लुइँटेलको मनोमानीपछि नाथममा आन्दोलन, शैक्षिक गतिविधि ठप्प-Sutra News

लुइँटेलको मनोमानीपछि नाथममा आन्दोलन, शैक्षिक गतिविधि ठप्प

शुक्रबार, २९ मंसिर २०८०

शुक्रबार, २९ मंसिर २०८०

काठमाडौं । कार्यकारी निर्देशक नादरकुमार लुइँटेलको मनोमानी निर्णयपछि नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल मेनेजमेन्ट (नाथम) कलेजमा शिक्षक–विद्यार्थी आन्दोलित भएका छन् । शिक्षक तथा विद्यार्थीको आन्दोलनका कारण नाथम पठन–पाठनका कार्यक्रम अवरुद्ध भएको छ । शिक्षक तथा विद्यार्थीले एकसुत्रीयरुपमा लुइँटेलको राजीनामा माग गरेका छन् ।



नाथमका प्रवक्ता ज्ञानेन्द्र पण्डितका अनुसार विशेषगरी विभिन्न शैक्षिक कार्यक्रममा संयोजकहरुलाई बिना कारण हटाउने निर्णय गरिनु र कोटा बाहेकका शैक्षिक कार्यक्रममा पनि विद्यार्थीलाई मनलागी भर्ना गर्ने निर्णयपछि शिक्षक तथा विद्यार्थी आन्दोलित भएका हुन् ।

“उहाँ (कार्यकारी निर्देशक नारदकुमार लुइँटेल)को कार्यशैली र केही निर्णय आन्दोलनका कारण हुन्, उहाँले बिना कारण विभिन्न शैक्षिक कार्यक्रमका संयोजकहरुलाई जिम्मेवारीबाट हटाउनु भयो, सँगै केही कोटाको विषयमा पनि विवाद देखिएको छ”, पण्डितले भनेका छन् ।

उनका अनुसार होटल एण्ड करिकुलमका वरिष्ठ प्रशिक्षक विनोद अर्याल, ट्राभल एण्ड रिसर्चमा बिटिटिएमका वरिष्ठ प्रशिक्षक सुभम पौडेल, ट्राभल एण्ड रिसर्चका सहायक प्रशिक्षक मनोज प्रजापति, होटल मेनेजमेन्टका सहायक प्रशिक्षक समिक शर्मा र अशोक उपाध्यायलाई शैक्षिक कार्यक्रमको जिम्मेवारीबाट लुइँटेलले हटाएका छन् । पण्डितका अनुसार सबै प्रक्षिकहरुलाई जिम्मेवारीबाट हटाइनुमा कुनै पुष्टि हुने कारण भने छैन ।

अर्कोतर्फ, आन्दोलनका उत्रिएकालाई निर्देशक लुइँटेलले धम्क्याएको आरोप शिक्षक तथा विद्यार्थीले लगाएका छन् । विद्यार्थीहरूका अनुसार विद्यार्थीलाई धम्क्याउने तथा त्रर्साउने र परिवारलाई समेत फोन गर्ने काम निर्देशक लुइँटेलले गरेका छन् । विद्यार्थीहरुले बताएअनुसार विभिन्न शैक्षिक कार्यक्रममा इन्ट्रन पठाउनसमेत निर्देशकले समस्या सिर्जना गराएका छन् ।

आन्दोलनमा उत्रिएका शिक्षक तथा विद्यार्थीहरुले पर्यटन मन्त्रालयमा समेत लुइँटेललाई हटाउन माग गर्दै निवेदन बुझाएका छन् ।

लुइँटेलमाथि छानबिन गर्न छानबिन समिति

शिक्षक तथा विद्यार्थीहरुको आन्दोलनपछि पर्यटन मन्त्रालयले छानबिन समिति नै बनाएर छानबिन अगाडि बढाउने भएको छ । पर्यटन मन्त्रालयका प्रवक्ता हेमराज तामाङले जानकारी दिएअनुसार बिहीबार बसेको मन्त्रालयको बैठकले छानबिन समिति बनाउने निर्णय गरेको थियो । सोहीअनुसार आज छानबिन समिति घोषणा हुने उनले बताए ।

निर्देशक लुइँटेलमाथि आर्थिक अनियमिततासहितका विभिन्न आरोप लागेपछि मन्त्रालयले तत्कालका लागि नाथमको जिम्मेवारीबाट हटाउने तयारी गरेको छ । तामाङले जानकारी दिएअनुसार जसबारे आज बस्ने बैठकले निर्णय लिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट