सफल होला त रामचन्द्रको ‘इमोसनल ब्ल्याकमेल’ ?-Sutra News

सफल होला त रामचन्द्रको ‘इमोसनल ब्ल्याकमेल’ ?

शुक्रबार, २४ मंसिर २०७८

शुक्रबार, २४ मंसिर २०७८
फाइल तस्वीर

बुधवार संस्थापनइतर पक्षको बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सहमतिका साथ सभापतिको उम्मेदवार चयन गर्न नसक्ने हो भने आफूले राजनीतिबाट सन्यास लिने बताए । उनी आँखाभरि आँसुसहित भावुक बन्दै महाधिवेशनमा पनि नजाने र कांग्रेस छोड्ने बताइरहँदा बाँकी नेताहरू अक्क न बक्क परेका थिए ।



पौडेलले भनेका थिए, ‘तपाईहरु कि आपसमा मिल्नोस्, कि मेरो नेतृत्व स्वीकार्न तयार हुनोस् । आफूहरु पनि नमिल्ने र अरुको नेतृत्व पनि नस्वीकार्ने हो भने मलाई राजनीतिबाटै सन्सास लिन दिनोस् ।’

प्रकाशमान सिंह र शेखर कोइराला दुवैले सभापतिमा दाबी नछोडेपछि पौडेलले रीस पनि पोखे, भावुक पनि भए । १३ औं महाधिवेशनमा सभापतिबाट पराजित भएका पौडेल १४ औं महाधिवेशनमा आफैं सभापति हुने आकांक्षा राखेका छन् । तर शुरूदेखि नै पौडेल डिफेन्सिभ थिए ।

आफ्नो समूहबाट साझा उम्मेदवार छान्न नसके एकपटक आफूलाई सहयोग गर्ने पौडेलले आग्रह गरिरहे । तर सिंह र कोइरालामा कुरा अड्किएको थियो । पौडेलले म सभापति हुन्न, तपाईंहरूले साझा उम्मेदवार ल्याउनुस भनिसकेका थिए । साझा उम्मेदवार चयन गर्न नसके आफूलाई सहयोग गर्न पौडेलले गरेको आग्रहलाई कतिपय नेताहरूले सकारात्मक रूपमा लिएपनि सिंहले अहिलेसम्म अडान छाडेका छैनन् ।

तर पौडेलको भावुकताले शेखर कोइरालाको मन भने छोयो । पौडेललाई सर्वसम्मतिमा उम्मेदवार बनाउने हो भने आफू मान्न तयार रहेको कोइरालाको भनाइ छ । सिंह भने पग्लिसकेका छैनन् । यता २ महिनाअघि नै सभापतिको उम्मेदवारी घोषणा गरेका विमलेन्द्र निधिले पनि पौडेललाई फोन गरेर साझा उम्मेदवार हुने हो भने सहयोग गर्ने बताइसकेका छन् ।

आज शुक्रवारबाट कांग्रेसको महाधिवेशन शुरू हुँदैछ । भृकुटीमण्डपमा उद्घाटन सत्र भर्खरै शुरू भएको छ । तर पौडेलले विज्ञप्ति जारी गरेर आफू महाधिवेशनमा उपस्थित नहुने संकेत देखाएपछि नेताहरू आत्तिए । पौडेलनिकट स्रोतले भन्यो, ‘सहमतिका साथ अघि बढ्न अन्य नेताहरू तयार नभए रामचन्द्र पौडेलले महाधिवेशनमा आफू जानुको कुनै अर्थ नरहेको बताउनुभएको छ ।’

पौडेल महाधिवेशनमै नआउने स्थिति बन्न थालेपछि नेताहरू दगुरेर पौडेलनिवास बोहोराटार पुगेका छन् । मिनेन्द्र रिजाल, महेश आचार्य, गगन थापा, अर्जुननरसिंह केसीलगायतका नेताहरू शुक्रवार बिहान बोहोराटार पुगेका थिए । सहमति नगर्ने हो भने राजनीतिबाट नै सन्यास लिन्छु भनेका पौडेललाई फकाउन नेताहरू पुगेका हुन् ।

स्रोतका अनुसार पौडेल विज्ञप्ति जारी नगर्न सहमत भएका छन् । तर अझैसम्म पनि पौडेल समूहले साझा उम्मेदवार तय गर्न सकेको छैन । ‘विभिन्न विकल्पमा छलफल भइरहेको छ, तर अझै सहमति जुटेको छैन,’ पौडेललाई भेट्न गएका एक नेताले सूत्रन्यूजसँग भने ।

यता पौडेललाई सर्वसम्मत उम्मेदवार बनाउनुपर्ने धार पनि शक्तिशाली हुँदै गएको छ । पौडेललाई नेता मान्न शेखर कोइराला तयार भएपछि सिंहलाई फकाउन अर्को टोली चाक्सीबारी पुगेको थियो । सिंहले आफ्नो परिवारले मात्र सधैं त्याग गर्न नसक्ने जवाफ दिन छाडेका छैनन् । तर अन्तिम अवस्थामा उम्मेदवारी फिर्ता लिने सम्भावना भने कायमै छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट