आन्दोलनबारे महानगर र शिक्षकबीच टसल-Sutra News

आन्दोलनबारे महानगर र शिक्षकबीच टसल

बुधबार, ३ असोज २०८०

बुधबार, ३ असोज २०८०

काठमाडौँ। शिक्षकहरूले काठमाडौँ महानगरपालिकाको उर्दीको अवज्ञा गर्दै आन्दोलनमा सहभागी हुने निर्णय गरेका छन् । उनीहरुले बन्द हड्तालमा नजान काठमाडौँ महानगरले गरेको उर्दीको अवज्ञा गर्दै आन्दोलनमै जाने निर्णय गरेका हुन् ।



बुधबार बसेको महानगरभित्रका ८४ जना प्रधानाध्यापकसहित शिक्षक कर्मचारीको बैठकले आजदेखि सुरु भएको आन्दोलनलाई निरन्तरता दिने र महानगरको उर्दीको अवज्ञा गरेर जाने निर्णय गरेको हो ।

काठमाडौँ महानगरले विद्यालय बन्द नगर्न चेतावनी दिएको बेला उनीहरूले आन्दोलनमा जाने निर्णय गरेका छन् ।

काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयमा १ हजार ८०० शिक्षक छन् । उनीहरूले आन्दोलन हुँदासम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । आन्दोलनका कारण जति दिन विद्यालय बन्द गरियो त्यति दिन बिदाको समयमा पठनपाठन गरिने प्रधानाध्यापक गौतमले बताए ।

महानगरले बुधबारै एक विज्ञप्ती जारी गर्दै बन्द गरेर पठनपाठन प्रभावित गरेको खण्डमा त्यस्ता शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ । तर, शिक्षक कर्मचारीहरूले महानगरले गर्ने कारबाहीको बेवास्ता गर्दै आन्दोलनलाई नै निरन्तरता दिने निर्णय गरेका छन् ।

संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोध गर्दै देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट