेको छु ।”

गाडी जलेपछि कम्पनीसँग कुराकानी गरेको तर, कम्पनीले जिम्मा लिन नसक्ने भनेको उनले बताए । कम्पनीले प्राविधिकरुपमा अध्ययनपछि मात्रै क्षतिपूर्तिबारे निर्णय हुने जनाएको लामिछानेले बताएका छन् ।

नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स हो । घटनाबारे मोटर्सका महाप्रबन्धक सचिन अर्यालले प्रतिक्रिया दिन चाहेनन् । कम्पनीले घटनाबारे प्राविधिक अध्ययन भइरहेको जनाएको छ ।

यसअघि पनि चर्चित भारतीय सवारी उत्पादक कम्पनी टाटाको नेक्सन ईभीको गाडीमा आगलागि भएका घटना बाहिरिएका थिए । नेक्सनको गाडीमा पनि ब्याट्रिबाटै आगलागि भएको थियो ।

चार्जिङ्ग गरिएको समय र पाकिङ्ग गरिएको समयमा उक्त गाडीमा आगलागि भएका विषय बाहिरिएका थिए । नेक्सनको ईभि एक्स जेड प्लसको मोडेलमा धेरै समस्या देखिएपछि बिक्रि नै प्रभावित भएको रिपोर्ट सञ्चार माध्यमले लेखेका छन् ।

एमजी मोटर्सको प्राविधिक पक्ष कस्तो ?

काठमाडौंमा जलेको गाडी एमजीको एमजी जेडएस २०२१ मोडल हो । जसबारे गरिएको एक प्राविधिक अध्ययनमा यस गाडीमा अन्य गाडीको तुलनामा अनावश्यक आवाज आउने, इन्जिन कराउने साथै बारम्बार मिसफायरको आवाज आउने समस्या छ ।

जसले इन्जिनलाई पनि चाँडै तताउने र बिगार्ने गरेको रिपोर्टमा उल्लेख छ । गाडी छिटो तात्ने समस्या पनि देखिएको बताइन्छ । जसले ब्याट्रीलाई छिट्टै बिगार्ने वा समस्या बनाउने गरेको प्राविधिकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट