स्थायी कमिटी बनाउन ओलीको गृहकार्य – घनश्याम सूचीमा, रावलको नाममा टिपेक्स !-Sutra News

स्थायी कमिटी बनाउन ओलीको गृहकार्य – घनश्याम सूचीमा, रावलको नाममा टिपेक्स !

सोमबार, २० मंसिर २०७८

सोमबार, २० मंसिर २०७८

दशौँ महाधिवेशनलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटी गठनको तयारीमा लागेका छन् । एमालेको विधानअनुसार ४५ स्थायी कमिटी सदस्य रहनेछन् भने निर्वाचित पदाधिकारीहरू स्वतः स्थायी कमिटी सदस्य बन्ने विधानमा उल्लेख छ ।



काठमाडौँमा मङ्सिर २५ र २६ गते बस्ने केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठकले स्थायी कमिटी र पोलिटब्यूरो गठनलगायत नेताहरूको जिम्मेवारी बाँडफाँड गर्ने केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

गत मङ्सिर १४ गते चितवनको सौराहामा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ६ उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव, सात सचिव र ३ सय १ केन्द्रीय कमिटी निर्वाचित गरेको थियो ।

अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवाली र रामबहादुर थापा बादल, महासचिव शंकर पोखरेल, उपमहासचिवत्रय प्रदिप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, बिष्णु रिमाल सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ स्वतः स्थायी कमिटी सदस्य हुनेछन् ।

त्यसबाहेक २६ स्थायी कमिटी सदस्यको नामावली टुंगो लगाउने जिम्मा ओलीले लिएका छन् । यसअघि स्थायी कमिटी रहिसकेका र दशौं महाधिवेशनमा केन्द्रीय कमिटीमा निर्वाचित भएका लगभग सबैलाई स्थायी कमिटीमा राखिने ओलीनिकट स्रोतको दाबी छ ।

तर भीम रावलले केन्द्रीय सदस्यको पनि सपथ नखाएकाले उनलाई भने स्थायी कमिटीमा ओलीले ल्याउन चाहेका छैनन् । रावलले अध्यक्षमा ओलीलाई चुनौती दिएका थिए । रावल अध्यक्षको उम्मेदवार भएकाले सम्मानस्वरूप स्थायी कमिटीमा ल्याउनुपर्ने कुरा उठिरहेको छ तर ओलीले रावलको नाम लिस्टबाट हटाएका छन् ।

स्थायी कमिटी सदस्यमा उपाध्यक्ष उठेर हारेका घनश्याम भुसाल पनि आउने सम्भावना छ । त्यस्तै थममाया थापा, शिवमाया तुम्बाहाङ्फे, भानुभक्त ढकाल, खगराज अधिकारी, यामलाल कँडेल, विन्दा पाण्डे, प्रभु साह, गुरु बराल, किरण गुरुङ, राजन भट्टराई, शेरबहादुर तामाङ, शेरधन राई, देवराज घिमिरे, शेरधन राईलगायतका आफूनिकट नेताहरूलाई ओलीले स्थायी कमिटीमा ल्याउन चाहेका छन् ।

स्थायी कमिटी सँगसँगै केन्द्रीय कमिटीको पूर्ण बैठकले ९९ सदस्यीय पोलिटब्यूरो पनि गठन गर्नेछ । स्थायी कमिटीमा नपरेका तर पार्टीभित्र लामो समय काम गरेका कतिपय नेताहरूलाई पोलिटब्यूरोमा राखिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट